दरबार हत्याकाण्डको पूर्व संकेत पाएका ज्योतिष को थिए?

गिरिजाप्रसाद कोईराला २०५० सालमा प्रधानमन्त्री छँदा उनकै पार्टी नेपाली कांग्रेसका सांसदहरू फुटेर मध्यावधि चुनाव घोषणा भएको थियो। त्यसपछि मैले राजनीतिक भविष्यवाणी गरेको थिएँ। संहिता ज्योतिष र मेदिनीय ज्योतिषका आधारमा गणना गरेर गुरु देवश्वामीज्यूको आध्यात्मिक कृपा समेत प्राप्त गरेपछि मैले नयाँ सडकमा ठोकेरै भनेको थिएँ कि अब आगामी समयमा लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा पनि नेपालमा प्रधानमन्त्री बन्नेछन्। मेरा साहित्यका मित्रहरूले पञ्चेहरू जनतामा कुनै सांगठनिक  आधार नभएकाले कुनै हालतमा प्रधानमन्त्री हुन सक्दैनन्, ज्योतिष मिल्दैन भनेको अहिले पनि सम्झन्छु म। 

पछिल्लो चरणमा चन्द र थापा दुवै नेता प्रधानमन्त्री बने। एकजना कुनै मित्रले मलाई डायरीमा सहि गराएर लगेर चन्दलाई देखाएको कुरा अझ पनि चन्द सम्झना गर्छन्। त्योबेला कसैले पत्याउने कुरा पनि थिएन र मित्रहरूले मलाई सुझाव दिनु पनि स्वभाविक नै थियोे। सुवास सिटौला र बसन्तमान सिंह  अधिकारी थोरै  आशावादी थिए। साहित्यकार मित्रहरू ललिजन रावल, पुरुषोत्तम सुवेदी, श्यामल अधिकारी, बिमल निभा, स्व नकुल सिलवाल लगायत धेरै मेरा शुभचिन्तक  मित्रहरूले यस्तो कुरा नगर्नुहोस् ज्योतिष मिल्दैन, बेकार हो भनेर सम्झाउने प्रयाश गरेका थिए। तर मैले आफ्नो हठ छाडिन। पछि भविष्यवाणी मिलेपछि उनीहरू सबै आश्चर्यचकित भएका थिए।

वास्तवमा जसलाई ज्योतिष विद्यालाई जिविकोपार्जन गर्ने पेशा बनाएर आर्जन गर्ने मोह हुन्छ, उनीहरू यस्तो भविष्यवाणी गर्दैनन्। भविष्यवाणी पूरा नहोला कि भन्ने भयले उनीहरु सतर्क सहन चाहन्छन्। तर म त स्वतन्त्र ब्यापार ब्यवसायमा लागेको मान्छे मलाई कुनै मोह भएन। त्यसकारण जति पनि भविष्यबाणी गरें, ठोकुवासाथ गरें। परमात्मा, गुरु र आफ्नो इष्ट माथिको विश्वासले होला मेरा भविष्यवाणी सबै पूरा पनि भएका छन्।

पछिल्लो समयमा म लेखहरू दैनिक पत्रिकामा लेख्ने गर्थें। यद्यपि अरु अरु बिषयमा। नेपाल समाचारपत्रका पत्रकार स्वागत नेपालले धेरै मेरा आर्टिकलहरू हप्ताको एउटा छापेर उ बखत गुन लगाएको पनि  म बिर्सन्न। वहाँ धेरै राम्रो मान्छे म भन्दा कान्छो भएकाले सम्वोधन गर्दा आदरपूर्वक उदय दाजु भन्छन् उनी। नाम कमाएर माथि पुगेपछि हेपेर बोल्नेहरू पनि हुन सक्छन् तर वहाँ मिडियामा पत्रकार, कलाकार संयोजक, कार्यक्रम उत्पादकदेखि कवि साहित्यकार अनि हाल राम्रो वकिल हुँदासम्म र अहिले त गणतन्त्र नेपालमा राजनीतिमा छुट्टै धारमा उभिएर पार्टी अध्यक्ष, सामाजिक अभियन्ता हुँदासम्म स्वागत नेपालमा अहंकार मैले देखेको छैन। सायद अरूहरूले पनि यो महसुश गरेका होलान्।

यस्ता मित्रहरू पनि जीवनमा भेटिए भने अर्कातिर आदर्श, मर्यादा र सत्य सबै बिर्सेर हिँड्ने राजनीतिक साथीहरू पनि भेटिए। नाम त नलिउँ सहपाठी मित्रहरू नै ठूलाठूला मन्त्री बने, त्यो उनीहरूको भाग्य पुण्य कर्मको फल होला तसर्थ म नाम लिन चाहँदिन। यद्यपि देश, समाज बदल्न सक्ने ताकतलाई बिगारेकोमा भने सायद त्यो पनि नियति नै होला ठान्छु म। र नै समयले परास्त गर्दै लगेको पनि देखिरहेकै छ।

कस्तो विधा रहेछ ज्योतिष भने नेपालमा चैँ कोठामा लगेर गुरू भनेर खुट्टा समाउने, बाटोमा भेट्ता नचिनेको झैं गर्ने। भारतमा त्यस्तो छैन, उनीहरूमा विद्वतामाथिको श्रद्धा र भक्ति धेरै  छ, चाहे जे होस्। अचम्मको यो विधा रहेछ भनेर मैले अनुभूत गरेको छु। कुन्नि अरूले के महसुश गरेका छन्, त्यो त मलाई थाहा छैन तर मेरो अनुभूति भने त्यस्तै रहेको छ।

हाल मेरो सामाजीक सञ्जालमा थोरै मात्र ज्योतिषी मित्रहरू सम्पर्कमा छन्। डा.लोकराज पौडेल जसले नेपालमा ज्योतिष क्षेत्रलाई एउटा बैज्ञानिक विधा हो भनेर चिनाउन आफ्नो निजी पहलमा नेपालभरिका ज्योतिषी समेट्ने काम गरेका छन्। सार्क राष्ट्रमा समेत नेपाली ज्योतिषीको पहँुच र विद्वता समेट्ने काम उनले २०५४सालदेखि अनवरत रुपमा गर्दै आएका छन्। गणितमा उनको धेरै गहिरोे ज्ञान छ।

यस्तै इत्तर बिषयमा ज्ञान आर्जन गरेर पनि सदैव ज्योतिष र गणित अनि आइटिको क्षेत्र अँगाल्ने रघु ढुंगेल। जो ज्योतिषमा  नाडी ज्योतिष एवं नेपाली सफ्टवेयर समेत निर्माण गर्ने उनले बाघचालको सफ्टवेयरमा स्व.युवराज दीपेन्द्रबाट पुरस्कार समेत प्राप्त गरेका छन्। सदैव आईटिलाई मूल पेशा बनाउने पौडेल एकपटक पञ्चाङ्ग निर्णायक समितिमा सदस्य समेत भए। उनी प्रोफेसनल ज्योतिषी होइनन्। यद्यपि सिक्नेलाई र कसैले जन्म समय दिएर हेर्न आग्रह गरेमा निःशुल्क हेरिदिन्छन्। नजानेको द्विविधाका कुराहरू गणितमा आएमा, नाडी ज्योतिषमा आएमा म पौडेलसँग सोध्छु। नझर्की उनले त्यस बिषयमा बताईदिन्छन्।

यस्तै ज्योतिषलाई पटक्कै पेशा नबनाएर पनि नेपालमा ज्योतिष सम्मेलन समेत गराउने, धेरै पुस्तक किनेर स्वाध्ययन गर्ने कवि तथा कथाकार मित्र कृष्ण प्रसार्इं पनि बिद्वान हु्। कसैले चिन्हा देखाईहाले हेरिदिने तर पैसा नलिने अरू नै ज्योतिषीकहाँ पठाइदिने उनी असल मित्र हुन््।

यी मित्रहरुसँग सामाजीक सञ्जालले नियमित सम्पर्क गराएको छ। 

अरू गणितज्ञ सूर्य ढुंगेल वास्तवमा उनी  माध्यमिक बिद्यालयको प्रधानाध्यापक रहँदारहँदै पनि पञ्चाङ्ग निर्णायक समितिमा लामो समयबाट सेवा गर्दै आउने एक प्रख्यात ज्योतिषी, गुरु कुमार कश्यप साधक र ज्योतिषी, ओजराज लोहनी धेरै आत्मविश्वाश भएका आजीवन ज्योतिषी। यस्तै धेरै मित्रहरू ज्योतिषी छन्। कति साइन्सबाट यता मोडिएका ऐलेका युवा ज्योतिषीहरूको अध्ययन र अनुभूती समेट्ने क्रममा छन्। 

महिला ज्योतिषीहरूमा रमा दवाडी निकै चर्चामा छिन्। यस्तै रमा अधिकारी र प्राध्यापक रोदना घिमिरे यस्तै अरु पनि धेरै छन्। गणित र फलित दुबै बिषयमा बिद्वान ज्योतिषी नासमना भक्तपुरका स्वः मचा जोशी उनको खास नाम भने मलाई ज्ञात भएन तर सबैले त्यही नामबाट उनलाई चिन्दछन्।

उनीसँग २०४५सालमा एकदुई पटकको भेट पछि यो भीडमा होइन हजुर अलि फुर्सदको समयमा भेट पाउँ न भनेर समय मागें। म पनि ज्योतिषमा अलिअलि चाख राख्छु भने पछि उनी बुधबार नहेर्ने भएकोले समय पाएँ। म गएँ, धेरै ज्योतिषीय अनुभूतीहरू सुनाए पछि उनले गुठीको प्रसंग निकाले र भने– ‘अब यो राजालाई पनि प्रधानमन्त्री मरिचमानलाई पनि दशा सुरु भयो। गुठीको जग्गा द्यौताको जग्गा हो, त्यसलाई रैकर गरेर ब्यक्तिको नाममा  गर्न थाल्यो। अब अर्को बर्ष २०४६मा त राजालाई हल्लाउँछ द्योताले राजा कमजोर भयो खै’ भनेका थिए। नभन्दै आन्दोलनले राजालाई संवैधानिक बनायो र बिस्तारै राजसंस्था नै हिँड्यो।

अनि कामरेड रोहित त्यो बेला पञ्चायतले जेल हालेर बन्दी थिए। उनका बिषयमा ‘अर्को  बर्ष छुट्ने, नेपालमा सबै नेताभन्दा माथिल्लो स्तरको नेता बन्ने ठूलो नेता भनेर विश्वले चिन्ने  राजयोग छ उसको’ भनेर भनेको अहिले सम्झँदा सबै मिल्दै आएको देखिन्छ।  
 
एउटा अर्को प्रसंग सम्झन्छु। मेरा आदरणीय गुरूदेव देवस्वामीले २०५७ साल माघमा लोकेन्द्र बहादुर चन्दको बैठक कोठामा राजदरबारको प्रसंगमा गुरुदेवले चन्दलाई भनेका थिए– ‘हेर्नुस् हजुर, म त यो संसारमा बिनाशकै लागि आएको हूँ। अरूले युवराज दीपेन्द्रलाई सम्राट् बन्ने भनेर वकालत गर्छन्। मैले चैँ दरवारमा निकट भविष्यमा गोरखकालीले तन्तनी रगत पिएको देखिरहेको छु।

ऐले पनि पूर्व प्रधानमन्त्री चन्द त्यो प्रसंग सम्झँदै आश्चर्य प्रकट गर्छन भन्छन्– ‘खै वहाँ त के हो के हो?’ 

मेरो दीक्षा प्रदान गर्ने उनी मेरा सद्गुरू मसँग बेलाबेलामा ‘राजा राजा नभनि रहनु, अब नेपालमा धेरै छैन राजदरबार जान्छ’ भनिरहन्थे। तर म मान्दिन थिएँ। आखिर भयो त्यस्तै। ज्योतिषको सामान्य लग्नबाट हेर्ने ज्ञानमात्र हो उहाँमा। गणित होइन तर भनेका कुराहरू सबैलाई मिल्ने। उनको चैँ सायद सिक्ससेन्स वा तेस्रो नेत्रले देख्ने जस्तो लाग्छ मलाई।

यो ज्योतिष त हुँदै होइन तसर्थ साइकिक प्रेडिक्सन, सिद्ध महापुरुषहरूद्वारा गरिने भविष्यवाणी माता पिताहरूले गर्ने भविष्यवाणी, ज्योतिषको न त गणित, नत फलितमा नै पर्छ। यो किसिमको भविष्यवाणी ज्योतिष होइन यद्यपि सर्वसाधारणहरूका बीच  ज्योतिष नै मानिन्छ। अतः नेपालमा धामीझाँक्री, माता, पिताहरूको साइकिक प्रेडिक्सन, सिद्ध महापुरूषहरू जो भविष्यद्रष्टा हुन्छन् अनि ज्योतिषी सबैलाई एउटै डालोमा हालिन्छ। जवकी यसलाई छुट्याउनु पर्ने हो। तर त्यस्तो हुन सकेको छैन।

वैदिक ज्योतिषमा वेदाङ्गको चक्षुका रुपमा लिएको र त्यसका छ अङ्गको विश्लेषण गर्ने ज्योतिषीहरूमा वेदव्यास, वशिष्ठ, गर्ग, पराशरहरू सर्वश्रेष्ठ श्रेणीमा पर्छन्।

संहिताका प्रकाण्ड बिद्वान नारद हुन्। पछिल्लो क्रममा आर्यभट्ट हुन्। उनले पृथ्वी गोलो छ र यसले सूर्यको चक्कर लगाउँछ र प्रत्येक आकाशीय पिण्डहरू आआफ्नो चक्रमा घुमिरहन्छन् भनेर पश्चिमाहरूले भन्दा धेरै अगाडि पत्ता लगाएका हुन्। तथापि सायद हिन्दुहरूसँग आर्थिक स्रोतको अभावले होला हाम्रो वेद, उपनिषद्, ज्योतिष सबै अंग्रेजहरूको कब्जामा परेको होइन भन्न सकिन्न।

इथरमा  हाम्रो पूर्वीय खोजले अनेकन् शक्तिको वर्णन गर्छ, जस्तो बिनाशक अर्थात् एटमिक पावर महाकाली र महादेवको  शक्ति हो, जसका ८४स्वरुप काली र ६४योगिनी अनि दसमहाबिद्याको नाम दिएको छ। तसर्थ परमाणु कैरुप हुन् कालीहरू योगिनीहरू अनि संहार भैरव, उन्मत्त नाम दिएका भैरवहरू। जीवात्माको सोलले शून्यमा कि एटोमिक पावर बनेर रोल खेल्छ कि त! सिर्जनात्मक अर्थात् इलेक्ट्रोन न्युट्रनको रोल खेल्छ।

मात्र भाषाको फरक हो नाम त! तसर्थ हाम्रो पूर्वीय तन्त्रशास्त्र फिजिक्स, क्यामेस्ट्रि लगायत पश्चिमले नामदिएका सबै बिज्ञान र अझ उनीहरूले पत्ता लगाउन बाँकी सबै बिज्ञान हुन्। मात्र भाषा हाम्रो संस्कृत अनि ब्रम्हाण्ड हाँक्ने त्यो शक्तिलाई हामी परमात्मा भन्छौँ। उनीहरू  गड भनी स्वीकार गर्छन्। फरक नामको र भौतिक उपलब्धि अनि धनाढ्यताको मात्र हो । (ज्योतिषी उदय निरौलाको संस्मरण अंश, यसको थप प्रसंग क्रमशः)
 

प्रतिक्रिया