न्यूजिल्याण्डका पूर्वकप्तान भेट्टोरी अस्ट्रेलियाको पुरुष टिमको सहायक प्रशिक्षकमा नियुक्त

काठमाडौं– न्यूजिल्याण्डका पूर्वकप्तान ड्यानियल भेट्टोरी अस्ट्रेलियाको पुरुष टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन्। आन्द्रे बोरोभिचसँगै भेट्टोरीलाई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरिएको हो।

दुवै जना श्रीलंकाविरुद्ध जुनको अन्त्यबाट सुरु हुने टेस्ट सिरिजकाका लागि सहायक प्रशिक्षकको रुपमा टोलीमा सहभागी हुनेछन्। बोरोभिचले गत वर्षदेखि अस्ट्रेलियाको टोलीसँग काम गर्दै आएका छन् भने उनी अस्ट्रेलिया ‘ए’ टोलीको कोचिङ स्टाफमा पनि हुन्।

पाकिस्तानविरुद्धको सीमित ओभरको सिरिजमा अस्ट्रेलियाली टोलीसँग काम गरेका भेट्टोरीले यस सिजन द हन्ड्रेडमा बर्मिङ्घम फिनिक्सको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्। गत सिजन यस टोलीलाई फाइनलमा पुर्‍याउन भेट्टोरीको महत्त्वपूर्ण योगदान थियो।

अस्ट्रेलियाको पुरुष टिमका प्रमुख एन्ड्रयु म्याकडोनाल्ड र भेट्टोरी दुवैसँग सँगै खेलेको र कोचिङ प्रदान गरेको अनुभव छ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरको लागि उनीहरुले सँगै खेलेका थिए। यसका अलावा उनीहरु टोलीको कोचिङ स्टाफको हिस्सा पनि थिए, जहाँ म्याकडोनाल्डले भेट्टोरीका सहायकको रूपमा काम गरेका थिए।

भेट्टोरीको कोचिङ करियर निकै अनुभवी रह्यो। उनले बंगलादेश टोलीसँग स्पिन बलिङ सल्लाहकारको रूपमा काम गरेका छन्। आफ्नो नयाँ भूमिकामा भेट्टोरीले अस्ट्रेलियाली बलरहरूको तयारी, योजना र उनीहरूको कार्यभारको निरीक्षण गर्न म्याकडोनाल्डलाई सघाउने छन्। यससँगै उनले अस्ट्रेलियाका घरेलु क्रिकेट प्रशिक्षकसँग पनि नियमित सम्पर्क राख्नुपर्नेछ।

द हन्ड्रेड ४ अगस्टदेखि ३ सेप्टेम्बरसम्म हुने भएकाले अस्ट्रेलिया र जिम्बाब्वेबीचको सेतो बल सिरिजका लागि भेट्टोरी अनुपलब्ध हुन सक्छन्। यद्यपि, उनी भारतमा हुने तीनवटा टी२० सिरिजका लागि उपलब्ध हुनेछन्।

भिट्टोरीको क्रिकेट कोचिङमा पर्याप्त अनुभव छ भने आन्द्रेसँग कुनै व्यावसायिक क्रिकेट पृष्ठभूमि छैन। तर, आन्द्रेले भिक्टोरिया र मेलबर्न रेनेगेड्सका मुख्य प्रशिक्षक हुँदा म्याकडोनाल्डसँग काम गरिसकेका छन्। 

प्रतिक्रिया