साफ महिला च्याम्पियनसिप

आत्मविश्वासी नेपाल महिला साफमा इतिहास रच्न आतुर

काठमाडौं। भारतलाई सेमिफाइनलमा १–० गाेलले पराजित गर्दै पराजयको शिलशिला ताेडेको नेपाल आज साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै छ। 

बंगलादेशले पनि समूह चरणको खेलमा भारतलाई ३–० ले पराजित गर्दै नेपालसँगको सम्भावित सेमिफाइनललाई राेकेको थियो।

साेमबार साँझ ५ बजेदेखि सुरु हुने फाइनलमा जसले उपाधि जिते पनि साफ च्याम्पियनसिपमा नयाँ च्याम्पियन घोषित हुने छन्। 

नेपाल यसअघि ४ वटा संस्करणको फाइनल पुगेर भारतसँग पराजित भएको थियो। यसपालि घरेलु मैदानमा नेपाललाई पहिलो उपाधि जित्ने सूवर्ण माैका छ। नेपाली टिमका प्रशिक्षक कुमार थापाले अर्जून दृष्टी राखेर प्रतियोगितमा उत्रिएको र उपाधिको एक कदम टाढा रहेको बताएका छन्। 

उनले अन्य खेलमा जस्तै फाइनलमा पनि अपार समर्थन दिन नेपाली समर्थकसँग आग्रह गरेका छन्। नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको प्रतिस्पर्धामा पनि नेपालले २०१०, २०१६ र २०१९ मा फाइनलमा स्थान बनाएको थियो। यी सबै फाइनलमा नेपाल भारतसँगै पराजित भएको थियो। 

यसपालि सेमिफाइनलमा भारतलाई पराजित गरेपछि नेपाल उच्च मनाेबलमा छ। तर यही प्रतियोगितामा भारतलाई ३–० ले हराएको बंगलादेश पनि कम छैन। 

बंगलादेशले साफ च्याम्पियनसिप खेल्न आउनुअघि मलेसियासँग २ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा पहिलो खेलमा मलेसियालाई ६ गोलले पराजित गरेको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा खेलेको थियो। 

बंगलादेश अहिले उत्कृष्ट लयमा देखिन्छ। उसले पहिलो खेलमा माल्दिभ्सलाई ३–०, दोस्रो खेलमा पाकिस्तानलाई ६–० र अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गरेको थियो। बंगलादेशले सेमिफाइनलमा भुटानलाई ८–० गोलले पराजित गरेको थियो। प्रतियोगितामा उसले २० गोल गर्नुका साथै एक गोल पनि खाएको छैन। 

नेपालले पनि प्रतियोगितामा अहिलेसम्म गोल खाएको छैन। उसले ११ गाेल गरिसकेको छ। समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो। भारतलाई सेमिफाइनलमा १–० ले हराएको नेपाल घरेलु मैदानमा आत्मविश्वासी देखिएको छ। 

बंगलादेशी कप्तान सबिना खानुतले एक ह्याट्रिकसहित ८ गोल गरिसकेकी छिन्। नेपालका लागि अनिता बस्नेत, रश्मिकुमारी घिसिङ, सावित्रा भण्डारी र अमिसा कार्कीले दुई–दुई गोल गरिसकेका छन्।

विगतमा बंगलादेशसँग नेपालको प्रदर्शन उत्कृष्ट छ। नेपालले अहिलेसम्म बंगलादेशलाई जित्न दिएको छैन। नेपालले हालसम्म ६ खेलमध्ये ५ मा विजय तथा १ खेल बराबरीमा राखेको छ। 

फाइनलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ मैदान फर्कने विश्वास गरिएको छ। डेंगी सक्रमणका कारण साम्बाले श्रीलंकाविरूद्धको समूह चरणको अन्तिम खेल र भारतविरुद्धको सेमिफाइनल गुमाएकी थिइन्।

 

प्रतिक्रिया