भारतमा नेपाली भाषालाई लिएर विवाद, माफी मागे आयोजकले

काठमाडौं। भारतमा नेपाली भाषालाई लिएर विवाद भएको छ। भारतीय महिला सम्मेलन (एआइड्ब्लुसी) नामक गैर–सरकारी संस्थाकी एक सदस्यले नेपाली भाषा ‘गैर– भारतीय भाषा’ भएको भन्दै गोर्खाली समुदायका कलाकारलाई एउटा कार्यक्रममा भाग लिनबाट बञ्चित गरेपछि विवादले जन्म लिएको हो।  

यो घटनामा भारतमा बसोबास गर्दै आएका नेपाली भाषीहरू असन्तुष्ट देखिएका छन्। भारतीय गोरखा युवा परिषद्ले शुक्रबार एउटा विज्ञप्ती सार्वजनिक गर्दै यस विषयमा अदालतको ढोका ढकढकाउने धम्की दिएको छ। 

 

विवाद बढ्न थालेपछि संस्थाले माफी मागेको छ। भारतीय गोरखा युवा परिषद्का अनुसार एआइड्ब्लुसीको कार्यकारी सदस्य चन्द्रप्रभा पाण्डेले पश्चिम बंगालको कालेम्पोङ जिल्लाका कलाकारले ‘आजादी का अमृत महोत्सव’ कार्यक्रमका लागि पठाएको प्रदर्शनलाई ‘गैर–भारतीय भाषा’ भन्दै समावेश गर्न अस्विकार गरेकी थिइन।

गोरखा युवा परिषद्ले यस विषयमा आपत्ति जनाउँदै भनेको छ, ‘उनीहरूले नेपाली भाषामा गीत गाएको र यसलाई राष्ट्रगानका लागि पठाउन नसकिने भन्दै मानमर्दन गरे। अझ नेपाली भाषा भारतको भाषा नभएको भन्दै कार्यक्रममा राख्न नसकिने उर्दी लगाए।’

यसको विरोध हुन थालेपछि एआइड्ब्लुसीले तुरुन्त एउटा टिप्पणी जारी गर्दै आफ्नो सदस्यले राखेको विचारको निन्दा गरेको छ।

संस्थाकी अध्यक्ष शीला करकडेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हामी एआइड्ब्लुसीकी सदस्यले देखाएको अज्ञानताको कडा शब्दमा विरोध गर्छौ। संस्थाका सबै सदस्यको तर्फबाट हामी आफ्ना प्रिय गोर्खाली भाइहरूसँग बिना सर्त माफी माग्छौं।’

दार्जीलिङका सांसद राजु बिष्टले पनि चन्द्रप्रभा पाण्डेद्धारा हस्तलिखित माफीलाई सार्वजनिक गरेका छन्। उनले भनेका छन्, ‘विगतमा यस्ता खाले अपमानजनक बयानलाई कसैले चुनौती दिँदैन्थे। जसका कारण हाम्रा मानिसहरू बारम्बार नस्लवादी भेदभावको शिकार हुने गर्थे। यस्तो कार्य अब क्षम्य हुने छैन।’
 

प्रतिक्रिया