जीवन दर्शन

पूर्णता होइन प्रगति खोजौं  

सभ्य जीवन एक लाचार यात्रा हो। यो यात्राले तृप्ती खोसेको छ। भित्रको अन्तश्चेतनाले मागेको कुरा प्राप्त छैन। जे  छ त्यो अधुरो छ। केही थियो जो प्राप्त भएन। सायद कोही थियो जोसँग अझै गहिराइमा डुबेर पूर्णता प्राप्त गर्न सकिन्थ्यो। कुनै मोती थियो जो अर्कैको गलाको माला बन्यो। कुनै सङ्गीत थियो जो अरु कसैले सुन्यो। कुनै अमृत थियो, जो पान गर्न पाइएन। जबसम्म जिज्ञासा, कामना, वासना, ईष्र्या, अहङ्कार र ज्ञानको भोकको अस्तित्व रहनेछ, जीवन पूर्ण हुने छैन। मनुष्य जानेर भ्याउन चाहन्छ। मनुष्य भोगेर भ्याउन चाहन्छ। ऊ पूर्णकाम हुन चाहन्छ। ऊ आप्तकाम हुन चाहन्छ। तर त्यो अभीष्ट अप्राप्य छ। मनुष्य ईश्वरलाई फकाउँछ। ईश्वर रिसाउला कि भनेर भयभीत हुन्छ। परन्तु ईश्वर न रिसाउँछ र न खुसी नै हुन्छ।

bhagwat khanalकुनै बखत मनुष्य शून्यमा थियो। शून्य अर्थात् पूर्ण। सिक्नुपर्ने केही थिएन। उसबाट केही झिके पनि ऊ पूर्ण नै रहन्थ्यो। उसमा केही थपे पनि पूर्णमै सीमित। ऊ सनातन थियो, शाश्वत। न ऊ कसैको गुरु थियो न त चेलो नै। ऊ सुन्दर थिएन। त्यसैले ऊ असुन्दर पनि थिएन। न कोही प्यारो थियो, न त घृणित। कोही आफ्नो थिएन र बिरानो पनि कोही थिएन। न मोह थियो, न त निर्मोह नै। प्रेम गर्नुको झन्झट थिएन।  नैतिकता र सदाचार थाहा थिएन। समयक्रममा मनुष्य ‘सभ्य’  बन्दै गयो। म को हु? यो जगत के हो?  यी अरु मानिसहरू को हुन्? आकाश, अन्तरिक्ष,  वर्षा,  नदी,  पर्वत, आँधी र भूकम्प के हुन्?  सर्प, बिच्छी, बाघ, भालु  इत्यादि दुःख दिने जीव को हुन्?  माया, अनुराग, आसक्ति, ईष्र्या, द्वेष, शोक, रोग र अहङ्कार के हुन्? मनुष्य खोजशील र तर्कशील हुँदै गयो। 

परापूर्वकालमा मनुष्य शरीर पनि कत्ला या घना रोमले आच्छादित थियो। स्पर्शको रोमाञ्च थिएन। कति राम्रो छाती, कति सुन्दर कम्मर, कति चिल्ला गाला, कति नरम हात, कति स्निग्ध  ओठ, कति सुरिला तिघ्रा भनेर प्रशंसा गर्ने चटारो थिएन। शनै शनै मनुष्य रोमहीन हुँदै गयो। सायद मनुष्यले छुनुमा आनन्द पाउन थाल्यो। स्पर्शको रोमाञ्च! 

जान्ने जिज्ञासा बढ्दै गयो। यात्राको क्रममा मित्रका साथै शत्रु पनि भेटिन थाले। मायाको चेतनाले घृणाको चेतना पनि विकास गर्यो। कोही आकर्षक र कोही विकर्षक लाग्न थाल्यो।  ऋतुकालमा हुने प्रणयकर्म सार्वकालीन बन्यो। हात,  खुट्टा,  छाती, कम्मर,  निधार आदि सबै स्पर्शका अङ्गहरू उत्तेजक लाग्न थाले। विपरीत लिङ्गीलाई आकर्षित गर्न नारी र पुरुष दुबैले सौन्दर्य परिधान प्रयोग गर्न थाले। ज्ञानका अनेकौं द्वार  खुल्दै गए। जति भित्र पस्दै गयो, उति नै द्वारहरू थपिँदै गए। ‘अरु के छ? अरु कति छ?’  भनेर अविरल खोजिरह्यो मानव। तर त्यो चिज भेटिएको छैन, जो खोजिएको हो। मनुष्यले खोजेको पूर्णता हो। यस्तो चिज फेला परोस्, कि जुन फेला परेपछि अर्को खोज्नु नपरोस्। यस्तो कुरा जानियोस्, कि जो जानेपछि अरु जान्नुपर्ने केही बाँकी नरहोस्। यस्तो भोग भोगियोस्, कि फेरी भोग्ने अभिलाषा नै नरहोस्।

जहिलेसम्म मसँग केही थिएन, म पूर्ण थिएँ। शरीर छोप्ने वस्त्र थिएन, म पूर्णवस्त्र थिएँ। दसै दिशा मेरो परिधान थियो। मलाई नाङ्गो भनेर जिस्क्याउने ‘कुरीकुरी’ शब्दको आविष्कार भएको थिएन। सबै निर्वस्त्र थिए, त्यसैले कोही नाङ्गो थिएन। सबैले आफ्नो खानेकुरा आफैं खोजेर खान्थे, त्यसैले निरपेक्ष गरिब कोही थिएन। संग्रह थिएन, त्यसैले धनी या गरिव कोही  थिएन। आमाको दूध छाड्नासाथ सबै बालबालिका स्वतन्त्र हुन्थे। मायाको स्वरुप प्राकृतिक थियो। मायामा सांस्कृतिक चेत नहुनाले चिरस्थायी सन्तानमोह थिएन। वैवाहिक झन्झट थिएन। प्रणय कुनै लीला थिएन,  प्राकृतिक थियो। कोही बापती थिएन। कोही बलात्कारी थिएन। मृत्युको भय थिएन।

कोही राजा थिएन। कोही रङ्क थिएन। कसैमाथि कसैको हकदैया थिएन। कुनै बन्धन थिएन। कस्तो छु भनेर अनुहार हेर्ने ऐना थिएन। कोही ‘सेलिब्रिटी’  थिएन। सबैको नजरमा सबै उस्तै देखिन्थे। मलाई केही कुराको दरकार नहुँदा मेरो भाँडो पूर्ण थियो। मलाई माया थाहा थिएन। मलाई सम्पत्ति थाहा थिएन। मलाई पढ्नु र लेख्नु थिएन। मेरो प्रज्ञा पूर्ण थियो। मलाई नामको जरुरत थिएन,  अनाम थिएँ।  म पूर्ण थिएँ। जसरी अविनाशी ब्रह्म अनाम छ, त्यस्तै शाश्वत। त्यस्तो साम्यावस्था, जहाँ केवल ‘आफू’  हुन्छ। हजारौंको बिचमा पनि परिचयको आवश्यकता थिएन। सबै आफूहरू आफैंमा पूर्ण थिए। सभ्यताले प्रदान गरेको सबैभन्दा युगान्तकारी र अचम्मको उपहार नाम र  सौन्दर्य चेतना हो। सौन्दर्य चेतना नै हो, जसले गर्दा सदासर्वदा  सुरुचिको अगाडि सुनीतिको हार भइरहेको छ। 

पूर्णताबाट अपूर्णतातर्फको यात्रा रहेछ जीवन। एक मरीचिका, जसले अविरल आकर्षण गरिरहन्छ, तर जति नजिक जान खोज्यो उति टाढा भागेर जाने। एक ‘अनआइडेन्टिफाइड’ आकांक्षाको घनघोर चक्र। यसलाई बुझ्न बाइबलमा उल्लिखित कथालाई बिम्बको रूपमा लिन सकिन्छ। ईश्वरले एउटा मनुष्यलाई एक सुन्दर उपवनमा विचरण गर्न छाडिदिएको थियो। ईश्वरबाट आदम नाम पाएर  ऊ अनामबाट सनाम भएको थियो। त्यस उपवनमा अनेक प्रकारका फलफूलहरू थिए। त्यहाँ एउटा सुन्दर नदी कलकल बग्दथ्यो। ईश्वरले त्यस सुन्दर उपवनको बिचमा रहेको वृक्षको विशेष फल नखानू भनेर आदमलाई आदेश दिएको थियो। अपूर्णताको पहिलो यात्री थियो आदम। ऊ परिमित जीवनको  प्रतीक हो। सीमाबद्ध आदमले सहसा  केही कमीको महसुस गर्यो। उसले ईश्वरसँग एउटा साथीको माग गर्यो।  ईश्वरप्रदत्त  ईभ नाम गरेकी सुकोमल नारीलाई मित्रको रूपमा पाएर आदम धन्य भयो। 

आदम र ईभ निर्वस्त्र विचरण गर्दथे। उनीहरू निर्दोष, निश्छल र निर्मल थिए। उनीहरूलाई लाज भनेको के हो, पत्तो थिएन। एक दिनको कुरा  हो। एउटा सर्प आएर हव्वालाई भन्यो, ‘तिमीहरू प्रतिबन्धित वृक्षको फल पनि खाओ।  त्यो दुर्लभ फल खायौ भने तिमीहरूलाई ज्ञान प्राप्त हुनेछ।’  ज्ञान? के हो त्यो? जीवनलाई ज्ञान प्राप्त गरेर पूर्ण बन्ने इच्छा जाग्यो। सर्पको उक्साहटमा लागेर उनीहरूले  प्रतिबन्धित फल टिपेर खाए। फल खानासाथ उनीहरूका आँखा खुले। अकस्मात उनीहरूलाई एक आपसमा लाज लाग्यो। उनीहरूले पातपतिङ्गर खोजेर आफ्नो  ‘लाज’ छोपे।  आदम र ईभलाई नदेखेपछि ईश्वरले बोलायो, ‘आदम तिमी कहाँ छौ?’  आदमले भन्यो, ‘आज अकस्मात मलाई लाज लाग्यो। म यता लुकेर बसेको छु।’  यो सबै देखेर दुःखी भएको ईश्वरले आदम र ईभलाई अनेकौं दुख र कष्ट भोग्नुपर्ने भविष्यवाणी गर्दै बाटिकाबाट दुःखको संसारतर्फ निकाला गरिदियो।
 
आज मनुष्य पहिरनभित्र छ। आज मनुष्य आवरणभित्र छ। सबैलाई थाहा छ आवरणभित्र के छ। किन्तु जिज्ञासा यति  प्रबल कि आवरणभित्र के होला? झनै भित्र के होला? अझै गहिराइमा के होला? मनुष्य आफ्नै आवरणभित्रको गहिराइ नाप्न चाहन्छ। संसारमा मायाको भाँडो जति गहिरो हुँदै जान्छ, घृणाको भाँडो पनि त्यति नै फराकिलो बनिदिन्छ। जति सम्पत्ति जम्मा हुँदै जान्छ, लोलुपता पनि त्यति नै बढ्दै जान्छ। ज्ञानको दायरा जति फैलिँदै  जान्छ, त्यत्ति नै आफू कति अज्ञानी छु भन्ने महसुस हुँदै जान्छ। अज्ञान पूर्ण थियो, स्वल्पज्ञान रिक्त बन्यो। व्यापारी कमाएर अपूर्ण, वैज्ञानिक खोजेर अपूर्ण र कवि लेखेर अपूर्ण। एउटा नशावाज नशाको पूर्ण गहिराइमा पुग्न चाहन्छ। ऊ  पूर्णरूपेण नशामा डुब्न चाहन्छ। नशाको मात्रा बढ्दै जान्छ, तर पूर्णता प्राप्त हुँदैन। 

पौराणिक पात्र जालन्धर सुन्दरी पत्नी वृन्दाबाटै पूर्ण हुन चाहन्थ्यो। उसले एक दिन भनेको पनि थियो, ‘तिमी जस्तो सुन्दर स्त्री यो जगतमा अर्की कोही छैन। तिमी पूर्ण छ्यौ। म पनि तिम्रो प्रेममा पूर्ण हुन चाहन्छु। यस्तो प्रेम जुन प्राप्त गरेपछि फेरि प्रेमको लालसा नहोस्।’ किन्तु वृन्दालाई आफ्नो अपूर्णता थाहा थियो। उनले भनिन्, ‘म अपूर्ण सुन्दरीलाई पूर्ण ठान्ने तपाईं महादेवकी स्त्री पार्वतीलाई देख्नुभयो भने के गर्नुहोला?’  सहसा आफ्नी पत्नी अपूर्ण रहेको थाहा पाएर  जालन्धरलाई ठूलो ठेस लाग्यो। ऊ अपूर्ण श्रीमती वृन्दालाई एक्लै छाडेर पूर्ण सुन्दरी पार्वतीको खोजीमा दौड्यो कैलाशतिर। रामलखनको सुन्दरता देखेर सुपर्णखा विचलित भइन्। उनै सुपर्णखाबाट सीताको सौन्दर्य सुनेर रावण विस्मित भयो। के सीताको सौन्दर्य पूर्ण थियो? अवश्य थिएन। द्रौपदीको सौन्दर्य देखेर दुर्योधन, दुःशासन र कर्ण तड्पिन थाले। उता पाण्डवहरूका लागि द्रौपदी अपूर्ण थिइन्। उनीहरूले अन्य महिलासहित पनि विवाह गरे। द्रौपदी स्वयं भने भित्रभित्रै कर्णसँग प्रेम गर्दथिन्। पाण्डवहरू पनि द्रौपदीका लागि अपूर्ण थिए। सभ्यता पूर्णताबाट अपूर्णतातर्फको यात्रा हो। सभ्यताको यात्राले कहिल्यै पनि पूर्णता हासिल गर्न सक्ने छैन। सम्पत्ति नहुनु पूर्णता थियो। पति ÷ पत्नी नहुनु पूर्णता थियो। आफ्नै बालबच्चा र आमाबाबु नचिन्ने जीवन पूर्ण थियो। चाहना र कामनारूपी आगो नबल्दासम्म जीवन पूर्ण थियो। 

मनुष्यको अवचेतन अत्यन्तै प्रबल छ। एक अव्यक्त भावना, जसले भित्र कतै चिमोटिरहन्छ। सभ्यताले जीवनलाई सम्झौता बनायो। सहनशीलता, धैर्य र सीमारेखाको सम्मान गर्न लगायो। यदाकदा जागृत भएर बाहिर निस्कन खोज्ने अवचेतनलाई सभ्यताको चेतनले आदेश दिन्छ, ‘खबरदार! लक्ष्मणरेखाको उल्लंघन गरिस् भने समाजको नजरमा सिल्ली होलास्।’   

याज्ञवल्क्य ऋषि एक हजार गाईका धनी थिए। ती सबै गाईहरूको सिङमा सुनका मोहरहरूका माला झुण्डिएका थिए। ऋषिसँग धनधान्य, प्रतिष्ठा, विद्या र ज्ञान सबै प्राप्त थियो। त्यतिले नपुगेर उनका कात्यायिनी र मैत्रेयी नामका अनिन्द्य सुन्दरी पत्नीहरू थिए। एक दिनको कुरा हो। दुबै सुन्दरीहरू पतिको सेवामा तल्लीन थिए। ऋषिले दुबैलाई नजर फिराएर हेरे। हेर्दाहेर्दै उनलाई त्यो वैभवशाली जीवन अपूर्ण लाग्यो। उनले भने, हे मेरा श्रीमतिहरू हो! मेरो कुरा सुन। तिमीहरूले यी एक हजार गाईहरू आपसमा बाँडेर लिनू। अब म जीवनको पूर्णताको खोजीमा वनतिर जानेछु।’ कात्यायनीले त पतिको कुरा स्वीकार गरिन्। परन्तु मैत्रेयीलाई बडो शंका लाग्यो। ‘तपाईं  त्यो घनघोर वनमा त्यस्तो के सम्पदा हात पार्न जाँदै हुनुहुन्छ, जुन यो वैभवभन्दा उच्च छ?’  ऋषि उत्तर दिन्छन्, ‘म एकान्तको सम्पदा हात पार्न चाहन्छु। म जीवन र जगतको रहस्य जान्न चाहन्छु। म परमतत्वलाई चिन्न चाहन्छु। म पूर्ण हुन चाहन्छु।’ 

भीष्म एक दृढप्रतिज्ञ महापुरुष हुन् तापनि उनको जीवन कठोर रूपमा अपूर्ण थियो। कामुक बाबुको वासनापूर्तिका लागि अनुचित प्रतिज्ञा गरेका उनी जीवनभर पछुताइरहे। कुन्तीलाई  सुरुमा शिशु बगाउने  वाध्यता आइलाग्यो। बिचमा नामर्द पतिसँग समय बिताउन विवश र पछि गएर लामो एवं  कहालीलाग्दो वैधव्य जीवन। दाजुको परम भक्त बनेबापत  दुःशासन कालजयी दुष्टताको प्रतीक बन्यो। हिन्दू सभ्यताले कैकेयीमा अपार कुपात्रता देख्यो। पौरुष गुमाएको वृद्ध पतिको पछि लागिरहँदा पीडित थियो जीवन। सायद छोरालाई राजा बनाएर जीवनको रिक्तताको पूर्ति गर्न चाहन्थिन् उनी। अर्को अनि अझै अर्को र फेरि झनै अर्कोको चाहना रहेछ जीवन। अर्कोकै खोज, अर्कोमै खुसीको आशा र अर्कोमै रुचि।

युवराज्ञी डायनाले आफ्नो पतिमा आफूले खोजे जस्तो पात्र पाइनन्। पूर्ण जीवनको खोजीमा उनी ‘अनुशासनहीन’ बन्दै गइन्। परन्तु जति नै गर्दा पनि उनको जीवन अपूर्ण नै रह्यो। अन्ततः शारीरिक एवं मानसिक भोक र तिर्खा मेट्न नपाई आफैं नामेट भइन्।

सम्राट एडवर्ड आठौंको बादशाही जीवनले उनलाई पूर्णता प्रदान गर्न सकेन। उनी अपूर्ण गद्दी त्यागेर एउटी महिलामा पूर्णता खोज्न निस्के। सीताको सौन्दर्यबारे सुन्ने बित्तिकै रावणको रुचि परम प्यारी मन्दोदरीबाट हट्यो। उनी वनवासी रामको ईष्र्या गर्न थाले। सीतालाई फकाउँदै उनी भन्छन्, ‘तत्र त्वं नरनारीषु शोभिष्यसि मया सह। भार्या भव मम सुश्रोणि तापसं त्यज राघवम्।’ अर्थात् लङ्कामा मेरो साथमा बसेपछि तिमी नरनारीमध्ये सबैभन्दा शोभायमान देखिनेछौ। अतः तिमी मेरी भार्या बन, बबुरो वनवासी रामलाई त्यागिदेऊ।

मनुष्यको अवचेतन अत्यन्तै प्रबल छ। एक अव्यक्त भावना, जसले भित्र कतै चिमोटिरहन्छ। सभ्यताले जीवनलाई सम्झौता बनायो। सहनशीलता, धैर्य र सीमारेखाको सम्मान गर्न लगायो। यदाकदा जागृत भएर बाहिर निस्कन खोज्ने अवचेतनलाई सभ्यताको चेतनले आदेश दिन्छ, ‘खबरदार! लक्ष्मणरेखाको उल्लंघन गरिस् भने समाजको नजरमा सिल्ली होलास्।’   

सभ्य जीवन एक लाचार यात्रा हो। यो यात्राले तृप्ती खोसेको छ। भित्रको अन्तश्चेतनाले मागेको कुरा प्राप्त छैन। जे  छ त्यो अधुरो छ। केही थियो जो प्राप्त भएन। सायद कोही थियो जोसँग अझै गहिराइमा डुबेर पूर्णता प्राप्त गर्न सकिन्थ्यो। कुनै मोती थियो जो अर्कैको गलाको माला बन्यो। कुनै सङ्गीत थियो जो अरु कसैले सुन्यो। कुनै अमृत थियो, जो पान गर्न पाइएन। जबसम्म जिज्ञासा, कामना, वासना, ईष्र्या, अहङ्कार र ज्ञानको भोकको अस्तित्व रहनेछ, जीवन पूर्ण हुने छैन। मनुष्य जानेर भ्याउन चाहन्छ। मनुष्य भोगेर भ्याउन चाहन्छ। ऊ पूर्णकाम हुन चाहन्छ। ऊ आप्तकाम हुन चाहन्छ। तर त्यो अभीष्ट अप्राप्य छ। मनुष्य ईश्वरलाई फकाउँछ। ईश्वर रिसाउला कि भनेर भयभीत हुन्छ। परन्तु ईश्वर न रिसाउँछ र न खुसी नै हुन्छ। ऊ न लिन्छ न त दिन्छ नै। ईश्वर न प्रेम गर्छ न घृणा नै। ईश्वरले पाउनु छैन, गुमाउनु छैन, लिनु छैन, दिनु छैन, जान्नु छैन र सिक्नु छैन। ऊ सेवा गर्दैन, सेवा खोज्दैन। ईश्वर केही खोज्दैन र केही पनि रोज्दैन। ईश्वर समदर्शी छ। मानव पनि पूर्ण भयो भने ईश्वरीय गुणले युक्त हुनेछ। कामनाको अभाव सभ्यताको समाप्ति हुनेछ। जिज्ञासाको अभाव ज्ञानको भोकको समाप्ति हुनेछ। सुखको चाहनाको अभाव समृद्धिको समाप्ति हुनेछ। अनि फेरी सभ्यताको समाप्ति हुनेछ। जीवनले दुई अवस्थामा मात्र पूर्णता प्राप्त गर्दछ। एउटा हो सम्पूर्ण अज्ञान र अर्को हो सम्पूर्ण ज्ञान। 

एक हिसाबले हेर्दा संसारको प्रत्येक जीवन अविरल आसक्ति, खोजी र ज्ञानक्षुधाको प्रतीक रहेछ। कोही  धृतराष्ट्र झैं गुमेको अवसरको सन्ताप र सन्तानमोहले ग्रसित। कोही  अपूर्णता र अनिच्छाको गर्तमा बाँच्न विवस आँखामा पट्टी बाँधेकी गान्धारी झैं सभ्य विद्रोही। कोही अरुको खुसीका खातिर आफ्ना आकांक्षामा डढेलो लगाउने भीष्म। कोही अभिमानको प्रतीक दुर्योधन।

भनिन्छ, रोम शहर जलिरहेको समयमा सम्राट निरो आनन्दसाथ बाँसुरी बजाइरहेको थियो। निरोकी आमा एग्रीपिनाले चतुर्थ रोमन सम्राट क्लाउडियससँग पोइल आउँदा अघिल्लो  पतितर्फको पुत्र लुसियस डोमिटियसलाई समेत सँगै लिएर आएकी थिइन्। अत्यन्तै महत्वाकांक्षी एग्रीपिनालाई सम्राटकहाँ पोइल आउँदा पनि पूर्णता प्राप्त भएन। उनले शक्तिबिनाकी साम्राज्ञी हुनुमा कुनै गौरव महसुस गरिनन्। उनी अनेकौं जोडबल गरेर आफ्नो पुत्र लुसियसलाई सम्राटको उत्तराधिकारी बनाउन सफल भइन्। त्यति गर्दा पनि जीवनमा रिक्तता नै महसुस भइरह्यो। उनले पतिलाई विष सेवन गराएर मारिन्। सिजर परिवारको उत्तराधिकार प्राप्त गरेका लुसियस ‘सम्राट निरो’  को नाम पाएर गद्दीमा बस्यो। किशोर वयको छोरो सम्राट  बनेपछि  राज्यशक्तिमा आमाको हालीमुहाली कायम भयो। किन्तु एग्रीपिनाको जीवन फेरि पनि रित्तो नै रह्यो। शक्तिले जैविक आवश्यकता र कामुकताको परिपूरण गर्न सकेन। मिथक भन्दछ, उनले आफ्नै गर्भबाट जन्मेको छोरासँग शारीरिक सम्बन्ध राख्न थालिन्। 

सम्राट निरोको राज्यारोहणपछिका केही वर्षहरू साम्राज्यको हकमा धेरै फलदायी भए। त्यो छोटो समयलाई रोमन इतिहासको स्वर्णयुग पनि भनिन्छ। परन्तु निरोले आफ्नो जीवनलाई अपूर्ण मान्न थाल्यो। उसले शक्ति हस्तगत गरेर बसेकी आमालाई हत्या गर्न जल्लाद पठायो। भनिन्छ, एग्रीपिनाले आफ्नो हत्या गर्न आएको जल्लादलाई  ‘यहाँ छुरी हान्!’ भन्दै आफ्नै छोराको भ्रूण हुर्किरहेको पेटतिर देखाएकी थिइन्। निरोको छटपटी यतिले मेटिएन। उसले पहिली पत्नीलाई देश निकाला गरेर अर्की विवाह गर्यो। दोस्री पत्नीबाट पनि उसको जीवनले पूर्णता प्राप्त गर्न सकेन। निरोले गर्भवती पत्नीको हत्या गरिदियो।

निरो साह्रै षड्यन्त्रपूर्ण पारिवारिक वातावरणमा हुर्केको थियो। वास्तवमा ऊ एक थोपरिएको जीवन जिउन अभिशप्त भयो। निरो एक कलाकार थियो। सम्राट पदमा विराजमान हुँदा पनि ऊ नाटकमा अभिनय गर्दथ्यो। ऊ वाद्ययन्त्र बजाउन, गीत गाउन र नाच्न चाहन्थ्यो। उसलाई उत्कट आकांक्षामय सम्राटीय जीवन रित्तो र नरमाइलो लाग्न थाल्यो। भोग, उपभोग, प्रयोग र षड्यन्त्रले ओतप्रोत जीवनमा कुनै करुणा थिएन। ऊ आफ्नो वरिपरिको सारा अस्तित्वलाई जलाएर केही नयाँ गर्न चाहन्थ्यो। सन् ६४ मा रोम शहर जलेर खरानी भयो। सायद निरो त्यो अपूर्ण शहरलाई राख तुल्याएर नयाँ पूर्ण शहर निर्माण गर्ने मनसुबा राख्दथ्यो। यता रोम शहर जलिरह्यो, उता निरो बाँसुरी बजाइरह्यो। उसले त्यही खरानीको थुप्रोमा नवनिर्माण गर्ने प्रयत्न गर्यो। आफ्नो महलका भित्ताहरूमा अत्तरका पाइपहरू बिछ्याएर आफ्ना आकांक्षाहरूलाई पूर्णता दिने प्रयास गर्यो। तर रिक्तताको खाडल भर्न विफल भयो ऊ।

प्रजा उसको गतिविधि देखेर दुःखी र रुष्ट भए। राजाको नाम बदनाम भयो। किन्तु उसलाई कुनै पर्वाह थिएन। भनिन्छ; ऊभित्रको कलाकारले उसलाई नाटक प्रतियोगितामा भाग लिन युनान पुग्न उक्सायो। तिस वर्षको पुग्दा नपुग्दै ऊ अपार बदनाम भइसकेको थियो। सिनेटले प्रजाको शत्रु घोषणा गरेपछि उसलाई सिपाहीहरूले खोज्न थाले। निरोले शहरबाहिर रहेको महलमा आत्महत्या गर्नुअघि भनेको थियो, ‘क्वालेस आर्टिफेक्स पेरियो।’ निरो शक्तिशाली भएर पनि ठूलो छटपटीमा थियो। उसलाई थोपरिएको त्यो सुन्दर, शक्तिशाली र प्रतिष्ठित पदले जीवनलाई झनै निरस र रित्तो बनाइदियो। कसैको महत्वाकांक्षाको मोहरा बनेर प्राप्त भएको रहेछ भने सम्राट पदले पनि छटपटी नै दिँदोरहेछ। सोझो तवरले हेर्दा निरोले सम्राट पदलाई नसुहाउने त्यस्ता उटपट्याङ काम नगरेको भए हुँदोहो जस्तो लाग्दछ। परन्तु उसको जीवनीलाई नियालेर हेर्दा त्यहाँ दारुण रिक्तता र अपूर्णता देखिन्छ। सायद उसले बोलेको अन्तिम वाक्यले संकेत गर्न खोजेको भाव ‘मेरो मृत्युसँगै यो संसारले एउटा महान कलाकार गुमाएको छ’ भन्ने हो। दुनियाँको नजरमा त्यो सम्राट निरोको आत्महत्या हो। परन्तु निरोको नजरमा त्यो एक होनहार कलाकारको दुःखद अवसान हो। 

एक हिसाबले हेर्दा संसारको प्रत्येक जीवन अविरल आसक्ति, खोजी र ज्ञानक्षुधाको प्रतीक रहेछ। कोही  धृतराष्ट्र झैं गुमेको अवसरको सन्ताप र सन्तानमोहले ग्रसित। कोही  अपूर्णता र अनिच्छाको गर्तमा बाँच्न विवस आँखामा पट्टी बाँधेकी गान्धारी झैं सभ्य विद्रोही। कोही अरुको खुसीका खातिर आफ्ना आकांक्षामा डढेलो लगाउने भीष्म। कोही अभिमानको प्रतीक दुर्योधन। कोही हार्छु भनेर जान्दाजान्दै जुवा खेल्ने र अर्काको जीवनलाई खालमा थाप्ने युधिष्ठिर। कोही लोक कल्याणका खातिर निरन्तर आविष्कारमा निमग्न थोमस अल्बा एडिसन। र कोही थोपरिएको अभिशप्त जीवन बाँच्न र अन्त्यमा आत्मदाह गर्न विवश निरो।

जीवन अपूर्ण छ र अपूर्णता नै यसको धर्म हो। संसारले सुख कम, दरिद्रता र दुःख ज्यादा दिन्छ। द्रव्यको दरिद्रताभन्दा आकांक्षाको दरिद्रता दारुण हुन्छ। जीवन एक अविरल दरिद्रता रहेछ। चाहे ज्ञानको होस्, चाहे धनको होस्, चाहे ज्यानको होस् र चाहे मानको। यहाँ प्रेम अपूर्ण, धन अपूर्ण, सौन्दर्य अपूर्ण, ज्ञान अपूर्ण, प्रणयसुख अपूर्ण, जीवनसाथी अपूर्ण, कुटुम्ब अपूर्ण र सन्तान पनि अपूर्ण। म अपूर्ण छु। हामी सबै अपूर्ण छौं। प्राप्ति सधैं अपर्याप्त हुन्छ भन्ने कुरा मात्र बुझ्न सकियो भने  जीवन स्वीकार्य र सहज हुन्छ। हाम्रो कर्तव्य कर्मशील जीवन हो। आकांक्षाले प्रगति पथमा जान सहयोग मिल्छ, परन्तु द्वेष र अनर्गल कामनाले जीवनलाई रुग्ण बनाउँछ। अरुको सम्पत्ति, उमेर, आम्दानी, रूप, परिवार, इज्जत र स्वास्थ्य देखेर आफूलाई अपूर्ण र अभागी नठानौं। उनीहरू पनि कुनै न कुनै कारणले अपूर्ण र दुःखी छन्। संसारका सबै जीवनहरू अपूर्ण छन्। जीवनमा पूर्णता होइन प्रगति खोजौं। निरन्तर गतिमान रहनु नै हाम्रो कर्तव्य हो। पूर्णताको खोजीले सन्तोष दिन सक्दैन, सन्ताप मात्र दिन्छ। प्रगतिको खोजीले मात्र सुख, शान्ति, समृद्धि र सन्तुष्टि दिन्छ। 

प्रतिक्रिया