उपाधिविहीन राहुल

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजन केएल राहुलका लागि धमाकेदार रह्यो। उनले लगातार पाँचौं सिजनमा ५०० बढी रन बनाएका छन्। राहुलले बुधबार (मे २५) लखनऊ सुपर जायन्ट्सका लागि एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ५८ बलमा ७९ रन बनाएका थिए। र, ५०० रन पार गरे।

उनको स्ट्राइक रेट १३६.२१ थियो। उनले रन बनाए, तर फेरि एकपटक राहुलको स्ट्राइक रेटका कारण आलोचना भइरहेको छ।

आईपीएलमा राहुलले यस सिजन ५०० भन्दा बढी रन बनाएको यो पहिलोपटक भने होइन, तर टोली च्याम्पियन बन्न सकेन। उनले पञ्जाब किंग्सका लागि ४ र लखनऊका लागि एक सिजन ५०० भन्दा बढी रन बनाएका छन्। 

पछिल्लो ४ आईपीएलमा राहुलको स्ट्राइक रेट:

सिजन रन औसत स्ट्राइक रेट
२०२२ ६१६ ५१.३३ १३५.४८
२०२१ ६२६ ६२.६० १३८.८०
२०२० ६७० ५५.८३ १२९.३४
२०१९ ५८३ ५३.९० १३९.३८

तर, पञ्जाबको टोली एकपटक पनि प्लेअफमा पुग्न सकेन। लखनऊले यस सिजन एलिमिनेटर खेल खेल्ने मौका पायो, तर निर्णायक खेलमा टोली अभागी साबित भयो। राहुलको लामो इनिङ्स बावजुद लखनऊले हार बेहोर्नुपरेको थियो।

राहुलको पछिल्लो चार सिजन हेर्दा हरेक पटक उनले ५०० भन्दा बढी रन बनाएका छन्, तर उनको स्ट्राइक रेट १४० भन्दा माथि पुगेको छैन। लामो इनिङ्स खेल्छन्, तर उनी छिटो रन बनाउन सक्दैनन् र आक्रामक ब्याटिङ गर्दा आउट हुन्छन्। त्यतिन्जेल उनको टोली कठिन परिस्थितिमा पुग्छ र हारको सामना गर्नुपर्ने हुन्छ।

पूर्वक्रिकेटर सञ्जय मांजरेकरले राहुलको आलोचना गरेका छन्। उनले ईएसपीएन क्रिकइन्फोलाई भने, ‘उनको ब्याटिङमा एउटा फर्म्याट छ। उनी अन्तिमसम्म क्रिजमा रहन चाहन्छन्। यसले अन्य ब्याट्सम्यानमाथि दबाब बढाउँछ। अन्त्यमा धेरै समय नपाउँदा अन्य ब्याट्सम्यान जोखिमपूर्ण शट खेलेर आउट भएका थिए। पञ्जाब किंग्समा पनि त्यस्तै हुन्थ्यो। त्यसपछि निकोलस पूरन जस्ता फिनिसरले धेरै समय पाएनन्।’

बैंग्लोरका पूर्वकप्तान ड्यानियल भेटोरीले पनि राहुलको ब्याटिङको बारेमा आफ्नो धारणा राखेका छन्। राहुलले कुनै जोखिम नलिइ छिटो रन बनाउनुपर्ने उनको भनाइ छ। ‘तपाईं उत्कृष्ट ब्याट्सम्यान हुनाले शीर्ष अर्डरमा अझ आक्रामक रूपमा ब्याटिङ गर्नुपर्छ। राहुलले आफ्ना अन्य सहकर्मीमाथि बढी विश्वास गर्नु आवश्यक छ। उसले क्रिजमा ब्याटिङको मजा लिनुपर्छ। उनीहरूसँग क्विन्टन डी कक, दीपक हुडा, मार्कस स्टोइनिस, इभिन लुइस र जेसन होल्डर जस्तै क्षमता छ।’

प्रतिक्रिया