भारतलाई विश्वकप जिताउन चाहन्छु : हार्दिक

काठमाडौं– पाँच इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनल र पाँच उपाधि। आफ्नो गृहराज्य गुजरातका लागि कप्तानको रूपमा पहिलो आईपीएल र फाइनलमा जितसँगै ‘प्लेयर अफ द म्याच’ प्रदर्शन। 

तर, हार्दिक पाण्ड्याको उपाधि जित्ने भोक अझै मेटिएको छैन। उनी भारतलाई विश्वकप जिताउन चाहन्छन्। उनले भने, ‘विश्वकप जित्नको लागि म आफ्नो सबैकुरा दिन सक्छु। भारतका लागि खेल्नु सधैं सपना हो। मलाई दीर्घकालीन, छोटो अवधिको लक्ष्य थाहा छैन, तर म विश्वकप जित्न चाहन्छु भारतका लागि।’

हार्दिक सम्मेलित भारतीय टोली २०१६ को टी२० विश्वकपको सेमिफाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो। अर्को वर्ष च्याम्पियन्स ट्रफीको फाइनलमा भारत पाकिस्तानसँग पराजित भयो।

२०१९ विश्वकपको सेमिफाइनलमा हार्दिक सम्मेलित भारतीय टोली न्यूजिल्याण्डसँग पराजित भएको थियो।

हार्दिकले मुम्बई इन्डियन्सबाट ४ पटक आईपीएलको उपाधि जितेका छन्, तर यसपटक उनी नयाँ टोली गुजरात टाइटन्सको कप्तान बने र पहिलो सिजनमै ऐतिहासिक उपाधि जिताउन सफल भए।

‘पक्कै पनि यो जित विशेष हो। किनभने म पनि यही टोलीको कप्तान थिएँ। तर, यसअघि जितेका ४ उपाधि पनि विशेष थिए। आईपीएल जित्नु सधैं विशेष हुन्छ। प्रतियोगिता जित्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु,’ उनले भने, ‘५ फाइनल खेलेको छु र ५ पटक उपाधि जितेको छु।’

उपाधि जितेपछि हार्दिकले टोलीका प्रशिक्षक आशिष नेहराको पनि प्रशंसा गरेका थिए। ‘मानिसहरूले टी२० ब्याट्सम्यानको खेल हो भन्छन्, तर म भन्छु कि बलरहरूले खेल जिताउँछन्। त्यसैले म र आशु पा (आशिष नेहरा) यस टोलीको गठनको सुरुदेखि नै बलियो र अनुभवी बलिङ लाइनअप चाहन्थेँ।’

प्रतिक्रिया