प्रदूषण मापदण्डविपरीत चल्ने गाडीलाई आजदेखि एक लाखसम्म जरिवाना

–प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रदूषण परीक्षण नगरेका एवं त्यससम्बन्धी मापदण्ड पूरा नगर्ने सवारी साधनहरुमाथि आज शुक्रबारदेखि कारबाही हुने भएको छ । वन तथा वातावरण विभागले पुस १ गतेदेखि लागू हुने गरी यस्तो नियम ल्याएको हो ।

त्यस्ता सवारी साधनलाई एक लाख रुपैयाँ जारिवाना गरिने जनाइएको छ । विभागले प्रदूषण जाँच गरेरमात्रै सवारी साधन चलाउन आग्रह गरेको छ ।

यसअघि परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरिएको थियो ।

आजदेखि भने विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँ गरिने भएको हो ।

मंसिर २२ गते विभागले सार्वजनिक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो ।

काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई जारिवाना गरिने विभागले जनाएको छ ।

विभागले गाडीको धुवाँ निष्काशनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनसमेत जनाएको छ ।

नियमअनुसार सञ्चालन नगरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भएको छ । छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया