हत्या गरिएका पूर्व प्रधानमन्त्री आवेको पार्टीलाई जापानमा बहुमत

काठमाडौं। पूर्व जापानी प्रधानमन्त्री सिन्जो आवेको हत्यापछि भएको चुनावमा उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले स्पष्ट बहुमत प्राप्त गरेको छ। सत्तापक्षीय एलडीपी को कोमिटो गठबन्धनले ७६ सिटमा जित हासिल गरेको जापानी मिडियाहरूले जनाएका छन्। 

यसपालिको चुनावमा ५२ दशमलव ०५ प्रतिशत मतदाताले मतदान गरेका थिए, जुन २०१९ को तुलनामा कम भएको बताइएको छ। जितसँगै २ सय ४८ सदस्य भएको माथिल्लो सदनमा एलडीपीसँग १ सय ४६ सिट पुगेको छ। एलडीपीले सन् २०१३ पछि सबैभन्दा राम्रो मत प्राप्त गरेको हो। 

जापान टाइम्सको रिपोर्ट अनुसार जितपछि जापानी प्रधानमन्त्री फुमियो किसिदाले आवेका लागि मौन धारण गरेका थिए। यसपछि उनले मिडियासँग भने, ‘हिंसाले हामीले अभ्यास गरिरहेको प्रजातन्त्रको पिलर र चुनावी प्रक्रियालाई हल्लाउन खोजेको थियो। तर, म चुनावको पूर्ण तयारीमा थिए।’ 

पछिल्लो नतिजासँगै किसिदाको प्रधानमन्त्री पद तीन वर्षका लागि थप बलियो भएको छ। उनले अब आफ्नो योजना ढुक्क भएर अगाडि बढाउन सक्ने छन्। कोरोना महामारी र युक्रेन युद्धले बढ्दै गएको महंगी नियन्त्रण र आवेको हत्यापछि देखिएको राष्ट्रिय सुरक्षा किसिदाको सबैभन्दा ठूलो चुनौति हो।

जापानी प्रधानमन्त्रीले जितपछिको पहिलो सम्बोधनमा भने, ‘हाम्रो नयाँ आर्थिक मोडलको उद्देश्य अर्थव्यवस्थालाई पुनः लिकमा ल्याउने हुनेछ। कुटनीति, सुरक्षा तथा संवैधानिक संसोधनको हरेक पक्षलाई निरन्तरता दिने पनि हाम्रो काम हुनेछ।’ 

चुनावभन्दा तीन दिनअघि चुनावी प्रचारका क्रममा जापानको नारा शहरमा पूर्व प्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको थियो। यो घटनामा उनले ज्यान गुमाउनु पर्यो। अहिले पनि जापानको राष्ट्रिय प्रहरीको प्रिमियम अनुसन्धान आयोगले आवेको हत्याको विषयमा छानवीन गरिरहेको छ। 

प्रतिक्रिया