पहिलो अभ्यास खेलमा अल स्टार्ससँग नेपाल ४ विकेटले पराजित

काठमाडौं– नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ। जितका लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

अल स्टार्सको जितमा विपुल शर्माले ५१ बलमा ४ चौका र २ छक्कासहित महत्त्वपूर्ण ५० रनको योगदान दिए। यता, एन्ड्रिज गौसले ३३ बल खेल्दै ९ चौकासहित ४५ रन बनाए। गौरभ बजाज ५८ बलमा २ चौकासहित ४० रनमा अविजित रहे।

छैटौं विकेटका लागि विपुल र गौरभले ८३ रनको निर्णायक साझेदारी गरेका थिए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ५ विकेट लिए। किशोर महतोले १ विकेट लिए।

त्यसअघि अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो। नेपालका आरिफ शेख ७४ बलमा ५ चौकासहित ६० रनमा अविजित रहे।

पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गरेका थिए। विनोदले ५१ बलमा ३ चौकासहित २६ रन बनाए। करण केसीले २१, देव खनालले २०, उपकप्तान रोहित पौडेल र आदिल अन्सारीले १६/१६ रन जोडे।

नेपाली अल स्टार्सका स्पिनर मार्टिन कैनले ६ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर ३ विकेट लिए। मोहम्मद इलायस र आदिल भाटीले २/२ विकेट लिए। विपुल शर्मा र हरम्रित सिंहले १–१ विकेट लिए। 

नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानसँग खेल्नुअघि दुई अभ्यास खेल खेलेको हो। नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ। नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ। खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ।

प्रतिक्रिया