पर्दाभित्रको राजनीति

कांग्रेसभित्र नयाँ समीकरणः बूढा नेता मिले, युवा छरपष्ट

काठमाडौं। संसदीय दलको नेता कसलाई चुन्ने भन्ने राजनीतिले नेपाली कांग्रेसका नेताहरुको दौडधुप बढेको छ। नेताहरु आ–आफ्ना सम्पर्क कार्यालयमा भन्दा पनि पायक पर्ने पार्टी प्यालेस र विश्वस्त सहयोगीका कार्यालयतिर भेटघाटमा व्यस्त छन्।

महाधिवेशनमा प्रतिष्पर्धी रहेका शेरबहादुर देउवा र शेखर कोइराला संसदीय दलको निर्वाचनमा पनि प्रतिष्पर्धा गर्नेछन् भनेर एकथरीको अनुमान छ। तर अहिले नयाँ समीकरण बिकसित भैरहेकाले देउवा र कोइराला भिड्ने भन्दा पनि सत्तामा सकेको धेरै हिस्सा लिने बिषयले प्राथमिकता पाएको बुझिन्छ। 

नयाँ पुस्ताका नेता गगन थापा नै देउवाको प्रतिद्वन्दी हुने भनेर अर्कोथरी कांग्रेस वृत्तमा चर्चा चलिरहेको छ। संसदीय दलको नेता चुन्ने समय नजिक आईसक्दा पनि नेपाली कांग्रेसभित्र दलको नेता को हुने भन्ने बिषय अन्योलमै देखिन्छ। सम्भवत आगामी साता संसदीय दलको निर्वाचन हुने बुझिएको छ।

के बलिया छन् देउवा

प्रतिनिधिसभाको निर्वाचन परिणाम अनुसार सभापति देउवाको पक्षमा बहुमत पुग्ने बताईन्छ। टिकट वितरण गर्दा नै यस कुरामा ध्यान पुर्याईएकाले देउवा बलियो अवस्थामै रहेको बूढानिलकण्ठ सूत्रको भनाई छ। महामन्त्री गगन थापा पनि त्यति कमजोर नरहेको कुरा बूढानिलकण्ठले महशुस गरेको देखिन्छ। नेता शेखर कोइरालाले खुलेर समर्थन गरेको अवस्थामा गगनले सभापति देउवालाई बलियो चुनौति दिनसक्ने देखिन्छ। तर यतिञ्जेलको अंकगणितले नेपाली कांग्रेसभित्र कसकसको समीकरण बन्छ भनेर अनुमान गर्न नसकिएको जानकार सूत्रले बताएको छ।

युवा नेता नै अन्योलमा

नेपाली कांग्रेसको आन्तरिक सत्तामा बलियो स्थान बनाएको युवा नेतृत्व संगठित देखिँदैन। महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, नवनिर्वाचित सांसदहरु प्रदिप पौडेल, वद्री पाण्डे, धनराज गुरुङ्ग लगायतको नेताहरु अलमलिएको अवस्थामा देखिन्छन्। संसदीय दलको निर्वाचनमा आफ्नो पुस्ताको नेतृत्वलाई विकल्पको रुपमा अघि सार्ने तयारी गर्नुको साटो यो समूह नेताको ह्वीपको प्रतिक्षा गरेर बसेको देखिन्छ। पार्टीको परम्परागत ‘ह्याङ्गओभर’बाट युवा नेताको पंक्ति मुक्त हुनसकेको देखिँदैन। 

महामन्त्री विश्वप्रकाश शर्माले आफू अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता बनाउन आतूर रहेको बताईसकेका छन्। यसमा उनको आन्तरिक गृहकार्य कसरी अघि बढिरहेको छ भन्ने कुरा स्पष्ट छैन। प्रदिप पौडेल सहितका अरु युवा नेता विश्वप्रकाशको प्रस्तावप्रति प्रतिक्रियाविहीन नै छन्। यसरी हेर्दा नेपाली कांग्रेसभित्र युवा पुस्ताका नेता आफ्नो समकालिन मित्रलाई अघि बढाउन संकोच मानिरहेको जस्तो देखिन्छ। 

शेखरको मौनता

नेपाली कांग्रेसका नेता शेखर कोइराला संसदीय दलको नेतृत्व चुन्ने बिषयमा पुरै मौनता साँधेर बसेका छन्। उनी आफैं दलको नेतृत्व लिन चाहन्छन् या अरु कसैलाई सहयोग गर्छन् भन्ने कुरा अनुत्तरित नै छ। उनले मुख नखोलेसम्म यसबारे प्रष्ट हुने कुरै भएन। तर प्रतिनिधिसभाको निर्वाचनपछि कोइराला र सभापति देउवाको सम्पर्क घनिभूत हुँदै गएको बुझिन्छ।

यता युवा नेतृत्व समूहले भने नेता कोइरालाको मौनताप्रति शंकाको नजरले हेरेको देखिन्छ। के कोइरालाले सभापति देउवासँग भित्रभित्रै हात मिलाईसकेका त होइनन् भनेर युवा पुस्ता सशंकित भएको पाईन्छ। कतिपयले नयाँ बन्ने सरकारमा महत्वपूर्ण जिम्मेवारीको भागबण्डा हुनेगरी दुइ नेतावीच सहमति भएको आशंका पनि गरेका छन्। यसअघि एउटै समूहका मानिएका नेताहरुवीच सम्वाद समेत नभैरहेको अवस्थामा आशंका झनझन बढेर गएको एक नवनिर्वाचित सांसदले बताए।

नेपाली कांग्रेसका अर्का नेता शशाङ्क कोइरालाले सरकारको नेतृत्व लिन आफू पनि तयार रहेको बताईसकेका छन्। उनको भनाईलाई त्यति महत्व नदिईए पनि संसदीय दलको नेताको चयन गर्ने बिषयमा शशाङ्क कसको पक्षमा उभिने हुन् भनेर चर्चा भैरहेको छ। प्रतिनिधिसभाको निर्वाचन जितेर काठमाडौं फर्किएपछि शेखर (दाजु) र शशाङ्क (भाई) वीच वधाई आदानप्रदान समेत नभएको बुझिएको छ। पार्टीको महाधिवेशनमा दाजुलाई समर्थन नगरेर सभापति देउवाको पक्षमा लागेका शशाङ्कले निकट भविष्यमा हुने संसदीय दलको नेताको निर्वाचन प्रक्रियामा दाजुलाई या उनको सम्भावित टिमलाई सहयोग गर्ने आशा गर्न नसकिने एक केन्द्रीय सदस्यको भनाई छ। अबको राजनीतिमा सभापति देउवालाई नै सहयोग गरेर अघि बढ्दा आफूलाई लाभ हुने देखेर शशाङ्कले दलको निर्वाचनमा धेरै चासो नराखेको बुझिन्छ।

पार्टीको १४औं महाधिवेशनमा अन्तिम समयमा खुलेका नेता पुत्रहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशाङ्क कोइराला दलको नेता चुन्दा पनि सँगसँगै रहने देखिएको छ। सत्ताका लागि साम, दाम, दण्ड र भेद सबैथोक परिचालन हुने अहिलेको अवस्थामा आफ्नो राजनीतिलाई दाउमा राखेर नयाँ नेतृत्व अघि बढ्छ कि बढ्दैन त्यो त यसै भन्न सकिँदैन। तर संसदमा सबैभन्दा ठूलो दलको हैसियत पाएको नेपाली कांग्रेसको आन्तरिक सत्ता संघर्ष भने गम्भीर रुपमा चुलिएको प्रष्ट छ।

राष्ट्रपतिको सपना

नेता रामचन्द्र पौडेल शितल निवास ताकेर दौडधुप गरिरहेका छन्। सतहमा उनले प्रधानमन्त्री बन्न कसरत गरिरहेको देखिएपनि यो उनको राष्ट्रपति पद हत्याउने दवावमूलक गृहकार्य हो भनिन्छ। तर पौडेलले शितल निवासको छहारीमा ओत लाग्ने कुरामा विश्वास गर्नेको संख्या ज्यादै न्यून देखिन्छ। गैरदलीय व्यक्तिलाई राष्ट्रपति चुन्नुपर्छ भनेर चलाईएको प्रचार अभियान दलका नेता रोक्न प्रहार गरिएको रणनीतिक अस्त्र जस्तो देखिन्छ।यो प्रचार सुरु भएपछि भने नेता पौडेल निकै हच्किएका छन्। 

उपसभापति पूर्णबहादुर खड्का, समानुपातिक सांसद प्रकाशशरण महत, निर्वाचनमा पराजीत भएपछि पनि विनाबिभागीय राज्यमन्त्री रहिरहेका उमेश श्रेष्ठ लगायतका नेताहरु भने नवनिर्वाचित सांसदहरुलाई गोटागन्ती फोन गर्दै आफ्नो राजनीतिक भविष्यलाई ध्यानमा राखेर संसदीय दलको निर्वाचनमा सहभागी हुन नरम शैलीको मनोवैज्ञानिक उपचारमा सक्रिय रहेको एक सांसदले सुनाए।


 

प्रतिक्रिया