एमाले अध्यक्षमा ओली-रावल भिड्ने

सौराहा । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि सहमति नभएपछि अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा हुने भएको हो ।

सोमबार बिहान ओली र रावलले  अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।

त्यस्तै रावलको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट रहेका छन् । बजगाईं कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन् भने विष्ट एमाले अछामकी नेता हुन् ।

यसअघि ओलीले आइतबार राति बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । ओलीले विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिवमा प्रस्ताव गरेका छन् । त्यस्तै उपाध्यक्षमा घनश्याम भूसाल र विष्णु पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै निवर्तमान सचिव भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सचिवमा योगेश भट्टराईले पनि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विरोध गरेपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत आज बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र आज राति ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । 


 

प्रतिक्रिया