समाचार टिप्पणी

कोइरालाका सिटौला देउवाका विश्वासपात्र

काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला घुम्दैफिर्दै पार्टीको निर्णायक भूमिकामा उत्रिएका छन्। सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन दलवीच सिट अंशबण्डा गर्ने कार्यदलको नेतृत्व सुम्पिएर सिटौलालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन्। कुनैबेला तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाका घनिष्ठ विश्वासपात्र रहेका सिटौलालाई कोइरालाका कट्टर आलोचक देउवाले यस्तो जिम्मेवारी सुम्पिनु आफैंमा रोचक राजनीतिक घटना मानिएको छ।

नेता सिटौला यस्तो जिम्मेवारी पाएपछि निर्वाचन रणनीति निर्माणको केन्द्रमा सक्रिय हुन थालेका छन्। नेपाली कांग्रेसको तेस्रो धार भनेर चिनिने उनको समूह राजनीतिक परिदृश्यमा देखा पर्न छाडेको अवस्थामा सिटौला एकाएक आगामी प्रतिनिधिसभा निर्वाचनको भागबण्डा गर्ने जिम्मेवारीमा देखिएपछि निर्वाचनका टिकटार्थीहरुवीच उनको नाउँ एकाएक प्रिय हुन थालेको छ।

कुनैबेला तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको शयनकक्षसम्म पहुँच बनाएका सिटौलालाई कोइरालाका कट्टर आलोचक रहेका वर्तमान सभापति देउवाले आफ्नो विश्वास पात्रको भूमिका दिएपछि देउवाको शिविरभित्र भने भूकम्प नै भएको छ। आफ्नो वरिपरी फन्को मारेर बसेका कैयौं नेतालाई पन्छाएर सिटौलालाई यसरी जिम्मेवारी दिँदा देउवाको पकड खस्किने उनीहरुको तर्क छ। सिटौलालाई आगामी निर्वाचनमा पाँच दलको गठबन्धनलाई निर्वाचन क्षेत्र भागबण्डा गर्ने कार्यदलको संयोजकको जिम्मेवारी दिएर देउवाले राजनीतिमा कोही स्थायी शत्रु र कोही स्थायी मित्र हुँदैनन् भन्ने सन्देश पनि दिएका छन्।

नेपाली कांग्रेसका वौध्दिक नेता चक्रप्रसाद बाँस्तोलालाई पन्छाएर अचानक सिटौलालाई आफ्नो शयनकक्षसम्मको पहुँच दिएर गिरिजाप्रसाद कोइरालाले पार्टी र पार्टी इतर राजनीतिक समुदायमा ठूलै तरंग ल्याएका थिए। संघर्षको कठोर कालखण्डका सहयात्री चक्र बाँस्तोलालाई किनारा लगाएर झापाकै कृष्ण सिटौलालाई आफ्नो निकटतम सहयोगी बनाएर कोइरालाले राजनीतिको वजन घटाएको भनेर चर्को आलोचना पनि नभएको होइन। ओझेल पारिएकै अवस्थामा लामो समय कोमामा रहेर बाँस्तोलाले जीवन गुमाएका थिए।

कोइरालाको समयमा पार्टी र सरकारमा हालिमुहाली बनाईसकेका सिटौलाले अहिले पाएको जिम्मेवारीले उनको आफ्नै निर्वाचन क्षेत्रमा कुनै फरक नपर्ने बताईन्छ। गएको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनसँग पराजीत भएका सिटौला यसपटक यही क्षेत्रबाट जितेर प्रतिनिधिसभा सदस्य बन्न चाहन्छन्। गएको निर्वाचनमा नेकपा एमालेले राजेन्द्र लिङदेनलाई सहयोग गर्दा सिटौला रोकिएका थिए। यसपटक पनि यही नियति दोहोरिन सक्ने आँकलन गरिँदैछ। तर एमाले र राप्रपाको निर्वाचन तालमेलबारे कुनै निर्णय नभइसकेको अवस्थामा पनि सिटौलालाई सजिलो भने नहुने बुझिएको छ।

आउँदो मंसिरमा हुने निर्वाचनका लागि सत्ता गठबन्धन दलबीच सिट बाँडफाँट गर्ने कार्यदलको संयोजकको भूमिका पाएका सिटौलाले देशभरीकै राजनीतिलाई प्रभावित पार्न सक्छन् तर त्यो प्रभावले झापा ३ लाई भने कति तरंगित गर्न सक्छ भन्नेमा स्थानीय कांग्रेसजन नै अलमलमा देखिन्छन्।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका ५ दल मिलेर जाने निर्णय गरेका छन्। सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई सिट बाँडफाँटको काम सकेसम्म छिटो सक्न निर्देशन दिईएको छ। कार्यदलले भदौ पहिलो साताभित्र कुन दलले कति सिट पाउने भनेर पहिलो रिपोर्ट दिने बताईएको छ।

कार्यदलले टुंग्याउन नसकेका क्षेत्रका भने प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग परामर्श गरेर टुंगो समझदारी बनेको छ। सत्ता गठबन्धन र अरू नेताका लागि सिट सुनिश्चित गर्न रणनीति बनाईरहेका सिटौलाको आफ्नै क्षेत्र झापा क्षेत्र नम्बर ३ भने चुनौतिपूर्ण अवस्थामा छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नै यसपटक पनि सिटौलाका बलिया प्रतिष्पर्धी हुने देखिएको छ। राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरणले सिटौलाविरूद्ध लिङ्देनलाई एमालेले सघाउने चर्चा चलिरहेको छ। २०७४ को चुनावमा सिटौलाले ३१ हजार एक सय ५९ मत ल्याउँदा लिङ्देनले ४४ हजार छ सय १४ मतसहित बिजयी भएका थिए। त्यो बेला लिङदेनलाई एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए।

यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन्। यो गठबन्धनबाट सिटौला साझा उम्मेदवार हुने सम्भावना देखिन्छ। राप्रपा अध्यक्ष लिङ्देनलाई यसपटक पनि एमालेकै समर्थन रहने आँकलन गरिएको छ।

एमाले झापा क्षेत्र नम्बर ३ मा लिङ्देनलाई समर्थन गरेर अन्य क्षेत्रमा राप्रपाको समर्थन लिने रणनीतिमा छ। झापा क्षेत्र नम्बर ५ मा आफ्नो जित सुनिश्चित गर्न एमाले अध्यक्ष केपी ओलीलाई पनि राप्रपाको मत आवश्यक पर्छ। त्यसकारण पनि एमालेले लिङ्देनलाई समर्थन गर्ने बलियो सम्भावना छ।

झापा क्षेत्र नम्बर ३ मा गत स्थानीय चुनावमा कांग्रेसले २१ हजार सात सय ३५ मत ल्याएको थियो। दोस्रोमा एमालेले १७ हजार छ मत ल्याएको थियो। यहाँ लिङ्देनको दल राप्रपा भने तेस्रो शक्ति हो। राप्रपाले स्थानीय चुनावमा झन्डै एमालेकै जति मत ल्याएको छ, १६ हजार ९ सय २७ मत।

माओवादी केन्द्र, जसपा, लोसपालगायत दलले धेरै मत ल्याएका छैनन्। माओवादीले जम्मा चार हजार आठ सय ३५ मत ल्याएको थियो। जसपाले चार सय ७४ र लोसपाले दुई सय ८ मत मात्रै ल्याएका थिए। यहाँ नेकपा एकीकृत समाजवादीले जम्मा १२ मत ल्याएको देखिन्छ।

स्थानीय चुनावमा एमाले र राप्रपाले ल्याएको मत जोड्दा भने झापा ३ मा सिटौलालाई अप्ठेरो पर्ने देखिन्छ। एमाले र राप्रपाको मत जोड्दा ३३ हजार ९ सय ३३ पुग्छ। जबकी सत्ता गठबन्धनको मत जोड्दा २८ हजार हाराहारी देखिन्छ। यसरी सिटौला ५ हजार जति मत पछि देखिन्छन्। यो मत उनले व्यक्तिगत प्रभावको आधारमा तान्नुपर्ने हुन्छ।

सिटौला ०७४ को चुनाव हारेपछि धेरैजसो समय निर्वाचन क्षेत्रमै बिताइरहेका छन्। हाल पार्टीका कुनै जिम्मेवारीमा नरहेका उनी प्रायः झापातिरै हुन्छन्।

प्रतिक्रिया