राजनीति

प्रचण्डको नयाँ चाल: ताक परे एमालेसँग नत्र कांग्रेस छँदैछ!

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने रणनीति बनाएर सक्रिय छन्। भर गर्न सकिने अवस्था देखिए एमालेको साथ लिएर भएपनि प्रचण्ड आफ्नै नेतृत्वको सरकार गठन गर्न चाहन्छन्। तर अहिलेसम्म एमालेले कुनै वचन दिईसकेको छैन।

प्रचण्डले पाँच दलीय गठबन्धनका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ भने पनि उनी दवाव बढाएर आफ्नो पक्ष बलियो पार्ने अभियानमा सक्रिय छन्। 

प्रचण्डले आजै बिहान माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सबै दलका नेतासँग सम्वाद बढाउन छलफल गरेका छन्। खुमलटार निवासमा श्रेष्ठलाई बोलाएर प्रचण्डले सत्ता समीकरण र भावी रणनीतिका बारेमा छलफल गरेको उनको सचिवालय सूत्रले बताएको छ। दुइ नेताले माओवादी केन्द्रलाई लाभ हुने गरी सत्ता समीकरण गर्नुपर्ने विषयमा सहमति गरेका छन्। माओवादी केन्द्रले सत्ता समीकरणको विषयमा एमाले र कांग्रेस दुवै पार्टीसँग छलफल गरेर साथ लिनुपर्नेमा उनीहरुको समान धारणा बनेको बताईएको छ। 

प्रतिनिधिसभाको निर्वाचन सकिएपछि पनि  ‘पर्ख र हेर’को अवस्थामा रहेको एमालेसँग पनि माओवादी नेताहरू संवादमा रहेको थाहा भएको छ। एमालेले भने पाँच दलीय गठबन्धन छाडेर बाहिर आएपछि मात्र समीकरणका बारेमा चर्चा गर्न सकिने भनेर एकतिर दुइ शिकारको रणनीतिमा जवाफ दिएको बताईएको छ। यता माओवादीले भने एमालेसँगको सहकार्य तत्काल सम्भव नदेखिँदा पहिलो प्राथमिकता वर्तमान सत्ता गठबन्धनलाई नै दिने भन्ने सन्देश पनि प्रशार गर्दै कांग्रेस सहमतिमा नआएको खण्डमा एमालेलाई साथ लिएर अगाडि बढ्ने राजनीतिक दवाव पनि बढाईरहेको छ। 

माओवादी केन्द्र पदाधिकारी बैठकपछि सरकार गठनका लागि सबै विकल्पमा खुला रहेको र सरकार निर्माणका लागि एमालेसँग समेत सहकार्य हुन सक्ने बताएपछि कांग्रेसमा तरंग उत्पन्न भएको थियो। कांग्रेसले गैह्र राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने तयारी गरेको संकेत पाएपछि सत्तारुढ दलकै माओवादी केन्द्रका महासचिव देव गुरुङले सार्वजनिक रुपमा आपत्ति जनाएका छन्। सत्ता गठबन्धनबाट सरकार बनाउने निर्णय गरेपनि हालसम्म भागबण्डाबारे दलहरुबीच छलफल हुन सकेको छैन।

पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झस्किएका छन्। प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।  हालको गठबन्धनबाट सम्भव नभए एमालेलाई साथमा लिएर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने माओवादीका दोस्रो तहका नेताहरुले सुझाव दिएका छन्। 

 

प्रतिक्रिया