राजस्थान आईपीएलको फाइनलमा

काठमाडौं– ओपनर जस बटलरको सानदार शतकसँगै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुगेको छ। रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो। यसअघि राजस्थान सन् २००८ मा फाइनलमा पुगेको थियो।

जितको लागि १५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। राजस्थानको जितमा बटलरले सर्वाधिक १०६ रनको योगदान दिए। उनले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे। बटलरको जारी सिजनमा चौथो शतक हो।

बटलरले २०१६ मा बेंगलोरका विराट कोहलीले प्रहार गरेको एकै सिजनमा सर्वाधिक ४ शतकको कीर्तिमान बराबर गरेका छन्।

राजस्थानलाई ओपनर यशस्वी जायसवाल र बटलरले ५.१ ओभरमा ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाए। जैसवाल १३ बल खेलेर १ चौका र २ छक्कासहित २१ रनमा आउट भए।

कप्तान सञ्जु स्यामसन २१ बलमा १ चौका र २ छक्कासहित २३ रनमा स्टम्पिङ आउट भए। बैंग्लोरका जोश हेजलवुडले २ र वानिन्दु हसरंगाले १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। बैंग्लोरका रजत पाटिदारले सर्वाधिक ५८ रन बनाए। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

कप्तान फाप डु प्लेसिसले २५ दोस्रो विकेटका लागि पाटिदार र फाफ डु प्लेसिसले ७० रनको साझेदारी गर्दै बेंगलोरलाई अघि बढाएका थिए। ग्लेन म्याक्सवेल १३ बलमा १ चौका र २ छक्कासहित २३ रनमा क्याच आउट भए। साहबाज अहमेद १२ रनमा अविजित रहे।

राजस्थानका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। ओबेद म्याकोयरले २ विकेट लिए। यता, ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनको नाममा १/१ विकेट रह्यो।

राजस्थानले फाइनलमा गुजरात टाइटन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगिसकेको छ।

प्रतिक्रिया