चिनियाँ राष्ट्रपतिको आश्वासन, ‘हङकङमा चिनियाँ नीति थोपरिने छैन’

हङकङ। चीनले शासन गर्न थालेको २५ वर्ष पुरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सी चिङफिङले हङकङको भ्रमण गरेका छन्। हङकङमा आयोजित २५ औं बर्षगाढ समारोहको दुई दिने कार्यक्रमको समापनमा चिङफिङले स्थानीयवासीलाई सम्बोधन गरेका थिए। 

उनले यस अवसरमा एउटै देशमा चलिरहेको दुई वटा व्यवस्थालाई परिवर्तन गर्न आवश्यक नरहेको भन्दै हङकङवासीलाई आश्वास्त पार्न खोजेका छन्। सन् २०१९ मा चीनले हङकङमा चिनियाँ मेनल्याण्डकै व्यवस्था थोपर्न खोजेको भन्दै यसको कडा विरोध भएको थियो। चीनले यो कार्यलाई पश्चिमा उक्साहट भन्दै कडा रवैया अपनाउन खोजेको थियो। तर, यति नै बेला कोरोना संक्रमण चीन हुँदै विश्वव्यापी बनेपछि हङकङमा भइरहेको चीन विरोधी प्रदर्शन मत्थर भएर गएको थियो। 

कोरोनाकाल पछि पहिलो पल्ट हङकङको भ्रमण गरेका चिनियाँ राष्ट्रपतिले हङकङवासीलाई आश्वस्त पार्दै भने, ‘वर्षभरी चलेको राजनीतिक उथल–पुथलपछि पनि यहाँ लोकतन्त्रको सुगन्ध फैलिएको छ। एक देश, दुई व्यवस्था परिवर्तनको आवश्यकता छैन। यसलाई निरन्तता दिनुपर्छ।’

सन् १९९७ मा बेलायतले हङकङ छोडेर गएदेखि नै यहाँ कुन व्यवस्था कायम गर्ने भन्ने विवाद छ। चीन यहाँ चिनियाँ कम्युनिस्ट पार्टीकै सर्तमा राज्य व्यवस्था सञ्चालन गर्न चाहन्छ। तर, लामो समय बेलायतको अधिनमा बसेर पश्चिमा लोकतन्त्रको अभ्यास गरिसकेका यहाँका जनताहरू चिनियाँ कम्युनिस्ट पार्टीको अधिनमा रहेर मेनल्याण्डको राज्य व्यवस्था अपनाउन अस्विकार गर्दै आइरहेका छन्। 

चीन अहिले ताइवानलाई आफ्नो अधिनमा ल्याउने अभियानमा छ। यस्तो अवस्थामा राष्ट्रपति चिङफिङको भनाई ‘हङकङमा कुन व्यवस्था लागू गर्ने भनेर अनावश्यक विवादमा चीन पर्न नचाहेको’ रूपमा व्याख्या गर्न थालिएको छ।  

यस अवसरमा शुक्रबार जोन लीले हङकङको विशेष एडमिनिस्ट्रेटिभ रिजन प्रमुखको सपथ लिएका छन्। उनी हङकङका विशेष एडमिनिस्ट्रेटिभको कार्यकारी अधिकारीको सपथ लिने छैटौं व्यक्ति हुन्। 
चिङफिङले भने, ‘सत्ता सधै देशभक्तहरूको हातमा हुनुपर्छ। गद्धारको हातमा होइन। चीनले सधै हङकङको उन्नतीको पक्षमा मात्र काम गर्यो।’

चीनले सन् २००० मा हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको थियो। यसको वृहत विरोध भएको थियो। तर, चीन विरोधलाई दबाउन सफल रहयो। हङकङमा पहिले जस्तो लोकतन्त्र हुनुपर्ने अडानमा रहेका थुप्रै नेताहरूले कि देश छोडेर अन्यत्र जानु परेको छ, वा उनीहरू जेलमा छन्। 

कोरोना संक्रमणलाई दृष्टिगत गर्दै यसपालि चिङफिङको भ्रमणमा निकै सतर्कता अपनाइएको थियो। कार्यक्रमको मिडिया कभरेजमा कडाईं गरिएको थियो। सरकारी मिडियाले मात्र कार्यक्रम प्रसारित गरेका थिए। चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर शहरको सुरक्षा व्यवस्थालाई कडा बनाइएको थियो। कुनै किसिमको विरोध प्रदर्शन नहोस् भनेर शहरको चारैतर्फ सेना र प्रहरी तैनाथ गरिएको थियो। प्रहरीले संदिग्ध ९ जनालाई पक्राउ गरेको थियो। 
 

प्रतिक्रिया