विश्व कप: ब्राजिल र पोर्चुगल समेत आज चार खेल

काठमाडौं। कतारमा जारी फिफा विश्व कप २०२२ मा आज शुक्रबार समूह चरणका अन्तिम खेल हुँदैछ। आज समूह ‘जी’ र ‘एच’ का अन्तिम चार खेलमा प्रतिस्पर्धा हुँदैछ। चार खेलको नतिजासँगै विश्वकपको प्रि–क्वाटर फाइनल समिकरण पूरा हुनेछ। हालसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

समूह ‘एच’ अन्तर्गत आज दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ। यी दुई खेल नेपाली समय अनुसार राति ८.४५ बजेपछि हुनेछ।

यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ। अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ। दक्षिण कोरियालाई अघिल्लो चरण पुग्न पोर्चुगललाई हराउनु पर्ने हुन्छ। बराबरी या हारले दक्षिण कोरिया समूह चरणबाटै बाहिरिनेछ।

यसअघि नै समूह चरण पार गरिसकेको पोर्चुगललाई दक्षिण कोरियाविरुद्व जुनसुकै नतिजा आएपनि केही फरक पर्ने छैन। तर टोली अपराजित रहँदै समूह चरण पार गर्न चाहन्छ।

अर्को खेलमा घाना र उरुग्वे दुवैको लागि निकै महत्वपूर्ण छ। दुवै टोली जित निकाल्दै अन्तिम १६ मा पुग्न चहान्छ। पोर्चुगलसँग दक्षिण कोरियाले हार या बराबरीको नतिजा निस्कँदा घानालाई बराबरीको नतिजा नै अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ। उरुग्वेलाई भने जित बाहेकको विकल्प छैन।

यो समूहमा पोर्चुगलको २ खेलबाट ६ अंक छ। घानाको ३ तथा दक्षिण कोरिया र उरुग्वको समान १ अंक छ।

यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ। यो समूहको दुई खेल राति १२.४५ बजे सुरु हुनेछ। समूह ‘जी’ बाट ब्राजिल नकआउट चरणमा पुगिसक्दा स्विट्जरल्यान्ड, क्यामरुन र सर्बियाको नकआउट चरणमा पुग्ने सम्भावना छ।

क्यामरुनलाई अघिल्लो चरण पुग्न ब्राजिललाई हराउनु पर्ने हुन्छ। बराबरी या हारले क्यामरुन समूह चरणबाटै बाहिरिनेछ। यसअघि नै समूह चरण पार गरिसकेको ब्राजिललाई क्यामरुनविरुद्व जस्तोसुकै नतिजा आएपनि केही फरक पर्ने छैन। तर ब्राजिल शतप्रतिशत जित निकाल्दै समूह विजेतार बनेर अघि बढ्न चाहन्छ।

अर्को खेलमा स्विट्जरल्यान्ड र सर्विया दुवैको लागि निकै महत्वपूर्ण छ। दुवै टोली जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छ। ब्राजिलसँग क्यामरुनले हार या बराबरीको नतिजा निस्कदा स्विट्जरल्यान्डलाई बराबरीको नतिजा नै अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ। सर्वियालाई भने जित बाहेकको विकल्प छैन।

हाम्रो खेलकूद डटकमले दिएको समाचार अनुसार, यो समूहमा ब्राजिलको ६ अंक छ। स्विट्जरल्यान्डको ३ तथा क्यामरुन र सर्वियाको समान १ अंक छ ।

प्रतिक्रिया