रुसी ‘आयल किङ’ को शंकास्पद निधन

काठमाडौं। रुसको ‘आयल किङ’ को रूपमा परिचित राविल म्यागानोभको बिहीबार शंकास्पद निधन भएको छ। लुकोइल कम्पनीका मालिक ६७ वर्षीय म्यागानोभले अस्पतालको छैटौं तल्लाबाट हाम्फालेर आत्महत्या गरेको सरकारी मिडियाले बताएको छ। 

उनी मुटुको रोगका लागि रुटिन चेकअपमा मस्कोको सेन्ट्रल क्लिनिकल अस्पतालमा भर्ना थिए। उनलाई डिप्रेसन पनि भएको बताइएको छ। उनले अस्पतालको झ्यालबाट हाम्फालेर किन आत्महत्या गरे भन्ने कुराको छानवीन भइरहेको छ। 

म्यागानोभ भर्ना भएको वार्डको मुख्य बिल्डिङको मर्मत चलिरहेको थियो। जसका कारण सीसीटिभी क्यामेरा पनि बन्द भएको बताइएको छ। 

रुसी मिडियाले धुम्रपान गर्न बाहिर निस्किदा उनी झ्यालबाट झरेको अनुमान रुसी मिडियाको छ। झ्यालमा सिगरेटको प्याकेट फेला परेका कारण यो अनुमान लगाइएको हो। घटना स्थलमा कुनै सुसाइड नोट फेला परेको छैन। मध्य मस्कोमा रहेको यो अस्पतालमा हाइ–प्रोफाइल मानिस उपचार गर्न आउँछन्। सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधनभन्दा एक दिनअघि उनी अस्पताल भर्ना भएका थिए। 

उनको निधनलाई लिएर किन पनि शंका गरिएको छ भने, युक्रेनमा रुसी हमलाको उनले विरोध गरेका थिए। उनी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध गर्ने घोषणाको विरोध गर्ने एक्लो व्यवसायी हुन्। गत मार्चमा उनले युक्रेनमाथि रुसी आक्रमणलाई ‘दुखद’ भन्दै युद्ध समाप्त गर्न अपील गरेका थिए। 

सन् १९९० मा लुकोइल आयलमा आवद्ध उनी २०२० मा कम्पनीको अध्यक्ष बनेका थिए। कम्पनीलाई अन्तर्राष्ट्रियस्तरको बनाउन उनको भूमिका महत्वपूर्ण थियो। 
 

प्रतिक्रिया