व्यक्तित्व

पहिलो नेपाली ‘एनालग एस्ट्रोनट’ ज्योति भन्छिन्– ‘नासाको अन्तरिक्षयात्री बन्न चाहन्छु’

–छत्र कार्की

शुक्रबार साँझ दाङ, राप्ती गाउँपालिका–१, भालुवाङ घर भई अमेरिका बस्दै आएकी ज्योति केसीले फेसबुकमा लेखेको एउटा स्टाटसले सबैको ध्यान आकृष्ट भयो । अंग्रेजीमा लेखिएकी उक्त स्टाटसमा ज्योतिले भर्खरै अन्तरिक्षसम्बन्धी ‘एनालग एस्ट्रोनट’ तालिम पूरा गरेर आधिकारिक रुपमा प्रमाणपत्र लिइसकेको उल्लेख गरेकी थिइन् । 

अन्तरिक्षयात्री बन्नका लागि मार्गप्रशस्त गर्ने यो तालिम लिने ज्योति पहिलो नेपाली हुन् । ‘पोल्यान्डस्थित लुनारेस रिसर्चमा दुई हप्तासम्म यो तालिम चलेको थियो, लुनारेसले दिएको जानकारी अनुसार यस्तो तालिममा सहभागी हुने म पहिलो नेपाली–अमेरिकन हुँ,’ अमेरिकन एयरफोर्समा कार्यरत उनले लेखेकी छन् ।    

शनिबार बिहान टेलिफोन सम्पर्क गर्दा उनी परिवारका साथमा दाङ, भालुवाङस्थित घरमा थिइन् । आफूले गरेको कामको बढी प्रचार होस् भन्ने चाहना उनलाई छैन । ‘मेरोबारे भन्दा पनि कामको बारेमा हाइलाइट गरिदिनुहोला, मलाई प्रचारप्रसारमा आउन त्यति मन पर्दैन । मैले यो तालिम सकिएको निक्कै दिनपछि मात्र फोटो पोस्ट गरेकी हुँ,’ शालीनतासाथ उनले भनिन् ।    

सानैदेखि जीवनको लक्ष्य अन्तरिक्ष यात्री बन्ने रहेको र यो तालिमपछि त्यसका लागि बाटो खुलेकोमा उनी खुसी छन् । कडा मेहनतसाथ आफ्नो लक्ष्य पूरा गरेर छाड्ने उनको अठोट छ । ‘नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा रकेट साइन्टिस्ट बन्ने दृढ लक्ष्य छ । जेजति तालिम र पढाइ गरिरहेको छु, त्यसकै लागि हो,’ उनले लक्ष्य सुनाइन् । अहिले उनी युनिभर्सिटी अफ टेक्सस, अर्लिङटनमा एरोस्पेस र मेकानिकल इन्जिनियरिङमा मास्टर्स डिग्री गरिरहेकी छन् ।   

1


अमेरिकन एयरफोर्समा ‘करिअर’!
पाँच वर्षअघि अमेरिका पुगेपछि उनलाई ‘करिअर’ छनोट गर्ने विकल्प खुला भयो । अमेरिका पुगेको साढे दुई महिनादेखि नै उनले अमेरिकी एयरफोर्सका लागि तयारी गरिन् । तर, त्यस क्रममा सानातिना व्यवधान खडा भए ।

‘एयरफोर्सका लागि मेरो तौल पुगेन । नेपालबाट भर्खर गएकाले सेक्युरिटी क्लियरेन्स गर्नुप¥यो । नयाँ भएकाले किन एयरफोर्समा ज्वाइन गर्न लागेको ? कसरी थाहा भयो भन्ने प्रश्न पनि आयो,’ उनी स्मरण गर्छिन् । पहिलो चोटी उनको आवेदन ‘डिस्क्वालिफाइ’ भयो । दोस्रो प्रयत्नमा मात्र उनी सफल भइन् त्यसपछि मात्र उनी एयरफोर्समा छनोट भइन् । यी सबै चरण पार गरेर जागिर खान उनलाई १३ महिनाजति लाग्यो ।

 एयरफोर्समा उनले काम थालेको पनि साढे तीन वर्ष बितिसकेको छ । एयरफोर्समा काम थालेको केही महिनापछि कोभिड–१९ महामारी सुरु भयो । त्यसबेला उनले ९ महिनाजति टेक्ससमा बसेर बिरामीलाई औषधि दिने, उपचारमा मद्दत गर्ने, भ्याक्सिन लगाइदिनेलगायत काम गरिन् । त्यही बेला उनले कम्युनिटी कलेजमा अध्ययनलाई पनि जारी राखिन् ।

त्यसपछि उनी एयरफोर्सको आफ्नै युनिटमा फर्किइन् । त्यसपछि पढाइमा अझै केन्द्रित भइन् ।

 एउटै पेसा भए पनि त्यहाँ कार्यरत व्यक्तिहरुको फरक–फरक उद्देश्य हुन्छ । ज्योतिले एयरफोर्समै काम गर्ने उनीजस्तै अन्तरिक्ष विज्ञानमा अभिरुचि राख्ने साथीहरुबाट ‘एनालग एस्ट्रोनट’सम्बन्धी तालिमबारे थाहा पाइन् । उनले आफैंले सर्च गरेर भरमग्दुर जानकारी लिइन् ।

तालिममा सहभागी हुन उनलाई एयरफोर्सबाट अनुमति चाहिन्थ्यो । एयरफोर्सको आफ्नो युनिटमा कुरा राखेँ । त्यहाँबाट अनुमति पाएपछि तालिमका लागि आवेदन दिएँ । छनोट प्रक्रिया विशेष खालको थियो । अन्तर्वार्तालगायत मैले सबै परीक्षा पास गरेपछि ‘एनालग एस्ट्रोनट’ तालिमका लागि छानिएँ,’ उनी सुनाउँछिन् । एयरफोर्सको बलियो पृष्ठभूमिले छनोटमा निक्कै मद्दत गरेको उनको अनुभव छ । फोर्समै रहेका अन्य साथीहरुले पनि यो तालिम गरिसकेकाले उनीहरुसँग गरेको अन्तक्र्रियाले ज्योतिलाई अन्तर्वार्ता तयारीका क्रममा धेरै सजिलो भयो । 
 
पोल्यान्डमा सन् २०२२, मे २५ देखि दुई हप्तासम्म उक्त तालिम भएको थियो । एयरफोर्सको अनुभव, लिडरसिप र कार्यक्षमताका कारण उनी सबैभन्दा उत्कृष्ट घोषित भएकी थिइन् । त्यसैले उनलाई उक्त टोलीको कमान्डरको भूमिका दिइएको थियो । उनको पाँचजना ‘क्रु मेम्बर’मध्ये तीनजना पोल्यान्ड र एकजना मेक्सिकोका थिए । ती सबैको शैक्षिक पृष्ठभूमि इन्जिनियरिङ नै थियो । यो तालिम दिने संस्था चाहिँ लुनारेस रिसर्च सेन्टर हो, जसले पोल्यान्ड, इजरायललगायत विश्वका विभिन्न देशहरुमा तालिम दिन्छ ।  

उक्त अन्तर्राष्ट्रिय तालिममा सहभागी हुन अमेरिकी नागरिक नै हुनुपर्छ भन्ने छैन । योग्यता पुग्यो  भने कुनै पनि देशको नागरिकले आवेदन दिन पाउन सक्छन् । 

13

के हो ‘एनालग एस्ट्रोनट’ ?
अन्तरिक्ष यात्री बन्नुभन्दा पहिले स्पेसक्राप्टभित्र बसेर तालिम लिइसकेको व्यक्तिलाई ‘एनालग एस्ट्रोनट’ भनिन्छ । छनोट भएका सहभागीले अभ्यासकर्ता ‘एस्ट्रोनट’ का रुपमा ‘स्पेसक्राप्ट’भित्र गएर ‘रिसर्च’ गर्छन् भने मिसन कन्ट्रोलले ती ‘एस्ट्रोनस्ट’हरुमाथि निगरानी राख्छ । ती सहभागीले कसरी काम गर्छन् भनी अवलोकन गरिन्छ । यसमा सानो आकारको आइसोलेटेड स्पेसक्राप्ट हुन्छ । त्यहाँ झ्यालढोका केही खुला हुँदैन । घाम अनि उज्यालो पनि केही देख्न पाइँदैन । दुई हप्तासम्म त्यहीको बन्द वातावरणमा प्रशिक्षार्थीहरुलाई तालिम दिइन्छ ।

त्यहाँभित्र रहेका ‘क्रु मेम्बर’हरुलाई आ–आफ्नै भूमिका दिइएको हुन्छ । तालिम अवधिभर सामाजिक सञ्जाल, मोबाइल आदि प्रयोग गर्न दिइँदैन । कोहीसँग पनि अन्तक्र्रिया र कुराकानी गर्न अनुमति हुँदैन । ‘दिनहुँ मिसन कन्ट्रोलसँग भिडियो कन्फेरेन्सबाट छलफल हुन्थ्यो, म टिमको कमान्डर भएकाले दैनिक सबैजनाको व्यक्तिगत रिपोर्ट दिनुपथ्र्यो,’ उनी सम्झिन्छन् । 

तालिममा रहेका बेला ज्योतिले मिसन कन्ट्रोलका स्टाफहरुसँग कुरा गरेकी थिइन् । आफू जन्मेहुर्केको अनि ब्याचलरसम्म पढेको देश नेपाल रहेको र नेपालका नागरिकले यो तालिमका लागि आवेदन दिन पाउने हुन कि होइनन् भनी उनले जिज्ञासा राखिन् । कन्ट्रोलका स्टाफहरुलाई नेपाल भन्ने देश थाहा नै रहेनछ, सुरुमा उनीहरुले अचम्म माने ।  पछि इन्डिया र चाइनाको बीचमा रहेको देश भनी उनले बुझाएकी थिइन् । ‘योग्यता पुगेपछि विश्वभरिका नागरिकले एनालग एस्ट्रोनटका लागि आवेदन दिन मिल्ने जानकारी दिए,’ उनी बताउँछिन् । 

9

‘एनालग एस्ट्रोनट’पछि के ?
‘एनालग एस्ट्रोनट’ अन्तरिक्षयात्री बन्नका लागि पहिलो चरणको तालिम हो । ‘एस्ट्रोनट’ बन्नका लागि अझै धेरै कुरामा ‘क्वालिफाइड’ हुनुपर्ने ज्योतिको भनाइ छ । ‘जसरी कलेज वा युनिभर्सिटीमा ‘अप्लाइ’ गर्नका लागि कक्षा १२ सम्मको पढाइ पूरा गर्नु अनिवार्य हुन्छ, त्यसरी नै ‘एस्ट्रोनट’ बन्न चाहने व्यक्तिहरुले यो तालिम लिनै पर्ने हुन्छ,’ उनी स्पष्ट पार्छिन्, ‘कतिपय मिडियाले नबुझेर ज्योति अन्तरिक्षमै पुगेर आइन् भनेर पनि लेखे, तर, वास्तवमा त्यो चाहिँ होइन । मिडियामा आफ्नो बुझाइअनुसारको लेखाइ हुँदो रहेछ ।’ यो तालिमले आफ्ना लागि ‘एस्ट्रोनट’ बन्नका लागि अगाडिको ढोका खोलेको उनले जनाइन् । 

शिक्षक हुनका लागि आवश्यक योग्यताका साथै शिक्षण सीपका तालिम आवश्यक भएजस्तै ‘एस्ट्रोनट’ बन्नका लागि चाहिने विभिन्न तालिममध्ये ‘एनालग एस्ट्रोनट’ प्रारम्भिक तालिम भएको उनको बुझाइ छ । आफूले एस्ट्रोनट कसरी बन्ने भनी आधारभूत ज्ञानका लागि ‘एनालग एस्ट्रोनट’को अध्ययन गरेको र त्यसले आफूलाई उत्साही बनाएको उनको धारणा छ ।

स्कुलदेखि नै अन्तरिक्ष विज्ञानमा रुचि
ज्योतिका अनुसार उनलाई स्कुल पढ्दादेखि नै अन्तरिक्ष विज्ञानमा बढी चासो हुन्थ्यो । उनलाई डिस्कभरीलगायत च्यानलमा अन्तरिक्षमा रकेट प्रक्षेपणलगायत कार्यक्रममा बढी दिलचस्पी हुन्थ्यो । यी कार्यक्रमहरु हेरिसकेपछि उनलाई रकेट र यानहरु कसरी निर्माण हुन्छन्, अन्तरिक्षमा कसरी पठाइन्छ ? किन नेपालले यानहरु बनाउन सक्दैन ? लगायत विभिन्न प्रश्नहरु आउने गर्थे । 

उनले दाङको मुनलाइट सेकेन्डरी स्कुल, लालमटियाबाट एसएलसी र बुटवलबाट साइन्समा प्लस टु सिध्याएकी हुन् । बुटवलको मणिमुकुन्द कलेजमा ब्याचलर पढ्दापढ्दै उनी अमेरिका गएकी हुन् । यसपटकको नेपाल बसाइका क्रममा आफू पढेको मुनलाइट सेकेन्डरी स्कुलमा गएर विद्यार्थीहरुलाई अनुभव सुनाउने उनको योजना छ । 

17

मध्यम वर्गीय परिवार
दाङको भालुवाङमा मध्यम वर्गीय परिवारमा ज्योतिको जन्म भएको हो । उनका बुबा नरबहादुर केसी सामाजिक काममा सक्रिय छन् भने आमा गृहिणी । पाँच दिदीबहिनी र दुई भाइहरुमध्ये उनी परिवारकी कान्छी छोरी हुन् । 

उनलाई सानैदेखि बुबाले अन्तरिक्षको क्षेत्रमा केही गर्नुपर्छ भनेर प्रोत्साहित गर्ने गर्दथे । बुबाले उनलाई सानो उमेरमा ‘कल्पना चावला’ भनी बोलाउने गर्थे । चावलाको जीवनीको बारेमा लेखिएको किताब ल्याइदिएका थिए उनका बुबाले । भारतको कर्नाल जन्मिएकी कल्पना अन्तरिक्षमा पुग्ने पहिलो भारतीय महिला हुन् ।  ब्याचलरसम्मको अध्ययन भारतमा गरेर मास्टर्स डिग्री गर्न अमेरिका गएकी थिइन् । कठोर संघर्षबाट सन् १९९७ मा अन्तरिक्ष यात्री बनेकी चावलाको सन् २००३ मा मृत्यु भएको थियो । विभिन्न अन्तरिक्षयात्रीहरुको जीवनी पढ्दा आफूलाई प्रेरणा मिल्ने गरेको उनको अनुभव छ । 

छोरीको प्रगतिबाट आफू अत्यन्त खुसी भएको बुबा नरबहादुर केसी बताउँछन् । ‘मैले ज्योतिलाई कक्षा १२ सम्म पढाउनको लागि व्यवस्था मिलाइदिएँ, त्यसपछि उनी आफैंले मेहनत गरेर अमेरिकाको एयरफोर्समा जागिर खाइन्, अन्तरिक्षसम्बन्धी पढाइ पूरा गरिन् । हामी हर्षित छौं,’ उनी भन्छन् । बुबाआमाको प्रेरणाले अहिलेको ठाउँमा पुगेको ज्योतिको भनाइ छ ।  

अमेरिका गएपछि उनलाई नियमित गाइड र भरथेग गर्ने कोही पनि थिएनन् । उनले विश्वभरिका ‘एस्ट्रोनट’हरुको प्रोफाइल हेर्थिन् । प्रायःजसो ‘एस्ट्रोनट’हरु मिलिटरी पृष्ठभूमिका रहेका थिए । त्यही भएर पनि ‘एस्ट्रोनट’ बन्ने आफ्नो लक्ष्यलाई मद्दत पुगोस् भन्ने उद्देश्यले उनले अमेरिकन एयरफोर्समा जागिर खाने निधो गरेकी हुन् । 
 
‘अमेरिका गइसकेपछि पनि मैले आफ्नै प्रयत्न, हिम्मत र आँटबाट एयरफोर्समा जागिर खाएँ, त्यसपछि निरन्तर चासो र खोजी गर्दै जाँदा मेरो यात्रा ‘एनालग एस्ट्रोनट’सम्म पुगेको छ,’ उनी भन्छिन् । भविष्यमा नासाको ‘एस्ट्रोनट’ बनेर अन्तरिक्षमा जाने उनको सपना छ । हरेक वर्ष ३०–४० हजार व्यक्तिहरुले ‘एस्ट्रोनट’ बन्नका लागि आवेदन दिइरहेका हुन्छन् ।

सानैदेखि जिज्ञासु, मेहनती र केही गर्नुपर्छ भन्ने उत्साह र उमंग मनमा लिएकी ज्योति एयरफोर्समा आफ्नो युनिटको पहिलो नम्बरमा रहेकी छन् । त्यही भएर पनि रसियन–युक्रेन युद्घको बेलामा पनि उनलाई एयरफोर्सबाट ‘एनालग एस्ट्रोनट’का लागि सिफारिस हुन सजिलो भएको थियो ।

आफूले अहिलेसम्म जीवनमा कुनै काम सजिलो हो कि गाह्रो हो भनेर कहिल्यै नसोचेको उनी बताउँछिन् । ‘कुनै काम कसरी गर्ने भन्ने योजना र रणनीतिबारे सोच्ने गर्छु, म गर्न सक्दिनँ होला भावना कहिल्यै लिन्न ।’ यही आँट, हिम्मत र सिर्जनशील सोचले उनी अहिलेको स्थानमा पुगेकी हुन् ।

एयरफोर्सभित्र ‘टिमवर्क’ हुन्छ र जहिल्यै पनि कुनै काम गर्दा ‘हामी’को भावना हुने भएकाले आत्मविश्वास जगाउन त्यसले पनि सहयोगको गरेको उनको आँकलन छ । ‘टिमभित्र एकअर्कालाई उत्प्रेरित गर्ने वातावरण हुन्छ, एकआपसमा मिलेर जस्तो काम गर्न सकिन्छ भन्ने ‘स्प्रिट’ हुन्छ,’ उनी भन्छिन् ।
अबका योजना
पोल्यान्डको लुनारेस रिसर्च स्टेसनबाट ‘एनालग एस्ट्रोनट’को तालिम पूरा गरेकी ज्योतिलाई फेरि यो तालिम अमेरिकाबाटै पनि लिने इच्छा छ । आफ्नो पढाइ पूरा गर्ने सोच छ । नेपालमा रहँदा पनि अनलाइनबाट उनले पढाइलाई निरन्तरता दिइरहेकी छन् । 

उनले नासाको ‘एस्ट्रोनट’ बन्ने लक्ष्यलाई केन्द्रित गरेर काम गरिरहेको उनले सुनाइन् । कुनै क्षेत्रमा स्थापित भएर काम गर्नका लागि सबैभन्दा पहिले हरेक व्यक्तिले आफ्नो सामथ्र्य चिनेर दृढ इच्छाशक्तिसाथ लाग्नुपर्ने उनको सुझाव छ । ‘हरेक क्षेत्रमा जो–जो मानिस माथिल्लो स्तरमा पुगेका छन्, उनीहरु आफ्नै लगनशीलता, आँट  र निरन्तरताले गर्दा नै त्यहाँ पुगेका हुन् । यसलाई मूल मन्त्रका रुपमा आत्मसात गर्नुपर्छ,’ उनी भन्छिन् ।        

10
 


 

    
 
     

  

  
 

    
 
         

     

  


  
 
   


 

प्रतिक्रिया