व्यक्ति पूजाको ताजा नमूना

विश्वप्रकाश ह्याट्रिक गर्दै, भित्ताभरी सिटौला

gyanmani bhurtelब्यक्ति पूजनको बोझले थिचिएको काङ्ग्रेस।

- प्रखर वक्ता विश्व प्रकाश शर्मालाई भोट हालांै!

- युवा धुकधुकी विश्व प्रकाश शर्मालाई जिताऔं! 

- मेरो भोट विश्व प्रकाश शर्मालाई! 

- तपाईं कता? विश्व प्रकाश शर्मा यता!

यी र यस्तै फेसबुके स्टाटस हेर्दा लाग्छ– झापा एकमा विश्व प्रकाश शर्माकै प्रकाश मात्र छ! विश्व प्रकाश शर्मा नभए पुरै क्षेत्र अन्धकार! काङ्ग्रेस कतै छैन! छन् त केवल विश्व प्रकाश शर्मालाई!

- मेरो भोट कृष्ण सिटौलालाई!
- शान्ति दूत/संविधान निर्माता कृष्ण सिटौलालाई भोट हालौं!

- बिकासप्रेमी पूर्व महामन्त्री/पूर्व गृहमन्त्री कृष्ण सिटौलालाई जिताऔं!

म कुनै पार्टीको झोले हैन तर यस पटक मेरो भोट कृष्ण सिटौलालाई!

०४८ साल देखि निरन्तर उनैलाई भोट हालिरहेको अमूक ब्यक्तिको लठुवा नारा! एक नम्बर सँगसँगै तीन नम्बरको पनि यस्तै दुर्गति! सबैतिर सिटौला मात्र! काङ्ग्रेसको उपस्थिति छैन कतै! जरुरी पनि छैन! ब्यक्ति पूजनमा ब्यस्त भक्तहरुको ब्यक्ति भजन उदेकलाग्दो मात्र हैन घिनलाग्दो समेत छ!

केही बर्ष अघि कुनै एउटा भक्तले गिरिजा प्रसाद स्मृति भवन शिलान्यासको बेला हालेको पोष्ट– आदरणीय नेता कृष्ण सिटौलाको विशेष पहलमा.! त्यसबेलाको विशेष पहल अहिले विशेष रहल (असरल्ल!) हुन पुगेको छ! गिरिजा प्रसादको नाङ्गो करङ्गले काङ्ग्रेस खोज्दैछ! त्यसबेलाको पहलमा काङ्ग्रेस थिएन! अहिलेको रहलमा पनि काङ्ग्रेस देखिँदैन!

उता एक नम्बर मन्दिरको भक्तले हालेको पोष्ट– आदरणीय युवा नेता विश्व प्रकाश शर्माको पहलमा बजेट निकासा भै ठेक्का समेत लागिसकेको.विश्व प्रकाशलाई बिशेष धन्यवाद! कुरो तिरिङ्ग चोक–पाटापुर बाटोको थियो! यहाँ पनि काङ्ग्रेसको पहल छैन! ब्यक्तिगत पहल बिद्यमान छ!

दुई नम्बर क्षेत्रको भक्त पनि के कम? लाज लजाउने खतरा ब्यक्ति भजन ठोकिदिए– खुसीको खवर! आदरणीय नेता सुधिर कुमार शिवाकोटीको विशेष पहलमा बिर्तामोड पश्चिम स्टेण्ड दक्षिण गोमेन्द्र कलेज हुँदै नेकपा एमाले पार्टी कार्यालय  पूर्व भद्रपुर रोड जोड्ने बाटो प्रदेश सरकारको योजनामा कालोपत्रे बन्ने भएको छ! धन्यवाद प्रदेश सरकारलाई! बिशेष धन्यवाद सुधिर कुमार शिवाकोटीलाई! यहाँको राजनैतिक यात्रा सफल रहोस!

बनाउने प्रदेश सरकारलाई धन्यवाद मात्रै! शिवाकोटीजीलाई विशेष धन्यवाद! यहाँ पनि काङ्ग्रेसको उपस्थिति छैन! उनको पोष्टबाट यस्तो लाग्छ कि शिवाकोटी नभए बाटो पिच नै हुन्न! बाटोको हालत र अस्पताल नै नपुगी बाटैमा गोरुगाडा माथि बच्चा जन्माएकी सुत्केरी महिलाको हालत उस्तै! कता साल? कता नाल? कता जच्चा? कता बच्चा?

केही समय अघि काङ्ग्रेस भित्रका केही ब्यक्ति भजन मण्डलीले भजन गाए–माननीय प्रदेश मन्त्री ओमप्रकाश सरावगीज्यूको विशेष पहलमा मेची अञ्चल अस्पताललाई १८ करोड बजेट निकासा भएकोमा ओम सरावगीलाई विशेष धन्यवाद! सरावगीजी काङ्ग्रेस कोटाबाटै मन्त्री बने तापनि श्रेय काङ्ग्रेसलाई छैन! श्रेय उहाँको पोल्टामा! भजन मण्डलीको भजन तात्पर्य–सरावगीले आफ्नै मिलको गोदामबाट बजेटको बोरा झिकेर अस्पताललाई दिनु भएको हो!

उता बामपंथी भजन मण्डलीको काउन्टर भजन आयो–माननीय प्रदेश सांसद वसन्त बानियाँको पहलमा अस्पताललाई १८ करोड बजेट निकासा! सांसद बानियाँलाई विशेष धन्यवाद!

यो पहल र धन्यवादको पोको खोतलेर हेर्दा अघिल्लो बर्ष अस्पताललाई २३ करोड बजेट आएको बुझियो! गत बर्ष आएर यस बर्ष गायव भएको पाँच करोड चैं कस्को पहलमा हो? दुबै तर्फका भक्त चुपचाप छन्! बजेट आउने र गायव हुने बाटोमा कतै पनि पार्टी छैन! ब्यक्ति भजनले मार्केट लिएको छ!

नगर भित्रकै कुरो गर्दा– काङ्ग्रेसबाट निर्वाचित मेयर बाढी पीडितलाई चाउचाउ बाँडन पुग्नुहुन्छ! भक्तले भजन गाउँछ– धन्यवाद गणेश पोख्रेलज्यू! यहाँ पनि पार्टी गायव! पाँच नम्बर वडामा मरेको कुकुर ट्याक्टरमा हाल्दै गरेको फोटो हाल्दै क्याप्सन हाल्न भक्त तयार छ– धन्यवाद अध्यक्ष बन्धु कार्कीज्यू! आठ नम्बरमा नालिमा लामखुट्टे मास्ने औषधि छर्किँदै गरेको फोटो पोष्ट– धन्यवाद मनोज सुब्बाज्यू! छ नम्बरमा नाली सफा गर्दै गरेको जेसिबिको छेउमा उभिएको अध्यक्षसँग सेल्फी लिँदै अर्को भक्तले भजन पस्किन्छ– धन्यवाद बिकासप्रेमी रतिया राजबंसीज्यू! अलि तल पुग्दा– बाटोमा एक ट्याक्टर गिट्टी हालेर खाल्डो पुरिदिनु भएकोमा अध्यक्ष राम कँडेललाई मुरिमुरी धन्यवाद! त्यता पनि स्यालको सिङ झंै काङ्ग्रेस गायव!

अरे बाबा! हल्दारले चोर समात्दा हल्दारलाई के को धन्यवाद? उसले जागिर खाएकै चोर डाका समात्न हो! शान्ति सुब्यबस्था कायम गर्न गराउन हो! धन्यवादको हकदार सम्पूर्ण पुलिस बिभाग पो हुन्छ त!

त्यस्तै, जनप्रतिनिधि भनाउँदा पनि जनसेवाकै नारा चिच्याएरै चुनिएका हुन्छन्! अधिकांश जनप्रतिनिधि जनसेवामै ब्यस्त भेटिन्छन्! एकाध सुपारीको बोरा बोक्न र रक्तचन्दन ओसार्न ब्यस्त छन्, त्यो अपबादको कुरो बेग्लै  हो! ब्यक्तिगत धन्यवाद किन र के का लागि? धन्यवादको श्रेय त पार्टीलाई जानुपर्छ जसको ब्यानरबाट उनीहरु चुनिएका छन्! अनि पार्टी दरो हुन्छ! संगठन मजबुत हुन्छ! काङ्ग्रेस संगठन यस्तो बनोस् कि– काङ्ग्रेसका नाममा  ताप्लेजुङबाट राम नारायण यादवलाई चुनाव जिताउन सकियोस् अनि सिराहाबाट राम बहादुर लिम्बूलाई सांसद बनाउन सकियोस्!

उल्लेखित एक नम्बरका नेता विश्व प्रकाश शर्मा र तीन नम्बर नेता कृष्ण सिटौलालाई म राम्रोसँग चिन्छु! निकै लामो संगत सँगै धेरै उतारचढाव भोगेको छु! चिन्ने मात्र हैन उहाँहरुको आन्द्रा कता छ? भूँडी कत्रो छ? मलाई पूर्ण जानकारी  छ! उहाँहरुको मुटु कस्तो छ? कसरी धड्किन्छ? भन्ने पूर्णरुपेण जानकार मध्ये एक भएकोले ठोकुवाका साथ भन्न सक्छु कि ब्यक्ति भजन उहाँहरुको आग्रह हैन! न त सांसद भैसकेका सुधीर शिवाकोटीकै हो! न त प्रदेश मन्त्री ओम सरावगीको! उल्लेखित नगर प्रतिनिधिको पनि यस्तो आग्रह हो भन्ने सोच्न सकिन्न! बिगार्ने भनेका ती दासहरु हुन् जो ब्यक्ति भजन गाउँदै पार्टीको शाख गिराउँदै पार्टी ओझेल पार्न ब्यस्त छन्!

एक भेटमा कुनै समय तत्कालीन राष्ट्रपति रामबरण यादवले आफ्नै लवजमा सुनाएको एउटा प्रसङ्ग स्मरण भो– म हजार बार भनेछु कि मलाई स्कर्टिङ्ग अगडम बगडमको झमेलाले पब्लिकको बाटो नरोक्नु! मलाई यो टाईट सेक्रुटी जरुरत छैन! पुलिस मेरो कुरो सुन्दैन! मेरो चाक्डि बजाउने खातिर पब्लिकलाई घन्टो उभाई दिन्छ रोडमा! दुःख दिन्छ पुलिस! गाली खान्छ प्रेसिडेन्ट!

त्यस्तै चाकडी गर्छ दास! गाली खान्छ नेता!

तर दासले चाकडी गर्याे भन्दैमा नेताले चेत गुमाउनु पर्छ भन्ने चैं किमार्थ हैन! कुन दासले कति तेल दलेर कसरी चिप्ल्याउँदैछ? भन्ने न्यूनतम  हेक्का चैं राख्नैपर्ने हुन्छ!

खैर, मेरो यति लामो लेघ्रो तनाईले दास प्रथा अन्त हुने पनि हैन न त नेताले नै गङ्गा स्नान गर्छन् भन्ने विश्वास जाग्ला! ‘हम कभी नहिं सुध्रेङ्गे’ महाकाब्य रटान मै ब्यस्त हुन्छन्! निश्चित छ!

त्यसैले, आदरणीय भक्तजनलाई अबको होमवर्क– डडेल्धुराका लागि देउवा भजन गाउ! तनहुँका लागि पौडेल बाजे जिन्दावाद भन! काठमाडौंबाट लौहपुत्र छँदैछन्! उनकै पछि ‘प्रभावशाली दाई’ भन्दै भोट माग्न कुद ! काङ्ग्रेस बिर्सिदेउ! एउटा क्षेत्रमा खाँडलाई माग! अर्को क्षेत्रमा भाँडलाई माग! कुनै सुगम क्षेत्रमा ‘राँड’ लाई माग! मोरङ्गबाट शेखरलाई माग! सुनसरीबाट ओखरलाई माग! नपुगे गणेश लामा थप! आलम त पदेन वरिष्ठ काङ्ग्रेस भैगए! यता हामी झापामा कृष्ण सिटौला र विश्व प्रकाश शर्मालाई भोट माग्न आजीवन तयार छौं! शर्माजीको त यस पटक ह्याट्रिक भन्ने सुनिँदैछ! काङ्ग्रेस भनेकै उहाँहरु दुई हो झापाका लागि! हामीलाई ब्यक्ति भए पुग्छ! संस्था चाहिन्न! नाम भए पुग्छ काङ्ग्रेस चाहिन्न!

तर प्लिज, काङ्ग्रेस पहल भन्न बिर्सेर हरेक कुरा ‘फलानो नेताको पहलमा.’ भन्ने बानी परेका आदरणीय भक्तजन– आफ्नो घरमा बच्चा जन्मिँदा चैं ‘फलानो नेताको पहलमा.. विशेष धन्यवाद’ नभन्दिनु होला! सकेसम्म आफ्नै पहलमा भन्नुहोला! त्यति पनि नसके ‘प्रभूको असिम अनुकम्पाले’ सम्म भन्न नचुक्नु  होला!

जय नेपाल!
 

प्रतिक्रिया