कीर्तिमान बराबरी गरेकोमा पेलेले दिए नेमारलाई बधाई

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेमारलाई आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले बधाई दिएका छन् ।

बिरामी भएर अस्पताल भर्ना भएका पेलेले ब्राजिल विश्वकपको नकआउट चरणबाट बिदा भएकामा दुःख पनि व्यक्त गरेका छन् । अस्पतालबाटै पेलेले सामाजिक सञ्जाल इन्स्ट्राग्रामबाट सन्देश दिंदै विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग ब्राजिल पराजित भएका हुन् ।

‘मैले तिमी फुटबलमा हुर्केको देखेको छु । तिमी मेरो गोलसम्म पुगून् भनेर हरेक दिन प्रार्थना गरेको छु’ पेलेले लेखेका छन्, ‘जुन अन्ततः सफल भएको छ । मेरो कीर्तिमान करिब ५० वर्ष रह्यो र तिमीबाहेक कोही त्यसको नजिक पनि पुग्न सकेनन् । त्यसैले तिमीलाई बधाई र धन्यवाद छ। हामी दुवैलाई थाहा छ, यो एउटा अङ्क मात्र होइन ।’

ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका थिए ।

कतारमा जारी विश्वकपअन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका थिए।

नेमारले १२४ खेल खेल्दै ७७ गोल गरेका हुन् भने पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए ।

८२ वर्षीय पेले साओ पाओलोस्थित अस्पतालमा उपचाररत् छन् ।

२०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पेलेले दुई दिनअघि इन्स्टाग्राममार्फत् आफ्नो स्वास्थ्य लाभका लागि आएका शुभेच्छाका लागि प्रशंसकलाई धन्यवाद दिएका थिए ।

इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

पेलेको स्वास्थ्यलाभको कामना गर्दै खेलाडी र प्रशंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया