आईपीएल : गुजरात फाइनलमा

काठमाडौं– अन्तिम ओभरमा डेविड मिलरले लगातार तीन छक्का प्रहार गरेसँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनलमा पुगेको छ। 

मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै रन बनायो। गुजरातको जितमा डेविड मिलर अविजित रहँदै ६८ रन बनाए। 

उनले ३८ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। यता, कप्तान हार्दिक पान्ड्या २७ बलमा ५ चौकासहित ४० रनमा अविजित रहे। चौथो विकेटका लागि हार्दिक र मिलरले १ सय ६ रनको अविजित शतकीय साझेदारी गर्दै जित दिलाए। 

शुभमन गिल २१ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा रन आउट भए। म्याथ्यु वेड ३० बलमा ६ चौकासहित ३५ रनमा आउट भए। राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले १/१ विकेट लिए।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो। राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ८९ रन बनाए। उनले  ५६ बलमा १२ चौका र २ छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि बटलर र सन्जु स्यासमनले ६८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। स्यामसन २६ बलमा ५ चौका र ३ छक्कासहित ४७ रनमा आउट भए। देवदत्त पाडिक्कलले २० बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए। गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पान्ड्या र साई किशोरले १/१ विकेट लिए।

राजस्थानले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच बुधबार हुनेछ। 

प्रतिक्रिया