विश्वकप फुटबल: क्रोएसियाद्वारा क्यानडा पराजित

काठमाडौँ।  कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज  भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे । 

यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर, खेलको ३६ औँ मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३– १ को अग्रता दिलाए ।  यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए । यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अङ्क जोडेको छ ।  क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ । 

स्पेन र जर्मनीको खेल  बराबरी

अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा  स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दवबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ ।(रासस)

प्रतिक्रिया