अमेरिका भाग्ने तयारीमा रहेका श्रीलंकाली राष्ट्रपतिका भाइको योजना असफल 

कोलम्बो। देश छोडेर अमेरिका भाग्ने तयारीमा रहेका श्रीलंकाली राष्ट्रपति गोटबाया राजपक्षेंका भाइ बासिल राजपक्षेंलाई विमान कर्मचारीले फर्काइदिएका छन्। उनले अमेरिका भाग्नका लागि १ करोड १३ लाख श्रीलंकाली रुपैयाँमा ४ वटा बिजनेश क्लासको टिकट बनाएका थिए। 

तर, इमिग्रेसन कर्मचारीले विरोध जनाएपछि सोमबार कोलम्बोस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी फर्किन बाध्य भए। यस्तै, राष्ट्रपति गोटबायाले आफ्नो राजीनामा बरिष्ठ अधिकारीलाई सुम्पिएको श्रीलंकाली समाचार एजेन्सीहरूले बताएका छन्। गोटबायाको राजीनामा बुधबार सभामुख महिन्द्रा यापा अभयवद्र्दनेसमक्ष पेश हुने र यसपछि सार्वजनिक घोषणा हुने बताइएको छ। 

गोटबायाको स्थानमा श्रीलंकाको प्रमुख प्रतिपक्षी पार्टी समागी जाना बालवेगयाका प्रमुख सजित प्रेमदासालाई अन्तरिम राष्ट्रपति नियुक्त गर्ने तयारी भइरहेको छ। विपक्षी पार्टीले सोमबार नै प्रेमदासालाई अन्तरिम राष्ट्रपति पदका लागि मनोनित गरेको थियो। 

श्रीलंकामा राष्ट्रपतिको चुनाव २० जुलाईमा हुँदैछ। यसअघि नै गोटबायाले १३ जुलाईमा राजीनामा गर्ने र १५ जुलाईमा संसदको विशेष सत्र बोलाउने तयारी भइरहेको छ।   

यसअघि राष्ट्रपति गोटबाया देश छोडेर भाग्ने तयारी भइरहेको बताइएको थियो। तर, सभामुख महिन्द्राले यसको खण्डन गरेका छन्। 

अहिले पनि श्रीलंकाको आर्थिक अवस्था सोचे जस्तो सुधारोन्मुख छैन। केन्द्रिय बैंकका गर्भनर नन्दलाल वीरसिंघेले चेतावनी दिँदै भनेका छन्, ‘राजनीतिक स्थिरता भएन भने अन्तर्राष्ट्रिय मुद्रा कोषले बेलआउट प्याकेज तोकिएको समयमा उपलब्ध गराउन असफल हुनेछ।’
श्रीलंकामा सर्वदलीय सरकार निर्माण भएपछि विक्रमसिंघे सरकारका मन्त्रीहरूले पनि राजीनामा गर्ने पक्का भएको छ। 

अहिले पनि श्रीलंकामा एम्बुलेन्स सञ्चालन गर्न सरकारसँग डिजेल–पेट्रोलको अभाव छ। एम्बुलेन्स सर्भिसहरूले आम नागरिकसँग आफूहरूलाई फोन नगर्न अनुरोध गरेका छन्। उनीहरूले कुनै पनि सेवा दिन समर्थ नभएको बताएका छन्। 

प्रतिक्रिया