आमाको कारण क्रिकेटर बनेका अर्शदीप 

दिल्ली (एजेन्सी)। भारत र दक्षिण अफ्रिकाबीच ९ जुनदेखि टि–२० क्रिकेट शृंखला सुरु हुँदैछ। शृंखलाका लागि पञ्जाबका तीब्र युवा बलर अर्शदीप सिंहको नाम पनि छनोट भएको छ। 

अर्शदीप भारतीय टोलीमा एक मात्र बायाँ हाते तीब्र बलर हुन्। यही नोभेम्बरमा टि–२० विश्व कप पनि हुँदैछ। यस्तो अवस्थामा उनको करिअरलाई लिएर थुप्रै आशा गर्न सकिन्छ। 

अर्शदीप सानैदेखि क्रिकेटको सौखिन थिए। क्रिकेट प्रति उनको लगाव देखेर नै परिवारले उनलाई एकेडेमीमा पठाउने निर्णय गरेको थियो। 

अर्शदीपको बुवा केन्द्रीय औधोगिक सुरक्षा बल (सीआइएसएफ) का जागिरे थिए। उनको हरेक महिना एउटा ठाउँबाट अर्को ठाउँमा ट्रान्सफर भइरहन्थ्यो। यस्तो अवस्थामा अर्शदीपलाई एकेडेमीमा क्रिकेट सिक्न निकै गाह्रो पर्न सक्थ्यो। तर, उनले सबै ट्रेनिङ पञ्जाबमै बसेर पुरा गरे। 

यसका लागि उनी आफ्नो आमालाई सबैभन्दा बढी क्रेडिट दिन्छन्। आमाले साइकलमा राखेर उनलाई अभ्यासमा पुर्याउँथिन्। बिहान उठेर पहिले परिवारका सबै सदस्यका लागि खाना पकाउँथिन्। यसपछि चण्डीगढदेखि १३ किलोमिटर टाढा साइकल पेलेर अर्शदीपलाई अभ्यासमा लैजान्थिन्। ‘मेरो प्राक्टिस पुरा नहुँदासम्म आमा त्यही बस्नुहुन्थ्यो, साँझ नहुँदासम्म। ४ वर्ष उहाँले यसरी नै मेरो लागि समय दिनुभयो,’ अर्शदीप भन्छन्। 

अर्शदीपले हालै सम्पन्न आइपीएलको १४ खेलमा ७ दशमलव ७० को इकोनोमी रेटले १० विकेट लिएका थिए। यसै कारण उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टिममा बोलाइएको हो। 

उनी समय दिन नसके पनि बुवाले आफ्नो हरेक क्रियाकलापमा समर्थन गरेको बताउँछन्। ‘उहाँ सधै मसँग बस्न पाउनु हुन्नथ्यो। तर, जति समय मसँग बस्नुहुन्थ्यो मेरो खेलमा मात्र ध्यान दिनुहुन्थ्यो,’ उनले भने, ‘युथ–१९ मा मेरो खासै प्रदर्शन नभएपछि बुवा मलाई क्यानडा पठाउन चाहनुहुन्थ्यो। तर, मैले उहाँसँग एक वर्ष मागेको थिए। जुन अहिले तपाईहरू सामु छ।’

प्रतिक्रिया