मैले गरेका बाचा पूरा गर्न कुनै कसर बाँकी राखिनँ: अध्यक्ष शेर्पा 

काठमाडाैं। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूले गरेका बाचाहरु चार वर्षमा पूरा गर्न कुनै कसुर बाँकी नराखेको बताएका छन्। 

आसन्न निर्वाचनका लागि सोमबार उम्मेदवारी घोषणा गर्दै उनले आफूले अघिल्लो कार्यकालका लागि निर्वाचनमा उम्मेदवारी घोषणा गर्दा गरेका बाचाहरु चार वर्षमा पूरा गर्न कुनै कसुर बाँकी नराखेको दाबी गरेका हुन्।

‘पछिल्लो चार वर्षे कार्यकालमा हामीले धेरै विकासको पक्षमा काम गर्‍यौं। तर,  बाधा हाल्नेहरु धेरै जन्मिए। हामी संघमा आउँदा नीतिगत रुपमा कुनै स्पष्टता थिएन। तर, हामीले फुटबल संघलाई बलियो बनाउने, संस्थागत, सामूहित र विकेन्द्रिकरण गर्ने लगायतका काम गर्यौं,’ उनले भने, ‘यसपटक गरेका बाचाहरु पनि पूरा गर्छौं। म हारे भने चाहीँ फुटबलमा लाग्दिनँ। कसैको विरोध गर्दिनँ।’

आफू निर्वाचित भएपछि सम्पूर्ण कार्यहरु अनलाइन प्रणालीमा ढालेको भन्दै उनले आर्थिक अनियमिता नभएको समेत दाबी गरे। 

‘आर्थिक नियमावली थिएन, हामीले बनायौं। संघीय संरचनाका आधारमा विधान संसोधन गर्यौं,’ उनले भने, ‘खेलाडी दर्ता नियमावली बनायौं। हकहितका लागि काम गर्‍यौं। आर्थिक अनियमिता नहोस् भनेर सबै कारोबार अनलाइन प्रणालीमा सिफ्ट गरायौं। त्यसैले पूर्वअध्यक्ष हुँदा बेलाको जस्तो कुनै बजेट फ्रिज भएको छैन। कुनै अनियमितता भएको छैन।’

पूर्वअध्यक्ष गणेश थापालाई संकेत गर्दै उनले एन्फाका रकम घरायसी खर्चमा प्रयोग गर्न नहुने समेत बताए।

‘मैले घरको टेलिभिजन पनि एन्फाको पैसाबाट किनेको छैन। फुटबललाई घर चलाउने माध्यम बनाउनु हुन्न भन्ने मेरो भनाइ हो,’ उनले भने,‘मैले घरको माली र भान्छे फुटबलको पैसा खर्च गरेर राखेको छैन।’

उनले आफ्नो कार्यकालमा क्लब लाइसेन्सिङ लागू गर्नेदेखि कार्यालय सञ्चालनसम्मको संरचनामा सुधार गरेको पनि दाबी गरे। 

‘कर्मचारीको वर्गीकरण थिएन। एन्फाको केन्द्रिय संरचनामा ८ विभाग बनायौं। कर्माचारी सेवासुविधा र पद छुट्टाउने काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले चार क्लबको लाइसेन्स छ। फिफा र एएफसीबाट दवाव भएपछि क्लबलाई प्रशिक्षण गरेर एएफसी क्लब लाइसेन्स र एन्फा लाइसेन्स सिस्टम बनायौं।’

प्रतिक्रिया