जसले विश्वकपको फाइनल खेल खेलाउँदैछन्

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि कसले हात पार्छ भन्ने टुंगो आइतबार राति लाग्दैछ । फाइलनमा अर्जेन्टिना र फ्रान्स आमनेसामने हुँदैछन् ।

फाइनलको दिन नजिकिएसँगै विश्वभरका फुटबलप्रेमीहरुको उत्साहसँगै कौतुहल बढिरहेको छ । आगामी पाँच वर्षका लागि को बन्ला विश्व च्याम्पियन भन्ने कुराको टुंगो लाग्न अब दुई दिन बाँकी छ ।

फाइनल खेल यसै पनि कुनै प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण हुने गर्छ । को को खेलाडीले सहभागिता जनाउँछन्, को खेल्नबाट वञ्चित हुनेछ भन्ने जस्ता अनेक पक्ष यसमा समावेश हुन्छन् ।

त्यसैगरी अर्को महत्वपूर्ण पक्ष हो, कसले खेलाउँछ फाइनल खेल ? अर्थात् विश्वकप फुटबलको विजेता छिनोफानो गर्ने खेलमा को हुन्छ मुख्य निर्णायक ?

यसपटकको फाइनल खेल पोल्यान्डका साइमन मार्चिनियाकले खेलाउने भएका छन् ।

कतारको लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदा उनले मुख्य निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

मार्चिनियाकलाई सहायक रेफ्रीका रुपमा पावल सोकोल्निकी र तोमाज लिस्टकिविचले साथ दिनेछन् ।

४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री बन्दैछन् । उनले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए ।

कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ ।

अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा सहयोग गर्नेछन् ।

प्रतिक्रिया