बंगलादेशका टेस्ट कप्तानले दिए राजीनामा

काठमाडौं– श्रीलंकासँग घरेलु सिरिजमा पराजय भोगेपछि बंगलादेशका टेस्ट कप्तान मोमिनुल हकले राजीनामा दिएका छन्। अक्टोबर २०१९ देखि बंगलादेशको टेस्ट टोलीको नेतृत्व गर्दै आएका मोमिनुल ब्याटिङमा संघर्ष गर्दा कप्तानी दबाबमा थिए। 

उनले २०२२ मा खेलेका ६ खेलमा १६.२० को औसतमा १६२ रन बनाएका थिए। मोमिनुलको नेतृत्वमा बंगलादेशले जम्मा ३ टेस्ट जितेको थियो। त्यस्तै, १२ हार र २  टेस्टमा बराबरीको नतिजा निकालेको थियो।

राजीनामा पछि मोमिनुलले भने, ‘मैले रन नबनाउँदा र टिमले जित्न नसक्दा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको जस्तो लाग्यो। कप्तानी गर्न गाह्रो छ। मलाई लाग्छ कि यो पद छाड्ने सबैभन्दा राम्रो समय हो र मैले आफ्नो ब्याटिङमा ध्यान दिनु पर्छ। कप्तानले योगदान गर्नुपर्छ अन्यथा यसले धेरै दबाब दिन्छ।’

बंगलादेशले २०२२ मा न्यूजिल्यान्डमाथि माउन्ट मोङ्गनुईमा ऐतिहासिक जित हासिल गरे पनि दक्षिण अफ्रिका र श्रीलंकासँगका ५ टेस्टमध्ये ४ मा हार ब्यहोरेको थियो। मोमिनुलले गत हप्ता मिरपुरमा श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा पराजयपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का अध्यक्ष नजमुल हसनसँग भेट गरेको बुझिएको छ। जसमा उनले आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न कप्तानबाट राजीनामा दिने इच्छा व्यक्त गरेका थिए। 

मोमिनुलको स्थानमा शकिब अल हसनलाई लिने विचार भइरहेको छ, तर पूर्णकालिक कप्तानको नाम भने बाँकी छ। बीसीबीका अध्यक्ष नजमुल हसनले डेली स्टारसँग भने,‘म मोमिनुलको कप्तानीलाई लिएर चिन्तित छैन। मैले प्रशिक्षकबाट पनि केही सुनेको छैन। उनले रन बनाएका छैनन्, जुन ब्याट्सम्यानका लागि सधैं चिन्ताको विषय हो। उनमा एक मानसिक संकट देखिन्छ। मैले उनलाई ढाका टेस्ट लगत्तै भनेको थिएँ हामी तिमीलाई विश्वास गर्छौं।’

उनले थप भने, ‘मैले यो पनि सुनेको छु कि टेस्ट कप्तानको लागि शकिबको नाम समाचारमा छ। शकिबले यसअघि तीनवटै ढाँचामा कप्तानी गरिसकेका छन्, तर अब मलाई थाहा छ कि उनी त्यसका लागि उपलब्ध छन् कि छैनन्? उसको उपलब्धताको बारेमा अन्तिम मिनेटमा निर्णय लिन सकिँदैन। हामीले उनीसँग पहिले छलफल गर्नुपर्छ। अन्य नामहरू पनि छलफल भइरहेको छ। हामीले सोचेर निर्णय लिनुपर्छ।’

शकिब यसअघि पनि पटकपटक बंगलादेशको टेस्ट कप्तान भइसकेका छन्। सन् २००९ मा पहिलो पटक वेस्ट इन्डिजविरुद्धको खेलमा उनले कप्तानी गरेका थिए। उनले २०१० मा थप ६ खेलहरूमा टोलीको कप्तानी गरे र अगस्त २०११ मा जिम्बाब्वेविरुद्ध टोलीको नेतृत्व गरे। 

त्यसपछि शकिबले डिसेम्बर २०१७ मा मुस्फिकुर रहिमको स्थानमा बंगलादेशको टेस्ट कप्तानको जिम्मेवारी सम्हालेका थिए। शकिब झण्डै दुई वर्ष यो भूमिकामा रहे। २०१९ मा उनलाई सबै प्रकारको क्रिकेटबाट एक वर्ष प्रतिबन्ध लगाइएको थियो।

संयोगवंश, टेस्ट क्रिकेटमा शकिबको भविष्य पछिल्ला महिनाहरूमा चर्चाको विषय बनेको छ। 

प्रतिक्रिया