भौतिक बिकासले मात्र लोकतन्त्र बलियो नहुने नेता कोइरालाको भनाई

बिराटनगर। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक दलहरुमा अहिले बिचार र सिध्दान्त गौण हुँदै गएको बताएका छन्। नेता कोइरालाले बिचार र सिध्दान्त पन्छाएर दलहरु व्यवहारवादी बनेकाले राजनीति कमजोर भएको भन्दै चिन्ता जनाएका छन्।

आज यहाँ पार्टीका स्थानीय प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै नेता कोइरालाले बिचार र सिध्दान्त पन्छाएर हुने भौतिक बिकासले मात्र लोकतन्त्र बलियो नहुने धारणा व्यक्त गरे। खासगरी २०६२ ०६३ को राजनीतिक परिवर्तनपछि बिचार र सिध्दान्त गौण हुँदै गएको नेता कोइरालाको भनाई छ।

आगामी संसदीय निर्वाचनमा पाँच दलीय गठबन्धन हुनु तत्कालको वाध्यता भएपनि नेपाली कांग्रेसले आफ्नो हैसियत र पहिचानमा सम्झौता गर्न नहुने नेता कोइरालाको  अडान छ।

स्थानीय नेता, जनप्रतिनिधि र शुभेच्छुकले कोइरालालाई निर्वाचन क्षेत्रमा सीमित नभई राष्ट्रिय राजनीतिको नेतृत्व लिन सुझाव दिए। नेपाली कांग्रेसको नेतृत्वले सत्तालाई प्राथमिकता दिएकाले पार्टी सम्झौताको शिकार भएको भन्दै उनीहरुले लोकतन्त्रको मर्म, आदर्श र सिध्दान्तलाई जोगाईराख्न कोइरालाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि सक्रिय हुन पनि सुझाव दिएका थिए।

 

प्रतिक्रिया