कतार विश्वकप - २०२२

सेमिफाइनल समीकरणः अब को बाहिरिएला ? कसले मार्ला बाजी ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा हुँदा उपाधिका दाबेदार मानिएका केही ‘ठूला’ टिम बाहिरिएका छन् । मंगलबार सुरु हुने अन्तिम चार खेलमा केही पुराना अनि केही नयाँ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल समीकण पूरा भएको छ।

यसपटक साबिक विजेता फ्रान्स, साबिक उपविजेता क्रोएसिया तथा अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

मंगलबार राति पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने क्रोएसिया ब्राजिललाई घर पठाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

बुधबार राति दोस्रो सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ ।

मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई हराएको थियो । फ्रान्स  इंग्ल्यान्डलाई हराएर सेमिफाइनलसम्म आइपुगेको हो ।

विश्वकपका ३२ खेलहरुमा प्रतिस्पर्धा भएर अन्तिम चारवटा टिमसम्म आइपुग्दा समर्थकहरुको अनुमान र अनेक भविष्यवाणीबीच अब उपाधिको दाबेदारको टुंगो लाग्ने दिन नजिकिएको छ ।

उपाधिको दाबेदार मानिएकामध्ये फ्रान्स र अर्जेन्टिना पनि अग्रपंक्तिमा थिए । उनीहरु सेमिफाइनलसम्म आइपुगेका छन् ।

दाबेदारकै रुपमा चर्चामा परेको क्रोएसिया पनि अन्तिम चारसम्म आइपुगेका छ भने मोरक्को नयाँ शक्तिका रुपमा आइपुगेको छ ।

अब सेमिफाइनलबाट यी चारमध्ये कुन–कुन टिम घर फर्किएलान् अनि उपाधिका लागि को को आमनेसामने होलान् भन्ने उत्सुकता विश्वभर देखिएको छ ।

प्रतिक्रिया