सन बने प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका टोटेनहमका ह्युङ मिन सन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन्।

उनीहरूले यस सिजन समान २३ गोल गरेका थिए। प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिने प्रावधान रहेको छ।

सनले टोटेनहमलाई चौंथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्‍याएका थिए।

सनले ३५ खेल खेल्दै २३ गोल गरेका हुन्। उनले कुनै गोल पेनाल्टीमा गरेनन्। उनले १ फ्रिकिक गोलसहित ७ असिस्ट प्रदान गरेका थिए।

सन प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी हुन्।

यता, दोस्रो स्थानमा रहेर लिग टुंग्याएको लिभरपुलका लागि सलाहले अन्तिम दिन १ गोल गर्दै २३ गोल पुर्‍याए।

उनले २३ गोल गर्ने क्रममा भने ५ पेनाल्टी प्रहार गरेका थिए।

सलाहले सर्वाधिक गोलकर्तासँगै सर्वाधिक असिस्टको पनि उपाधि जिते। उनले यस सिजन १३ असिस्ट प्रदान गरेका थिए।

प्रतिक्रिया