आईपीएल : अन्तिम खेलमा पञ्जाव ५ विकेटले विजयी

काठमाडौं– पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अन्तिम लिग खेलमा जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा पञ्जावले सनराईजर्स हैदरावादलाई ५ विकेटले हराएको हो।

हैदरावादले दिएको १ सय ५८ रनको लक्ष्य पञ्जावले १५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। पञ्जावका लागि लियाम लिभिङस्टोनले अविजित रहँदै सर्वाधिक ४९ रन जोडे। उनले २२ बलमा २ चौका र ५ छक्का प्रहार गरे।

यता, शिखर धवनले ३२ बलमा २ चौका र २ छक्कासहित ३९ रन जोडे। जोनी बेयर्स्टोले २३ रन बनाए। हैदरावादका फाजल्हक फारुकीले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। हैदरावादका अविशेक शर्माले सर्वाधिक ४३ रन जोडे। उनले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

रोमारियो सेफडले अविजित १५ बलमा २ चौक्का र २ छक्कासहित २६ रन बनाए। यता, वासिङ्गटन सुन्दरले २५ रन जोडे। पञ्जावका नाथन एलिस र हरप्रित ब्रारले ३/३ विकेट लिए।

जितसँगै छैटौं स्थानमा रहेको पञ्जावले १४ खेलमा १४ अंक जोड्यो। हैदरावाद १२ अंक जोडेर आठौं स्थानमा रह्यो।

प्रतिक्रिया