कमल थापा र निरञ्जन थापालाई पार्टीमा भित्र्याएपछि राप्रपा छोड्यौंः शरदसिंह भण्डारी

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) मा कमल थापा र निरञ्जन थापाको प्रवेशपछि आफूहरू नेपाली कांग्रेसमा प्रवेश गरेको रहस्योद्घाटन पूर्वमन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले गरेका छन्। 

पञ्चायतकालमा मन्त्री भइसकेका तथा झापा कांग्रेसका प्रभावशाली नेता केशवकुमार बुढाथोकीको आत्मसंस्मरण ‘आफ्नो–आफ्नो सगरमाथा’ पुस्तक बिमोचन कार्यक्रममा भण्डारीले २०४६ सालपछि पूर्व पञ्चहरूको छुट्टै पार्टी राप्रपा जन्माउन आफूहरू अहोरात्र खटिएको जानकारी दिए। तर पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले कमल र निरञ्जनलाई पार्टी प्रवेश गराउने निर्णय गरेपछि बुढाथोकी र आफूले एकैसाथ पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेको बताए। 

‘वैकल्पिक प्रजातान्त्रिक फोर्स जन्माउन म, केशवकुमार बुढाथोकी, केशरबहादुर बिष्ट र मुकुन्द बहादुर बस्नेत रातदिन खटेका थियौं। तर,सूर्यबहादुर थापाले कमल थापा र निरञ्जन थापालाई प्रवेश गराउने निर्णय गर्नुभएपछि पार्टीको मण्डलेकरण हुनेभयो भन्दै सँगै राजीनामा गर्यौं,’ उनले मन्तब्यका क्रममा भने। 

पुस्तक बिमोचन कार्यक्रममा भण्डारीले राष्ट्रिय पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा थुप्रै अनुभव बटुलेको जानकारी दिए। उनले यी सबै यात्रामा केशवकुमार बुढाथोकी आफ्नो साथ रहेको स्मरण गराए। 

उनले बुढाथोकी चुप लागेर बस्ने मान्छे नभएको भन्दै थप राजनीतिमा सक्रिय हुन आग्रह गरे। केही वर्षअघि क्यान्सरलाई जितेका ७८ वर्षीय बुढाथोकीको आत्मसंस्मरण शनिबार गौशालास्थित अनमोल फुडल्याण्डमा भब्य कार्यक्रमका बीच बिमोचन गरिएको थियो। पुस्तकको बिमोचन साहित्यकार बैरागी काइला, विष्णुविभु घिमिरेले गरेका थिए। 

केशवकुमार बुढाथोकीको आत्मसंस्मरणको लेखनी साहित्यकार कृष्ण धरावासीले गरेका हुन्। उनले ३ वर्ष लगाएर बुढाथोकीको आत्मसंस्मरणलाई किताबमा उतारेको जानकारी भिडियो कन्फ्रेन्सिङमार्फत अमेरिकाबाट दिए। धरावासी हाल अमेरिकामा छन्। 

 

प्रतिक्रिया