अल–मुताइरीले हटाएका १० खेलाडी पुन: राष्ट्रिय टोलीमा

काठमाडौं। कुवेती प्रशिक्षक अबदुल्लाह अल–मुताइरीलाई हटाएर प्रदीप हुमागाईलाई राष्ट्रिय टाेलीको प्रशिक्षक बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वप्रशिक्षकले बाहिर राखेका १० खेलाडीलाई पुन: टिममा फर्काएको छ।

बंगलादेशविरुद्ध असार ११ गते मैत्रीपूर्ण खेलका लागि बिहीबार राष्ट्रिय टाेलीकाे घाेषणा हुँदा गाेलकिपर किरण चेम्जाेङलगायत १० खेलाडी फर्किएका छन्। एएएसी एशियन कप छनोटमा अनुशासन ताेडेको भन्दै अल–मुताइरीले नियमित कप्तान किरणसहित सुजल श्रेष्ठ, विशाल राई, राेहित चन्द, विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, तेज तामाङ र सुमन लामालाई टिमबाट बाहिर राखिएको थियो। 

उनीहरुलाई टिमबाट बाहिर राख्ने  निर्णयले एन्फाको निर्वाचन पनि प्रभावित भएको थियो। बिहीबार कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईले २३ सदस्यीय घोषणाा गर्दा उनीहरु टिममा अटाएका हुन्। अल–मुताइरीकाे प्रशिक्षणमा टिममा बस्न नचाहेका अर्का गाेलकिपर विकाश कुथुलाई पनि टिममा स्थान दिइएको छ।

यसपालि ४ गोलकिपरलाई टोलीमा स्थान दिइएको छ। किरण हाल भारतीय क्लबमा आबद्ध छन्। उनी खेल्न आउने विषय टुँगाे लागेकाे छैन। अल–मुताइरीले डेब्युको अवसर प्रदान गरेका दीप कार्कीलाई पनि टिममा समावेश गरिएको छ। अल–मुताइरीका प्रिय खेलाडी मानिने मनिष डाँगी पनि टिममा समावेश छन्। उनी हाल बहराइनकाे क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। 

युथ–२० का कप्तान आयुष घलान पनि टिममा समावेश छैनन्। मैत्रीपूर्ण खेलमा सुनिल बल र नवयुग श्रेष्ठ पनि बाहिर छन्। सुनिल चाेटका कारण बाहिरिएको प्रशिक्षक हुमागाईले बताए। यसपालि ऋतिक खड्का र आशिष चौधरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा बाेलाइएको छ। 

नेपाली टोली 

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ

फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अञ्जन विष्ट, आशिष चौधरी  

प्रतिक्रिया