सम्पादकीय

कान्तिपुरका कलिला नेताको प्राथमिकता  

काठमाडौं महानगरपालिकाले नयाँ नेता पाएको छ। नवनिर्वाचित प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल र वडा अध्यक्ष सहित सबैले शपथ लिएपछि महानगरपालिका क्रियाशील हुनथालेको छ। महानगरले पहिलो बैठकबाट आफ्ना केही तत्कालिन प्राथमिकता समेत निर्धारण गरेको छ र तिनलाई समाधान गरिहाल्ने अठोट समेत गरेको छ। महानगरको नयाँ टिमको यो तत्परताले यहाँका मतदातामा उत्साह जगाएको देखिन्छ। पहिलो कदम सकारात्मक देखिएको छ।

शपथ ग्रहण समारोहले निकै चर्चा पाएको छ। नेपाली र नेपाल भाषामा शपथ लिएका थिए प्रमुख र उपप्रमुखले। भाषाको छनोट पनि महानगरवासीलाई प्रशन्न तुल्याउने बिषय बनेको छ। महानगरको पहिलो सभा पारदर्शी बनाउने र त्यसपछिका बैठकहरु समेत प्रत्यक्ष प्रशारण गर्ने निर्णयले कतिपयलाई तनाव भएपनि आमरुपमा स्वागत नै गरिएको पाईन्छ। प्रमुख साहले संघीय संसदको उदाहरण दिएर महानगरले लुकाउनुपर्ने कुनै बिषय नभएको भनेर प्रत्यक्ष प्रशारण गर्ने निर्णयको बचाउ गरेका छन्। राजनीतिक दलका प्रतिनिधि वडाअध्यक्षहरुमध्ये कतिपयलाई प्रत्यक्ष प्रशारण असजिलो लागेको पनि देखियो तैपनि उनीहरु यसको विरुध्द उभिइरहन चाहेनन्। 

त्यसैगरी पहिलो बैठकको निर्णय प्रक्रिया अनौठो देखिएपनि अनुमोदन गर्न महानगरको सिंगो टिम सहमत देखियो। यो महत्वपूर्ण पक्ष हो।

फोहर व्यवस्थापन पहिलो प्राथमिकतामा परेको छ। शहरको फोहरले डम्पिङसाईट क्षेत्रका वासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको प्रत्यक्ष देखेका महानगर प्रमुख साहले त्यसको व्यवस्थापन नगरी बिजय उत्सव नै नमनाउने अठोट बैठकमा सुनाएका थिए। राजधानी शहरले डम्पिङसाईट क्षेत्रका नागरिकको जीवनमा नकारात्मक असर गरिरहेको दशकौं बितिसकेको छ। तर यसको स्थायी समाधान गर्नेतिर भन्दा फोहरमाथि राजनीति गर्ने गलत प्रवृत्तिले जरा गाड्दै गएकाले आज पनि फोहरकै बिषयमा महानगरको तिव्र आलोचना हुने गरेको छ।

फोहरको वैज्ञानिक र उत्पादनमूलक व्यवस्थापनका विकल्पहरु सरकारका जिम्मेवार पदाधिकारीका टेबलमा नपुगेका होइनन्। तर त्यसको सम्भावना पहिल्याएर समाधानतिर बढ्नुभन्दा पनि कमिशनप्रति तिव्र मोह गाँसिदा कैयौं कल्पनाशील योजना दराजमा बन्द भएको जानकारहरु सुनाउँछन्। अब नयाँ टिमले पारदर्शितालाई अभिन्न अंग बनाउने तर्फ कार्यशैली अपनाउने लक्षण देखाएकाले शहरको फोहर व्यवस्थापन नै महानगरको पहिलो प्राथमिकता बनोस् र यसको दीघकालीन समाधान होस् भन्ने महानगरवासीको चाहना हो। यस कार्यमा महानगरवासी र डम्पिङसाईट क्षेत्रका नागरिकको साथ मिल्नेमा कुनै शंका छैन।

महानगरको अर्को चर्चायोग्य पक्ष हो कामको प्राथमिकता निर्धारण। सडक, ढल र पानीको समस्या समाधानमा तत्काल विज्ञ टिमको परिचालन गर्ने तत्परताले पनि अनावश्यक बजेट खर्च हुने परम्पराको अन्त्य त गर्छ नै, कामचोर प्रवृत्तिको पनि दीर्घकालीन उपचार हुनसक्छ।

काठमाडौं शहरमा समस्याहरुको कमी छैन। यसको क्षेत्रफललाई नै चुनौति दिने गरी मानव वस्ती बढिरहेको छ। अव्यवस्थित संरचना निर्माणको होडबाजीले मानव वस्तीमा सुरक्षा चुनौति समेत थप्दै गएको विज्ञहरु नै बताईरहेका छन्। प्राकृतिक विपत्तिमा यस्ता वसोवास क्षेत्रमा के कस्ता समस्या आईपर्छन् भन्ने अनुभव विगतको भूकम्पमा सबैले महसुश गरेकै हुन्।

तैपनि महानगरपालिकाले गलत विवरणका आधारमा घरको नक्शा पास गरिदिने र निर्माण सम्पन्न प्रमाण पत्र उपलव्ध गराउने कार्यलाई निरन्तरता दिई नै रहेको छ। महानगरको प्रशासन र प्राविधिक नेतृत्वले यस्ता गलत कार्यलाई नियन्त्रण गर्नुको साटो अनुचित लाभलाई प्रोत्साहन गरेको देखिन्छ। महानगरको नयाँ नेतृत्वले यस्ता गलत कार्यलाई सुधार नगरेसम्म नयाँ सुधारका कार्य अघि बढाउन सजिलो हुने छैन। पारदर्शी कार्यशैलीले यस्ता गलत कार्य सुधार गर्न अवश्य मद्दत मिल्ने छ।

महानगरका चुनौति एक होइन अनेक छन् तर समाधान गर्न नसकिने कुनै पनि छैनन्। नयाँ नेतृत्व टिमले महानगरका तमाम चुनौति पन्छाउन सक्छ र नयाँ थिति बसाउन पनि सक्छ। यसमा शंका छैन। टिम वर्क नै यसको उपयुक्त आधार र उर्जा हुने छ। महानगरवासीले स्थायी जस्ता लाग्ने समस्या सरल ढंगले समाधानतिर बढेको व्यवहारमा  महसुश गर्न पाए भने नयाँ टिमले अपेक्षा गरेभन्दा धेरै साथ पाउने सम्भावना छँदैछ। तत्कालका लागि शौचालयको विकल्प जसरी प्रस्ताव गरिएको छ यो नै एउटा सुखद् संकेत मान्न सकिन्छ। यसैगरी अरु समस्याको पनि तत्कालिन विकल्प खोजी हुने आशा यसले जगाएको छ।

स्वतन्त्र रुपमा महानगरवासीको उल्लेख्य मत पाएर जिम्मेवारीमा आएको कलिलो नेतृत्वले आशा जगाउँदै विश्वासको जग बसाउँदै काम गर्यो भने महानगरको मुहार बदल्न नसकिने होइन। नयाँ नेतृत्व टिमले सुरुआती कदम सही मार्गमा टेकेको छ, अबका दिनमा यो यात्रा सरल मार्ग हुँदै अघि बढोस्, शुभकामना।  


 

प्रतिक्रिया