कांग्रेसको समानुपातिक सिट: दलित कोटा पनि ठालु नेताकै कब्जामा

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक सिटमा पुरुष तर्फ पाउने तीनवटा पनि पहुँचवाला नेताकै भागमा पर्ने देखिएको छ। सभापति शेरबहादुर देउवा निकट तीन नेताले नै पुरुष तर्फको कोटा लिएमा दलिततर्फको एकजना पनि नपर्ने सम्भावना बढेको बुझिएको छ। 

निर्वाचन आयोगले भोलि मंसीर २१ गते दलहरुलाई समानुपातिकको सिट विवरण पठाउने भएको छ। दलहरुले पाएको जम्मा सिट संख्या, महिला आरक्षणको ३३ प्रतिशत र अन्य क्लस्टर सहितको विवरण आयोगले दलहरुलाई पठाउने छ। अहिलेसम्मको मत संख्यामा नेपाली कांग्रेसको भागमा ३२ सिट पाउने छ। जसमा महिलाको ३३ प्रतिशत पुर्याउँदा २९ त महिला नै समेट्नुपर्ने छ। बाँकी रहेका तीन जनामा सभापति निकट नेतालाई राख्ने तयारी भैसकेको कांग्रेस सूत्रले बताएको छ। जसमा प्रवक्ता प्रकाशशरण महत, पूर्व महामन्त्री विमलेन्द्र निधि र पूर्व सभापति गोपालमान श्रेष्ठ पर्ने बलियो सम्भावना रहेको छ। दलित कोटामा समानुपातिकमा राखिएका एकमात्र उम्मेदवार पार्टीका सहमहामन्त्री जीवन परियारको भाग खोसिने खतरा देखिएको सूत्रले बताएको छ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षका १६५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। नेपाली कांग्रेसले ५७ र एमालेले ४४ सिट जितेका छन्। त्यसैगरी १८ सिट माओवादी केन्द्र र १० नेकपा एकीकृत समाजवादीले जितेका छन्। यिनै चार दल क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो दल भएका छन्।

समानुपातिकको मत गणना पनि लभगभ सकिन लागेका निर्वाचन आयोगले जनाएको छ। मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार एमालेले २८ लाख मत पाएर पहिलो दल बनेको छ भने नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको निर्वाचन आयोगले जनाएको छ। १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गरिसकिएको छ।

त्यसैगरी माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४, जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएका आयोगले जानकारी दिएको छ।

नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९०, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० मत पाएका छन्।


 

प्रतिक्रिया