बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन

काठमाडाैं। बेलायती महारानी एलिजाबेथ द्धितियको ९६ वर्षकाे उमेरमा निधन भएको छ। केही समयदेखि अस्वस्थ्य बेलायती महारानीले बिहीबार स्कटल्याण्डकाे बाल्माेरल क्यासलमा अन्तिम स्वास फेरिन्। उनी सबैभन्दा लामो समय ७० वर्ष बेलायतकाे महारानी बनेकी थिइन। 

बिहीबार दिउँसो एक्कासी उनकाे स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। उनको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि नाति राजकुमार विलियम उनी नजिक पुगेका थिए।स्वास्थ्य अवस्था कमजाेर हुन थालेदेखि नै  विगत केही समयदेखि महारानीले बाल्माेरलको महलबाट राजकाज गर्दै आइरहकाे बताइएको छ। 

बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले पनि ६ सेप्टेम्बरमा यही महलमा महारानीसँग भेटेर सपथ लिएकी थिइन। 

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ। 

बिबिसीका अनुसार स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको हो। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।

उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो।

उनको सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए। तीमध्ये सन् १८७४ मा जन्मेका विन्सटन चर्चिल पहिलो हुन् भने त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेका लिज ट्रसलाई एलिजावेथले गत साता मात्र प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। उनले आफ्नो शासनकालभरि हरेक साता प्रधानमन्त्रीसँग भेट गरिन्।

एलिजावेथ त्यो समय बेलायतकी महारानी बनेकी थिइन्, जब विश्वभरि बेलायतको प्रभाव घट्दै थियो। भारत लगायत मुलुकहरूको शासनबाट ऊ पछाडि हट्दै थियो। संसारभरि नै समाजमा क्रान्तिकारी परिवर्तन आउँदै थियो भने बेलायतमै पनि धेरैले राजतन्त्रमाथि प्रश्न खडा गरिरहेका थिए। महारानीका रूपमा एलिजावेथले ती सबै चुनौती डटेर सामना गरिन्। उनले कठिन समयमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिन् र बेलायती राजपरिवारप्रति जनताको विश्वास कायम राखिन्।

एलिजावेथ कुनै दिन बेलायतकी महारानी बन्लिन् भन्ने कसैले सोचेका थिएनन्। उनको जन्म सन् १९२६ अप्रिल २१ का दिन बर्कलेमा भएको थियो। उनी त्यति बेलाका राजा जर्ज पाँचौंका दोस्रो छोरा 'ड्युक अफ यार्क' अल्बर्टकी जेठी छोरी हुन्।

सन् १९३६ मा तत्कालीन बेलायती राजा जर्ज पाँचौंको निधनपछि उनको जेठो छोरा डेविडले एडवर्ड आठौंका रूपमा गद्दी सम्हालेका थिए। तर एडवर्डले दुईचोटि सम्बन्ध विच्छेद गरिसकेकी अमेरिकी महिला वैलिस सिम्पसनसँग विवाह गरेपछि बेलायतमा उनको तीव्र विरोध भयो। यही विरोधका कारण एडवर्ड आठौंले गद्दी त्याग गरे।

त्यसपछि एलिजावेथका पिता 'ड्युक अफ यार्क' जर्ज छैठौंका रूपमा गद्दीमा बसे। तर उनलाई राजा बन्न कुनै रूचि थिएन।

पिताको गद्दी आरोहणपछि १० वर्षकी एलिजावेथ त्यसका उत्तराधिकारी भइन्। उनलाई त्यति बेलादेखि नै आफ्नो भावी जिम्मेवारीको अनुभूति हुन थालेको थियो। यो अनुभवले उनलाई पछि राजकाज सम्हाल्न धेरै सहज भयो।

त्यो बेला हिटलरको शक्ति तीव्र गतिले बढ्दै थियो। युरोपमा बढ्दो तनाव र ध्रुवीकरणबीच राजा जर्ज छैठौंले आफ्नो परिवारसहित देशव्यापी भ्रमण गरे। एलिजावेथ पितासँगै भ्रमणमा गएकी थिइन्। उनको निम्ति त्यो यात्रा राजनीति बुझ्ने ठूलो अवसर साबित भयो।

एलिजावेथले स्कुल गएर औपचारिक शिक्षा लिएकी थिइनन्। उनी र उनकी बहिनी मार्गरेटको शिक्षादिक्षा दरबारमै भएको थियो। एलिजावेथ आफ्ना पिता र हजुरबुवाकी एकदमै प्यारी थिइन्। उनलाई माया गरेर 'लिलिबेट' भनिन्थ्यो। उनलाई सानोमा आफ्नै नाम एलिजावेथ उच्चारण गर्न गाह्रो हुन्थ्यो।

एलिजावेथले छ वर्षको उमेरमै घोडसवारी सिकेकी थिइन्। घोडसवारी सिक्दा उनले आफ्ना गुरूलाई भनेकी थिइन्, 'मलाई गाउँमा बस्ने सामान्य केटी बन्न मन छ र गाउँमा गएर थुप्रै कुकुर र घोडा पाल्न मन छ।'

सानैदेखि एलिजावेथ एकदमै जिम्मेवार स्वभावकी थिइन्। बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल उनको स्वभावबाट प्रभावित थिए। चर्चिलले महारानी एलिजावेथबारे भनेका थिए, 'कम उमेरमै पनि उनको स्वभाव एकदमै ओजपूर्ण र रवाफिलो छ।'

कहिल्यै स्कुल नगए पनि एलिजावेथले धेरै भाषा सिकेकी थिइन्। उनले बेलायतको संवैधानिक इतिहासमा राम्रो अध्ययन गरेकी थिइन्। एलिजावेथ र उनकी बहिनी मार्गरेटले आफ्ना समकालीन केटीहरूसँग राम्रो मेलजोल राख्न सकून् भनेर बकिंघम दरबारका नाममा गर्ल्स गाइड कम्पनी स्थापना गरिएको थियो।

सन् १९३९ मा १३ वर्षकी एलिजावेथ आफ्ना आमाबुवासँग डार्टमथको रोयल नेवल कलेज गएकी थिइन्। त्यहाँ उनको भेट ग्रिसका राजकुमार फिलिपसँग भयो। उनीहरूको यो पहिलो भेट थिएन। तर जब नेवल कलेजमा उनीहरूको भेट भयो, एलिजावेथले राजकुमार फिलिपबारे चासो देखाउन थालिन्।

त्यसपछि उनीहरूबीच लगातार भेट हुँदै गयो। छुट्टीमा राजकुमार फिलिप आफ्ना शाही नातेदारहरूलाई भेट्न लन्डन गए। सन् १९४४ सम्म आइपुग्दा एलिजावेथ र फिलिप एकअर्कालाई प्रेम गर्न थालिसकेका थिए। उनीहरू एकअर्कालाई चिठी लेख्थे। एलिजावेथले फिलिपको तस्बिर पनि आफ्नो कोठामा राख्न थालेकी थिइन्।

दोस्रो विश्वयुद्ध सकिएपछि तत्कालीन राजकुमारीका रूपमा एलिजावेथ अक्जिलरी टेरिटोरियल सर्विसमा सहभागी हुन गएकी थिइन्। त्यहाँ उनले गाडी चाउन र गाडी मर्मत गर्न सिकिन्।

सन् १९४५ मे ८ मा राजकुमारी एलिजावेथले शाही परिवारसँग मिलेर विश्वयुद्ध सकिएको अवसरमा उत्सव मनाएकी थिइन्। त्यसमा बेलायतको जित भएको थियो। त्यो बेला उनले आमजनताको बीचमा गएर खुसी बाँड्न आफ्ना आमाबुवासँग अनुमति मागेको प्रसंग पछि उल्लेख गरेकी थिइन्। यसरी आमजनताको बीचमा गएर उत्सव मनाउँदा कसैले चिन्लान् कि भन्ने उनलाई खुब डर थियो।

विश्वयुद्ध समाप्तिपछि उनी राजकुमार फिलिपसँग विवाह गर्न चाहन्थिन्। तर उनीहरूको विवाहमा केही समस्या आए।

एलिजावेथका बुवा राजा जर्ज आफ्नी प्यारी छोरीलाई आफूबाट टाढा पठाउन चाहँदैन थिए। अर्कातिर फिलिप पनि कुनै अर्को मुलुकमा गएर बस्न तयार थिएनन्। पछि यी सबै समस्या समाधान भए।

उनीहरूले सन् १९४७ नोभेम्बर २० मा लन्डनको शाही चर्च वेस्टमिन्स्टर एबेमा विवाह गरे।

बेलायतको शाही परिवारमा विवाह भएपछि राजकुमार फिलिपलाई 'ड्युक अफ एडिनबरा' को उपाधिबाट सम्मान गरियो। तर उनले शाही नौसेनाको जागिर छाडेनन्। विवाहपछि एलिजावेथ र फिलिपले सामान्य दम्पतीका रूपमा केही समय माल्टामा बिताएका थिए।

एलिजावेथ र फिलिपका पहिलो सन्तान राजकुमार चार्ल्सको जन्म सन् १९४८ मा भयो। त्यसको दुई वर्षपछि छोरी ऐन पनि जन्मिइन्।

यसबीच एलिजावेथका बुवा राजा जर्जको स्वास्थ्य खराब हुँदै गयो। उनलाई फोक्सोको क्यान्सर थियो। सन् १९५२ जनवरीमा एलिजावेथ र उनका पति फिलिप विदेश भ्रमणमा जाने बेला स्वास्थ्य समस्याका बाबजुद राजा जर्ज आफ्ना छोरी-ज्वाइँलाई छाड्न विमानस्थल आएका थिए। त्यो छोरी र बाबुको अन्तिम भेट थियो।

एलिजावेथ र फिलिप केन्यामै रहेका बेला यता बेलायतमा राजा जर्जको निधन भयो। त्यसपछि उनीहरूलाई तुरून्तै बेलायत फिर्ता बोलाइयो र हतारहतारमै एलिजावेथलाई महारानी घोषणा गरियो।

त्यो समय सम्झँदै महारानी एलिजावेथले लेखेकी थिइन्, 'मेरो बुवाको निधन एकदमै छिटो भयो। मैले उहाँसँगै बसेर शाही कामकाज सिक्ने पर्याप्त मौका पाइनँ। अचानक काँधमा आएको जिम्मेवारी निर्वाह गर्ने चुनौती मेरो अगाडि थियो।'

सन् १९५३ मा एलिजावेथले गद्दी आरोहण गरेको घटना संसारभरका दुई करोडभन्दा बढीले टेलिभिजनमा हेरेका थिए।

त्यो बेला विश्वयुद्धका कारण बोक्नुपरेको आर्थिक भारका कारण बेलायत समस्यामा थियो। तत्कालीन प्रधानमन्त्री चर्चिलले आर्थिक समस्या बेला शाही परिवारले फजुल खर्च गरेको भन्दै असन्तुष्टि जनाएका थिए। उनी गद्दी आरोहण समारोह भव्य रूपमा आयोजना गर्ने पक्षमा थिएनन्। तर बेलायती जनता आफ्नी नयाँ महारानीका साथ थिए।

विश्वयुद्धपछि बेलायतको हैसियत एकदमै तल झरेको थियो। कुनै समयमा कहिल्यै सूर्यास्त नहुने बेलायती साम्राज्य संकुचित हुँदै गएको थियो। भारत लगायत संसारका थुप्रै मुलुक बेलायती उपनिवेशबाट मुक्त भइसकेका थिए। त्यस्तो बेला बेलायतको गौरव फिर्ता ल्याउन महारानी एलिजावेथले कमनवेल्थ मुलुकहरूको भ्रमण गर्ने निर्णय लिइन्।

उनी बेलायतकी पहिलो महारानी थिइन् जसले अस्ट्रेलिया र न्यूजिल्यान्डको भ्रणम गरिन्। उनले दुईतिहाइ अस्ट्रेलियन नागरिकलाई प्रत्यक्ष देखेको भनाइ छ।

बेलायती उपनिवेशबाट अन्य मुलुकहरू स्वतन्त्र हुने क्रमसँगै महारानी एलिजावेथको कमनवेल्थप्रति रूचि बढ्दै गयो। यसका बाबजुद उनले बेलायतको शक्ति कमजोर हुनबाट भने रोक्न सकिनन्।

एलिजावेथ बेलायतकी महारानीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट कहिल्यै पछि परिनन्। सन् १९९१ को खाडी युद्धपछि उनले अमेरिका भ्रमण गरेकी थिइन्। त्यहाँ उनले अमेरिकी कंग्रेसमा सम्बोधन पनि गरिन्। उनी अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने पहिलो बेलायती महारानी हुन्। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले उनको खुब तारिफ पनि गरेका थिए।

नब्बेको दशक भने शाही परिवारका लागि एकदमै खराब रह्यो।

महारानी एलिजावेथका दोस्रो छोरा 'ड्युक अफ यार्क' र उनकी पत्नी साराको सम्बन्ध विच्छेद भयो। उनकी छोरी राजकुमारी ऐनको पनि पति मार्क फिलिप्ससँग सम्बन्ध बिच्छेद भयो। पछि राजकुमार चार्ल्स र राजकुमारी डायनाबीचको तनावपूर्ण सम्बन्ध पनि सार्वजनिक भयो। उनीहरूले पनि आफ्नो वैवाहिक सम्बन्ध तोडे।

यति मात्र होइन, नब्बेकै दशकमा विंडसर दरबारमा भयंकर आगलागी भयो। त्यसपछि दरबारको मर्मतसम्भार खर्च कसले बेहोर्ने भनेर बेलायतमा ठूलो बहस भयो। मर्मतको खर्च शाही परिवारले नै बेहोर्ने वा बेलायती जनताबाट असुल गरेको करले बेहोर्ने भनेर तीव्र बहस चल्यो। यही विषयलाई लिएर सिंगो बेलायत दुई कित्तामा बाँडिएको थियो।

महारानीले यो विवाद साम्य पार्न एउटा उपाय निकालिन्। उनले मर्मत खर्च जुटाउन सर्वसाधारणको निम्ति बकिंघम दरबार खुला गरिन्। सँगसँगै यो घोषणा पनि गरिन्, महारानी र युवराज 'प्रिन्स अफ वेल्स' दुवैले आफ्नो आम्दानीमा कर तिर्ने छन्।

यसबीच घरेलु स्तरमा महारानी एलिजावेथसामु शाही परिवारको इज्जत बचाउने चुनौती पनि आयो।

राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्ध बिच्छेदले बेलायती शाही परिवारको इज्जतमा दाग लागेको थियो। त्यही बेला सन् १९९७ मा राजकुमारी डायनाको निधन भएपछि जनता शाही परिवारविरूद्ध उभिए। महारानी एलिजावेथले निजी स्तरमा थुप्रै आरोप सामना गर्नुपर्‍यो।

पेरिसमा भएको दुर्घटनामा राजकुमारी डायनाको मृत्यु भएपछि हजारौं नागरिकले सडकमा निस्केर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरे। त्यसको केही समयपछि महारानी एलिजावेथले राजकुमारी डायनाको निधनमा देशवासीका नाम सन्देश दिइन्। उनले सन्देशमा भनेकी थिइन्, 'शाही परिवारले बदलिँदो समयअनुरूप आफूलाई बदल्ने कोसिस गर्नेछ।'

उनले एक भाषणमा यो पनि भनेकी थिइन्, 'कुनै पनि संस्था वा व्यक्ति जवाफदेहिताबाट मुक्त हुँदैन। बेलायती शाही परिवार पनि हरेक किसिमको जाँच पड्तालका लागि तयार छ।'

(बिबिसीको सहयोगमा)

 

 

 

प्रतिक्रिया