आमनिर्वाचन- २०७९

झापा पाँच: यसपटक सकसमा छन् ओली

बिर्तामोड। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले यसपटक ठूलै दवाव सिर्जना गरेका छन्। ओलीसँग अरु कसैले नचिताए हुन्छ भनिरहेका एमालेका स्थानीय नेता कार्यकर्ता अधिकारीको पक्षमा जनमत बढेको पाएपछि निकै दवावमा परेको देखिएको छ।

पूर्व प्रधानमन्त्री ओलीमाथि केही राजनीतिक प्रश्न उठाउँदै उनलाई समर्थन गर्दै आएको ठूलै जनमतले प्रतिनिधिसभामा नयाँ नेतृत्व चयन हुनुपर्ने भन्दै ओलीको विकल्प माग गरेको थियो। तर एमालेले ओलीको विकल्प दिन नसकेपछि त्यो जनमत निस्क्रिय रहेको देखिएको छ। कांग्रेसका उम्मेदवार अधिकारीलाई समर्थन गरेको नदेखिए पनि एमालेलाई समर्थन गर्दै आएको त्यो जनमतले अन्त्यमा ओलीकै पक्षमा मत दिन्छ भनेर एमाले भर गर्न नसकिरहेको एक नेताले बताए। 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा प्रतिष्पर्धा गरिरहेका ओली र अधिकारी मतदाताका लागि पुरानै अनुहार हुन्। २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। तर त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो। अहिले माओवादी पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका साथमा छ। यता ओलीले कमल थापा र राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमालेसँग जोडेका छन् भने उपेन्द्र यादवको दल पनि त्यसैमा मिसिएको छ।

ओलीले २०७४ सालमा ५७ हजार एक सय ३९ तथा अधिकारीले २८ हजार दुई सय ९७ मत प्राप्त गरेका थिए। अघिल्लो निर्वाचनमा पनि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहकार्य थियो। यो निर्वाचनमा झापा क्षेत्र नं ५ मा स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी परेको छ।

संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन्। २०४८ यता ओलीले यो निर्वाचन क्षेत्रमा छुट्टै विरासत कायम गरेका छन्। २०६४ को संविधानसभाको निर्वाचनमा भने उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसित पराजित भएका थिए। ओली पाँच पटक लगातार यस क्षेत्रबाट निर्वाचित भइसकेका छन्।

ओलीलाई दुइतिहाई बहुमतको सरकार टिकाउन नसकेको आरोप छ। राष्ट्रवादको चर्को नारा व्यवहारमा रुपान्तरण हुननसक्नु ओलीको दम्भी स्वभाव कारक रहेको पनि भनिएको छ। त्यसैगरी सन्तुलित अभिव्यक्ति दिन नसक्नाले ठूला छिमेकीसँगको कुटनीतिक सम्बन्ध तनावमा परेको र होलीवाईन प्रकरणमा पुरै डुबेको आक्षेप पनि ओलीमाथि लगाइएको छ। ओलीले यी कुनै पनि आरोपको जवाफ दिन सकेका छैनन् भने उनी दिनहुँका भाषणमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार  नेपालको चर्को आलोचना गरेर प्रसंग मोड्ने गरेका छन्। 

स्थानीयमा यस्तो थियो

झापा–५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो। एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर भएको छ। स्थानीय तहको जस्तो निर्वाचन नभएर आमचुनाव भएकाले त्यसले खासै असर नपार्ने बताईन्छ।

वडागत रुपमा भने एमाले बलियो मानिन्छ। क्षेत्र नम्बर ५ भित्र पर्ने चार पालिकामा २९ वडा छन्। गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि सातसम्म एमालेले चार वटामा जितेको थियो। कांग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। 

गौरीगञ्ज गाँउपालिकामा पर्ने चार वडा वडा (३, ४, ५ र ६) मध्ये तीनमा एमालेले जितेको थियो। दमक नगरपालिकाका–१० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो। 

यस्तै एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा  वडाध्यक्ष जितेको थियो भने कांग्रेसले १, माओवादी केन्द्रले एउटा तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो।  स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार छ सय १९ पाएको छ भने कांग्रेसले २२ हजार, माओवादीे केन्द्रले १० हजार सात सय ८८ र राप्रपाले आठ हजार तीन सय ५९ तथा एकीकृत समाजवादीले एक हजार नौ सय ८८ मत पाएको छ। 

त्यस क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार नौ सय ७८ छ। सत्ता गठबन्धनको मत ३४ हजार सात सय ७६ छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता छन्। यहाँ एक लाख ५४ हजार दुई सय ८९ मतदाता छन्। दुई अन्य, पुरुष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार दुई सय २० छ। 

यस निर्वाचन क्षेत्रमा मतदानस्थल ६१ तथा मतदान केन्द्र एक सय ७६ कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। 
 

प्रतिक्रिया