श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको कार्यभार रनिल विक्रमसिंघेलाई

काठमाडौं। गोटबाया राजपक्षें देश छोडेर भागेपछि श्रीलंकामा कार्यकारी राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमसिंघेले कार्यभार सम्हालेका छन्। 

सभामुख महिन्द्रा यापा अभयवद्र्धनेले शुक्रबार यसको घोषणा गर्दै राजपक्षेंले बिहीबार कानुनी रूपमा राष्ट्रपति पदबाट राजीनामा गरेको जानकारी दिए। 

नयाँ राष्ट्रपति पदको लागि २२ जुलाईमा चुनाव हुँदैछ। श्रीलंकाका प्रधानन्यायाधीस जयन्त जयसूर्याले रनिललाई राष्ट्रपतिको सपथ गराए। उनी अर्को चुनाव नहुँदासम्म प्रधानमन्त्री र राष्ट्रपति दुवै भूमिकामा हुनेछन्। 

सभामुख अभयवद्र्धनेले संसदको बैठक शनिबार बस्ने जानकारी दिए। उनले श्रीलंकाली जनतालाई धैर्यधारण गर्न आवहान गरे। यसबीच निर्वतमान राष्ट्रपति राजपक्षें देश छोडेर माल्दिभ्स पुगेका थिए। तर, माल्दिभ्समा रहेका श्रीलंकाली नागरिकले उनको चर्को विरोध गरेपछि उनी साउदी एयरलाइन्सको विमानद्धारा बिहीबार साँझ सिङ्गापुर पुगेको खबर छ। उनीसँग सिङ्गापुरस्थित चाङ्गी विमानस्थलमा श्रीमती र दुई बडीगार्ड देखा परेको अन्तर्राष्ट्रिय न्युज एजेन्सीले बताएका छन्। राजपक्षेंले विमानस्थलमा श्रीमतीसँग सपिङ गर्दै गरेको फोटो श्रीलंकाबाट प्रकासित हुने डेली मिरर पत्रिकाले छापेको छ।

सिङ्गापुरको विदेश मन्त्रालयले गोटबाया राजपक्षें आफ्नो देशमा आएको कुराको पुष्टी गरेको छ। मन्त्रालयले निजी यात्राका लागि राजपक्षें सिङ्गापुर आएको जानकारी दिएको छ। राजपक्षेंले साउदी अरबमा शरण लिने सम्भावना तिब्र छ। 

गोटबाया राजपक्षें भागेको खबरले राजधानी कोलम्बोमा उद्देलित बनेको भिडलाई नियन्त्रण गर्न सरकारले सेनालाई जिम्मेवारी सुम्पिएको छ। सेनाले राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालयलगायत प्रशासनिक भवनबाट सडकमा निस्किएको भिडलाई हटाइसकेको श्रीलंकाली अखबारहरूले जानकारी दिएका छन्। यस्तै, जनतालाई संसद भवनमा प्रवेश गर्न नदिन भवन अगाडि तोप तैनाथ गरिएको छ।   

प्रतिक्रिया