रानी ऐश्वर्यले चिन्हा फेर्न किन मानिनन्?

बीरमणी ढकाल दाजु (नेपाली कांग्रेसका नेता) को मैले गरेको भविष्यवाणी मिलेपछि म निकै गम्भीर बनें। होइन मिल्दो पो रहेछ भन्ने मलाई लाग्यो। यसबाट जहाँ जे पुस्तक भेटे पनि किनिहाल्ने ज्योतिषको। फेरि मेरो नैसर्गिक स्वभाव कस्तो भने कुनै पनि मेरा हविका बिषयका पुस्तक मैले भेटे पछि त्यो रात वा अर्को रात गरेर छिचोल्ने बानी थियो। साहित्य सजिलो, ज्योतिष जटिल एकपट छिचोल्दैमा केही नबुझिने अनि पटकपटक हेरी रहनु पर्ने।

एकपटक मैले ज्योतिष देखाउने क्रममा म पाटन कृष्ण मन्दिर पछाडि रमेश जोशीजीकोमा २०३९ असोजमा डेरा गरिबस्दा नेपालका पुराना राजदरवारका राजज्योतिषी दिव्य मंगल जोशीलाई क्यूमा लागेर चिन्हा देखाएँ। धेरै मानिसको भीड लाग्ने भएकोले दुईचार कुरा गरेर चिन्हा पट्याएर दिने। केही उपाय बताइदिने सबैलाई। यतिमा मेरो चित्त बुझेन। बसाई नजिकै थियो अनि अलि चिनजान बढाए पछि वहाँले राम्रो हेरिदिनु भयो।

वहाँ धेरै बिद्वान हुनुहँदो रहेछ। केही किताब मलाई पढ्न सल्लाह दिनुभयो। भावत्भावम् सिद्धान्त र जातकपारिजातको अध्ययन गर भन्नुभयो। वहाँ निकै भविष्यवाणी मिलाउने ज्योतिषी हो। वहाँले तत्कालिन युवराजाधिराज दीपेन्द्रका बिषयमा मसँग उतिबेला गरेको भविष्यवाणी २०५८ मा मिलेको देख्दा आश्चर्य लागेको थियो। राजदरबारको समाप्ति र दीपेन्द्रलाई लाग्ने अभियोगको बिषयमा दीपेन्द्रका सबै ग्रह पाप युतिमा छन् भनेर कुण्डली बताउनु भएको थियोे। त्यो खालको योगको बिषयमा मैले झण्डै सातबर्ष अध्ययन गरेको थिएँ, जो एकदमै सटिक हुनेरहेछ।

म पाटन क्याम्पसमा बिए अध्ययनको क्रममा दिव्य मंगललाई कुनै भविष्यवाणीकै कारण राजज्योतिषबाट रानी ऐश्वर्यले चिन्हा फेर्न नमानेपछि हटाएर उनका मामा हाम्रा क्याम्पस चिफ मंगलराज जोशी सरलाई धेरैले अघि राजज्योतिष बनाएको रहेछ। वहाँ त झन् आफ्नो क्याम्पस चिफ, मैले वहाँसँग सिक्न खोज्दा ‘अँ, बाहुनहरू पनि अलेलि टिपन हेर्छन्’ भन्नुभयो। मैले तत्काल हाम्रा इलामका प्रख्यात ज्योतिष गजाधर भट्टराईको नामलिँदा ‘अँ उ पनि कोईरालाहरूको ज्योतिषी हो’ भनेर अलि हेपेरै जवाफ दिनु भयो।

मैले यति धेरै गर्व गर्नुमा पक्कै बिद्वान नभई त गरिन्न भनेर वहाँकहाँ जान छाडिन। पछि म पाटन क्याम्पसबाट हाजिरी जवाफ प्रतियोगितामा टोली नेता भए पछि भने वहाँले मलाई पत्याउन थाल्नुभयो र ढोका खुला भयो। मैले वहाँ भूगोल बिषयको ज्ञाता भएकोले केही खगोलको अध्ययन वहाँसँग गरेको थिएँ। होमवर्क चैँ वहाँका आउने मानिसहरूको चिन्हाको गणित गर्न र कम्प्लिट गर्ने लगाउने रफ चैँ। वहाँकै राम्रो अक्षर भएकाले गर्दा साफी उहाँकै अक्षरमा थिए। वहाँले दिएका चिन्हा बनाउने क्रममा मैले गुलिक लग्न, वर्णद लग्न, आधान लग्न, नवांश देखि षोडषबर्गसम्मका गणित भने जानें। खण्डखाद्य चैँ समय पनि भएन र झ्याउ लागेर वहाँसँग गरिन। यद्यपि पनि भविष्यवाणी चैँ खासै गर्ने होइन वहाँ दिव्य मंगल जस्तो।
(ज्योतिष उदय निरौलाको रोचक संस्मरण अझै आउने छ)

 
 

प्रतिक्रिया