कतारमा नेपालले इस्ट टिमोर र ओमानसँग मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं। एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कतारमा दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ।

एसियन कप छनोटका लागि अहिले कतारमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, भारत, इस्ट टिमोर, ओमान र न्युजिल्यान्डको प्रशिक्षण क्याम्प भइरहेको छ। कतार फुटबल फेडेरेसनले त्यहाँ रहेका एसियाका ७ टोलीबीच ५ मैत्रीपूर्ण खेल खेलाउने तय गरेको हो। जसअनुसार नेपालले ओमान र टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो।

नेपालले टिमोरसँग २८ मेमा पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ। यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे ग्रान्ड हामद स्टेडियममा हुनेछ। यस्तै, ३ जुनमा ओमानसँग नेपालले दोस्रो खेल खेल्ने छ। उक्त खेल सुहिम बिन हामद स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजे नै हुनेछ।

यसअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपुर्ण खेल खेल्ने तय थियो। तर, अफगानिस्तान भिषा प्रक्रियाका कारण कतार क्याम्पमा सहभागी नहुने भएपछि उक्त खेल रद्ध गरिएको थियो। घरेलु मैदानमा झन्डै ४५ दिनको प्रशिक्षणपछि नेपाली टोली थप तयारीका लागि बुधबार कतार प्रस्थान गर्दैछ। टोलीलाई अखिल नेपाल फुटबल संघले मंगलबारै बिदाइ गरिसकेको छ।

football sedual

नेपालले यही जुन दोस्रो साता कुवेतमा एएफसी एसिया कप २०२३ को तेस्रो चरणका खेल खेल्दैछ। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार नै एएफसी एसिया कप  छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन्।

प्रशिक्षक अल्मुताइरीले नियमित निवर्तमान कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित विद्रोह गरेका १० खेलाडीबिनै २३ सदस्यीय टोली घोषणा गरेका हुन्। एएफसी एसियन कप छनोटको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई प्रशिक्षक अल्मुताइरीले पटक–पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले वैशाख १३ गते ‘विद्रोह’ गरेका थिए। 

उनीहरुलाई माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरणले पनि सामाजिक सञ्जालबाट साथ दिएका थिए। प्रशिक्षक अल्मुताइरीले वैशाख १८ गते एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै असन्तुष्ट खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने बताएका थिए।

किरणसहित १० सिनियर खेलाडी टिमबाहिर रहँदा यसपटक चार नयाँ अनुहारले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

यस्तै, कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन्। एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन्। 

नेपालले पहिलो खेल जुन ८ मा जोर्डनविरुद्ध खेल्ने छ। यस्तै, नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ।

नेपाली टिमः

गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ

प्रतिक्रिया