कैदीले अब फुटबलसँगै प्रशिक्षक तथा रेफ्री तालिम पाउने

काठमाडौं। एसियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको समन्वयमा शेल्टर आश्रय नेपालले जेल फुटबल, फुटबल थ्रु रिह्याबिलिटेशन कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार आयोजित पत्रकार सम्मेलनमा शेल्टर आश्रय नेपालले आफ्नो योजना स्पष्ट पार्यो। एन्फा महासचिव इन्द्रमान तुलाधर र शेल्टर आश्रय नेपाल अध्यक्ष खुस्बु ओलीले समझदारीपत्र आदानप्रदान गरे। ओलीले फुटबलको माध्यमबाट कैदीबन्दीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको जानकारी गराइन्। कार्यक्रम केन्द्रीय कारागारमा सञ्चालन गरिने छ।

‘यसले बन्दीहरूको आत्मविश्वास बढाउन मद्दत गर्दछ। उनीहरूको मानसिक स्वास्थ्यमा पनि मद्दत गर्छ,’ ओलीले बताइन्। कार्यक्रमले एक वर्षमा दुई चरणमा ४८ खेलाडी र ३२ जना रेफ्री तथा प्रशिक्षकलाई तालिम दिने लक्ष्य राखेको छ। जुन ५ देखि नोभेम्बर ३० सम्म हुने पहिलो चरणमा २४ जना खेलाडी तथा १६–१६ जना रेफ्री र प्रशिक्षक तयार हुनेछन् ।

दोस्रो चरण डिसेम्बर १ देखि मे २०२३ सम्म सञ्चालन हुनेछ। यसमा प्रशिक्षकहरूले ‘डि’ लाइसेन्स प्राप्त गर्नेछन् र खेलाडीहरूले पाठ्यक्रम पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतिक्रिया