समाचार विश्लेषण

 गगन र विश्वप्रकाशले थाहा पाउनैपर्ने कुरा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन्, आगामी निर्वाचनमा प्रस्तुत हुने कांग्रेसको घोषणा–पत्रमा जिम्मेवार सोच र भरोसाको सङ्कल्प रहनेछ।

विश्वप्रकाश शर्माले महामन्त्री चुनिएपछि पाएको यो अहिलेसम्मकै उच्च राजनीतिक जिम्मेवारी हो। यसअघि उनी प्रवक्ता थिए। सार्वजनिक मन्तव्य र लेखनमा विश्वप्रकाशको पहिचान छ। विश्वप्रकाशको हातबाट अब लेखिने घोषणा–पत्रले नेतृत्वमा हुनुपर्ने दूरदृष्टि र परिपक्वताको परीक्षण गर्ने छ। इतिहास, सकमालिन राजनीति र विश्व परिवेशसँग परिचित युवा मतदातालाई विश्वास दिलाउन सक्ने सपना दिन सके भने विश्वप्रकाशको आजसम्मको सालाखाला लोकप्रियताको जग बलियो हुने छ। तर नेपाली कांग्रेसको ‘हुकुमी सपना’ नै घोषणा–पत्रको कच्चा पदार्थ बन्यो भने त्यो पार्टी र महामन्त्री दुवैका लागि हानिकारक हुने छ। 

युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री चुनिएपछि नेपाली कांग्रेसको घरेलु राजनीतिमा हलचल आएको थियो। तर त्यो हलचलले कुनै तरंग सकेको ल्याउन छैन। उनीहरु चुनिएर आएपछि पनि जहानियाँ शैलीको राजकाजले नेपाली कांग्रेसको छानामाना ओगट्न छोडेको छैन। जसले गगन र विश्वलाई उनीहरुको युवा जोश प्रदर्शन गर्ने कुनै पटाङ्गिनी उपलव्ध हुन दिँदैन। 

गठबन्धनको डोरीले नेपाली कांग्रेसलाई यसरी कसिसकेको छ कि सत्ता कसैगरी नत्याग्ने र उस्तै परे वीपीको सपना उनकै तस्बीरमुनी लेखेर पार्टी कार्यालयहरुमा सजाउने। 

भन्न त विश्वप्रकाशले भनेका छन्– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणा–पत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने सङ्कल्प र अठोटको प्रधानता रहने छ। राजनीतिक महत्व बोकेको सुन्दरीजल, वीपी सङ्ग्रहालयमा १०९औँ वीपी जन्मजयन्तीको अवसर पारेर उनले कांग्रेसको घोषणा–पत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नहुने दावी समेत गरेका छन्।

बिर्सन नहुने पक्ष के हो भने नेपाली कांग्रेस आफ्नो मौलिक पहिचान जोगाउन सकिरहेको छैन। युवा महामन्त्रीहरुको जोशलाई शिथिल बनाईरहेका केही पक्षहरुबारे उनीहरु जानकार नै हुनुपर्ने हो। सभापति शेरबहादुर देउवाको हातबाट कसले हस्ताक्षर गरिरहेको छ भन्ने कुरा सबैभन्दा पहिलो उनीहरुले थाहा पाउनुपर्ने बिषय हो। अर्को कुरा, के नेपाली कांग्रेस प्रचण्डको छत्रछाँयाँबाट बाहिर निस्कने अवस्थामा छ? भनेर देशभरका कांग्रेसजनले सोध्ने प्रश्नको जवाफ गगन र विश्वप्रकाशले दिनसक्छन्?

यतिमात्र होइन, पार्टीमा नवधनाढ्य उद्योगी व्यावसायीको प्रवेशले नेपाली कांग्रेसको मत दिन दुगुना रात चौगुना बढिरहेको छ? भनेर पनि प्रश्न गरिएको सुनिन्छ। निर्वाचन अघि नै गठबन्धनको घोषणा गरेर मत माग्न जाँदा नेपाली कांग्रेसले आफ्ना शुभेच्छुलाई कुन अनुहार चैं आफ्नो सक्कली अनुहार हो भनेर देखाउने भन्ने पनि कांग्रेसजनमा चिन्ता छाएको देखिन्छ। 

महामन्त्री विश्वप्रकाश शर्मा घोषणा–पत्र लेख्न बस्दैगर्दा माथि उल्लेखित तीता पक्षहरुलाई ध्यानमा राख्नुपर्ने देखिन्छ। सर्बोच्च अदालतको परमादेश नै अहिलेको सरकारको स्रोत हो भन्दा अन्यथा नहोला। ‘अरुले उछिन्लान् भनेर हामीले गठबन्धन गरेको’ भन्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको कथन नै मुख्य तत्व होभने अर्के कुरा हो। होइन भने गठबन्धनले स्थानीय निर्वाचनमा जस्तै परिणाम हात पर्छ भन्ने पूर्वानुमानले कांग्रेसलाई धोका हुन पनि सक्छ।  

 “घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणा–पत्रले समेट्ने छ, कोही अझै शिक्षाबाट बञ्चित किन? ‘ड्रपआउट’ कहिलेसम्म? उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता किन? विकल्प के र कसरी?” घोषणा–पत्रमा प्रबिस्ट हुनेछ भनेर महामन्त्रीले भनेका छन्। 
  
नेपाल आज जहाँ आइपुगेको छ, ती उपलब्धिहरूको स्मरण, यो अवधिमा भएका कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा व्यवहारिक घोषणा– निर्माण गर्ने महामन्त्री शर्माको भनाई छ। “वीपीले परिकल्पना गर्नुभएको नेपाल र आजको नेपाली युवाको भावनालाई एकाकार गरेर व्यक्ति या दलको मात्र होइन, कांग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने प्रयत्न गर्नेछ, त्यसो गरिरहँदा ५० लाख बढीको सङ्ख्यामा विदेशमा रहेकोे ‘नेपाल बाहिरको नेपाल’को भावनालाई समेट्ने छ”, भनेर महामन्त्री शर्माले भनेका छन्।

महामन्त्री शर्माको दावी अनुसारकै घोषणा–पत्रमा मस्यौदा भयो भने पनि त्यसलाई अरु अनेकथरी रंग पोत्न कुची बोकेर जम्जमाएका अतिवादी तत्वले कस्तो स्वरुप बनाउने हुन् भन्ने कुरालाई हलुका रुपमा लिन मिल्दैन। नेपाली कांग्रेसलाई खुम्च्याउँदै लैजाने बृहत्तर योजनाबारे युवा नेताहरु जानकार नै हुनुपर्ने हो। यस्तो कार्य अन्यत्र कतैबाट होइन घरभित्रैबाट भैरहेको कुरा त झनै नबिर्सनु पर्ने हो।

अर्को महत्वपूर्ण पक्ष हो नेपालको परराष्ट्र नीतिमा विद्यमान अस्थीर अवस्था। भारत र चीनसँगको परम्परागत सम्बन्ध नै समयानुकूल प्रचलनमा छैन भनिरहेका छन् परराष्ट्र मामिलाका जानकार। यो नेपालले हलुका रुपमा लिन नहुने पक्ष हो। गबन्धनका सदस्यहरु यसप्रति उदासिन हुन सक्लान्। तर नेपाली कांग्रेसलाई त्यसो गर्ने छुट छैन। घोषणा–पत्रले यस्ता बिषयलाई जिम्मेवार ढंगले समेट्यो भने मात्र दीर्घकालसम्म विश्वसनियता बच्ने छ।

युवा पुस्ता घोषणा–पत्रको केन्द्रीय बिषय हुनुपर्छ। शिक्षाको जग बलियो बनाउने देखि स्वदेशमै रोजगारीको भरपर्दो अवसर हुने कुराको पनि घोषणा–पत्रले आश्वस्त तुल्याउन सक्नुपर्छ।  

इतिहासको बखानले मात्र अबको राजनीति चल्दैन। जेलनेल, संघर्ष र कष्टका कथा अब अभिलेखमा समेटिनु पर्छ। यसकै आधारमा अवसर दिने र राजनीति चलाउने समय होइन यो। इतिहासको सम्मान गर्दै वर्तमानलाई भरपर्दो बनाउने अनि भविष्यलाई आशावादी तुल्याउने राजनीतिक प्रतिवध्दता आउन सक्यो भने मात्र मतदाताले लोकतन्त्रको सही सन्देश पाउने छन्। अन्यथा कुनै सांगठनिक आधार नै नभएका नयाँ नयाँ मानिसहरुले राजनीतिक दलहरुलाई चुनौति दिने क्रम बढ्ने छ भने स्थापित भनिएका नेताहरुलाई जमानत जोगाउन हम्मेहम्मे पर्ने छ। यसतर्फ घोषणा–पत्रका कुचिकारहरुले चिन्तन मनन गर्न आवश्यक छ।
 
 
 

प्रतिक्रिया