चिनियाँ महिला टेनिस खेलाडीलाई ‘पिरियड’ को समस्या

पेरिस। पहिलो पल्ट फ्रेञ्च ओपन खेलिरहेकी १९ वर्षीया चिनियाँ महिला खेलाडी झेङ किनवेन चौथो चरणको खेलमा विश्व नम्बर १ खेलाडी इगा स्विटेकसँग पराजित भइन्। उनलाई विश्व नम्बर १ खेलाडीलाई पराजित गर्न नसकेकोमा दुःख लागेको छ। 

खेल सम्पन्न भएपछि उनले भनिन्, ‘सायद म केटा भएको भए पिरियडको समस्या भोग्नुपर्ने थिएन।’ उनले पहिलो सेट जितेकी थिइन। तर, बाँकीको दुई सेट गुमाउन पुगेपछि पराजय भोग्नु पर्यो। 

झेङले पहिलो सेट ७–६ को टाइब्रेकरमा जितेकी थिइन। यसपछि ०–६ र २–६ ले खेल गुमाइन्। झेङले खेल अवधिमा मेडिकल ब्रेक पनि लिएकी थिइन। वास्तवमा उनी यतिबेला महिनावारी समस्याबाट गुज्रिएकी थिइन। उनले भनिन्, ‘चोटको कारण म चिन्तित थिइन। बरु पिरियडको समस्याले दिक्क थिए।’ 

खेलभन्दा अगाडि उनीमा महिनाबारीको समस्या देखिएको थियो। जसले गर्दा पेट दुखिरहेको उनको भनाई थियो। ‘मेरो पिरियडको पहिलो दिन थियो। जहिले पनि मलाई पहिलो दिन धेरै नै समस्या हुन्छ। म प्राकृतिक कुराभन्दा बाहिर जान सक्दिन। यदी म पुरुष भएको भए, यो समस्या आइपर्दैन्थ्यो,’ उनले भनिन्।

चीनकी उद्यमान खेलाडी झेङले दोस्रो चरणको खेलमा सन् २०१८ कि विश्व नम्बर १ तथा च्याम्पियन खेलाडी सिमोन हालेपलाई पराजित गरेकी थिइन।   
 

प्रतिक्रिया