नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नहुने

काठमाडौं- नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नहुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतमा हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि तयारीस्वरुप कतारमा नेपाल र अफगानिस्तानबीच दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलाउने तय गरेको थियो।

११ र १५ जेठमा हुने तय भएको उक्त मैत्रीपूर्ण खेल स्थगित भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। ‘दुवै देशको ट्रेनिङ क्याम्प कतारमै थियो। त्यसैकारण दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको थियो। तर,  ट्राभलिङ ईस्यूका कारण अफगानिस्तानको टोली कतारको ट्रेनिङ क्याम्पमा सहभागी नहुने भएपछि खेल स्थगित गरिएको हो,’ उनले भने।

नेपालले थप तयारी भने कतारमा गएर गर्ने तुलाधरले जानकारी दिए। ‘अफगानिस्तानसँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि थप तयारी कतारमै गर्छौं। एसिया कप छनोट खेल्न कुवेत गएको केही दिनपछि नै नेपाली टोली कतार प्रस्थान गर्ने छ। त्यसका लागि टिकट मिलाउने काम भइरहेको छ,’ उनले भने।

नेपालले यही जुन दोस्रो साता कुवेतमा एएफसी एसिया कप २०२३ को तेस्रो चरणका खेल खेल्दैछ। त्यसैको तयारीमा रहेको नेपाली टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा विदेशी खेलाडी सम्मिलित एभेनियर एफसी दाउलासँग ५ अभ्यास खेल खेलिसकेको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार नै एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन्।

प्रशिक्षक अल्मुताइरीले नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित विद्रोह गरेका १० खेलाडीबिनै २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

एएफसी एसियन कप छनोटको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई प्रशिक्षक अल्मुताइरीले पटक–पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले वैशाख १३ गते ‘विद्रोह’ गरेका थिए। 

उनीहरुलाई माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरणले पनि सामाजिक सञ्जालबाट साथ दिएका थिए। प्रशिक्षक अल्मुताइरीले वैशाख १८ गते एन्फाका महासचिव तुलाधरलाई एक पत्र लेख्दै असन्तुष्ट खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने बताएका थिए।

किरणसहित १० सिनियर खेलाडी टिमबाहिर रहँदा यसपटक चार नयाँ अनुहारले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन्। नेपालले पहिलो खेल जुन ८ मा जोर्डनविरुद्ध खेल्ने छ। यस्तै, नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ।

नेपाली टिमः
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ

प्रतिक्रिया