‘बर्थडे ब्वाई नवयुगको कप्तानीमा आज जोर्डनविरूद्ध नेपालको अग्नी परीक्षा

राष्ट्रिय टोलीको नयाँ स्वरुप र ‘बर्थडे ब्वाई नवयुग श्रेष्ठको डेब्यु कप्तानीमा नेपालको फुटबल टोली एसिया कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा आफूभन्दा निकै बलियो प्रतिस्पर्धी जोर्डनसँग आज प्रतिस्पर्धा गर्दैछ। कुवेतको गर्मीमा जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार बुधबार राति १ बजे खेल सुरु हुँदा प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीको पनि अग्नि परीक्षा सुरू हुनेछ। 

आफूविरूद्ध मोर्चाबन्दी गरेका राष्ट्रिय टोलीका १० खेलाडीलाई टिम बाहिर राख्दै अल–मुताइरी छनोट खेल्न कतार हुँदै कुवेत पुगेका थिए। नेपालले यसपालि छनोटमा जोर्डनसँगै घरेलु कुवेत र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय टोलीका १० अनुभवी खेलाडीलाई बाहिर राखेर नयाँ खेलाडीलाई मौका दिएका अल–मुताइरीले यसपालि कस्तो नतिजा निकाल्छन्, यसले राष्ट्रिय टोलीमा उनको भविस्य निर्धारण हुनेछ। 

जोर्डन नेपालको लागि नयाँ प्रतिद्वन्द्वी होइन। यसअघि ४ पल्ट यो टोलीले एक–आपसमा प्रतिस्पर्धा गरिसकेका छन्। जसमा जोर्डन ३ पल्ट विजयी भएको छ भने नेपालले एक खेल बराबरीमा राख्न सफल भएको थियो। नेपालले सबैभन्दा पहिले सन् २०११ मा विश्वकप छनोट अन्तर्गत जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। यतिबेला पहिलो लेगको खेलमा नेपाल ०–९ गोलले पराजित रह्यो। काठमाडौंमा भएको दोस्रो लेगको खेलमा नेपालले १–१ को बराबरीमा जोर्डनलाई रोकेको थियो। 

त्यसयता दुई खेलमा जोर्डन हाबी हुँदै आएको छ। सन् २०१९ विश्वकप छनोट चरणकै खेलमा नेपाल ३–० ले पराजित भयो। छनोटको अर्को खेलमा पनि उही गोल अन्तरले पराजित भएको थियो। फिफा वरीयतामा जोर्डन हाल ९१औं स्थानमा छ। नेपालको समूह ‘ए’ मा रहेको यो टोली समूहकै बलियो टिम मानिन्छ। 

जोर्डनविरूद्धको खेल अगाडि पत्रकार सम्मेलनमा प्रशिक्षक अल–मुताइरीले जोर्डन  प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी रहेको संकेत गरिसकेका छन्। उनले ४ पटक एसिया कपमा सहभागी भइसकेको जोर्डनलाई रोक्न सके बाँकी खेलमा आफ्ना खेलाडीहरू दबाबबाट बाहिर उठेर स्तरीय प्रदर्शन दिने बताएका छन्। ‘ ‘हुन त एसियन कप छनोटमा सहभागी सबै टोली हामीभन्दा माथिल्लो स्तरका छन्। तर, जोर्डनविरूद्ध पहिलो खेल हाम्रो लागि महत्त्वपूर्ण छ। यदि हामीले जोर्डनलाई रोक्न सक्यौं भने कुवेत र इन्डोनेसियासँगको दुई खेलमा हामी दबाबमुक्त भएर खेल्न सक्नेछौं,’ उनले भनेका छन्। 

जोर्डनविरूद्धको खेलमा गोलरक्षक तथा कप्तान किरण लिम्बूसहित नियमित ११ खेलाडी हुने छैनन्। छनोटको तयारीमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई पटक–पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले अल–मुताइरीको ट्रेनिङ छोडेर १३ वैशाखमा ‘विद्रोह’ गरेका थिए। उनीहरूलाई माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका कप्तान किरणले पनि सामाजिक सञ्जालबाट साथ दिएपछि  अल–मुताइरीले १८ वैशाखमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै असन्तुष्ट खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने बताएका थिए।

किरणसहित १० सिनियर खेलाडी टोलीबाहिर रहँदा यसपटक ४ नयाँ अनुहारले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। रक्षक विकास तामाङ र शिव गुरूङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलोपटक राष्ट्रिय टोलीमा अटाएका हुन्। यस्तै, स्ट्राइकर नवयुग श्रेष्ठको भूमिका पनि फेरिएको छ। आज आफ्नो ३२ औं जन्मदिन मनाइरहेका नेपाल आर्मीका स्ट्राइकर नवयुग पहिलो पल्ट कप्तानको भूमिकामा पनि देखिने छन्। प्रशिक्षक अल–मुताइरीले नयाँ खेलाडी भए पनि राम्रो प्रदर्शनका लागि प्रयास गर्ने बताएका छन्। 

‘हामी २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं। हामीसँग ११ जना नयाँ खेलाडी छन्। र, उनीहरूको औसत उमेर २१ वर्ष छ,’ उनी भन्छन्, ‘विश्वकप छनोटमा हामीले यस अगाडि जोर्डनको सामना गरिसकेका छौं र यो बलियो छ। तर, आज रातिको खेलमा हाम्रा खेलाडीले आफूले सक्दो राम्रो खेल्न प्रयास गर्नेछन्।’ 

अल–मुताइरीले यसअघि नै नेपाली टोलीमा युवा र अनुभवविहीन खेलाडी रहेको भन्दै एसिया कपमा छनोट हुने कुनै सम्भावना नरहेको बताइसकेका छन्। उनको लक्ष्य भनेको यही युवा टोलीलाई सक्दो ‘एक्सप्रोजर’ दिएर २०२६ को विश्व कपको लागि तयार पार्नु हो। त्यसैले उनी जोर्डनसँग जितभन्दा पनि बराबर चाहन्छन्। उनका लागि जोर्डनविरूद्धको खेल आफूलाई प्रमाणित गरेर देखाउने मौका पनि हो। 

किरणसहित ११ खेलाडी टोलीबाट बाहिरिदा नेपाल तुलानात्मक रूपमा कमजोर भएको आशंका सबैले गरेका छन्। तर, नेपालले कतारमा खेलेको ३ अभ्यास खेलमा  कुनै शंका गर्नुपर्ने ठाउँ देखिदैन। नेपालले कतारमा भएको इस्ट टिमोरको यू–२३ टोली र श्रीलंकाविरूद्धको खेल बराबरीमा खेलेको थियो। यस्तै, ओमनलाई २–० गोलले नतिजा सुम्पिएको थियो। यसअघि विश्वकप छनोटको तयारीस्वरूप खेलिएको खेलमा किरणसहित ११ सिनियर खेलाडी हुँदा ओमानसँग नेपाल ८–२ गोलले पराजित भएको थियो। 

यसैबीच प्रशिक्षक अल–मुताइरीले पछिल्लोपल्ट नेपाली टोली सन्तुलित रहेको सन्देश दिएका छन्। नेपाली समर्थकहरू पनि खेलाडीहरूबाट यसै प्रकारको नतिजा चाहिरहेका छन्। 

प्रतिक्रिया