ईपीएललाई मान्यता नदिए क्यानको सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने चेतावनी

काठमाडाैं। एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि–२० क्रिकेटको ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने सम्पूर्ण खेलकुद कार्यक्रम बहिस्कार गर्ने चेतवानी दिएका छन्। 

क्यानले गत बुधबार पत्रकार सम्मेलन गर्दै आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि–२० लिगको घोषणा गरेको थियो। उक्त पत्रकार सम्मेलनमा क्यानले ईपीएल आधिकारिक नभएको भन्दै अब मान्यता नदिने जनाएको थियो।

ईपीएलको फ्रेन्चाइज टोलीले सोमबार पत्रकार सम्मेलन गर्दै क्यानले नयाँ प्रतियोगितालाई मान्यता दिएर आफूहरुको भविष्य अन्धकार बनाएको भन्दै खेलकुद कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिएको हो।

‘देशको खेल विकासमा ईपीएल र फ्रेन्चाइज टिमले निर्णायक भूमिका खेलेको छ। तर, क्यानले आफ्नो पछिल्लो निर्णयलाई समर्थन र कार्यान्वयन गर्छ भने हामी समर्थन गर्दैनौं। अबदेखि क्यानले आयोजना गर्ने सबै खेलकुद कार्यक्रमहरूलाई पूर्णरूपमा बहिस्कार गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।

ईपीएलले पाँचौं संस्करणको मिति घोषणा गरिसकेको थियो। प्रतियोगिता आगामी कात्तिक २६ देखि मंसिर १० गतेसम्म हुने जनाएको छ।
 

प्रतिक्रिया