‘विद्रोही’ साम्पाङ यसरी बने धरानको मेयर

स्थानीय निकायको चुनाव घोषणा हुनुअघि उनी धरानका विभिन्न चोकहरूमा एक्लै उभिएर स्थानीयवासीलाई ‘विद्रोह’को विकुल फुक्न सिकाइरहेका हुन्थे। उनको त्यो हर्कत देखेर ठूला राजनीतिक दलका स्थानीय नेताहरू गिज्याउने गर्थे– ‘केटोले फेरि ४ सय मत कटाउने भयो।’ 

२०७६ सालमा भएको उपनिर्वाचनमा पहिलो पल्ट धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा उनले ४ सय २२ मत मात्र प्राप्त गरेका थिए। त्यसैले यो तीन वर्षमा उनलाई ठूला राजनीतिक दलका नेताहरूले खिज्याउने काम मात्र गरे।  

केही वर्षअघि सर्दु खोला उत्खनन्मा भएको भ्रष्टाचारको आवाज उठाउँदा उनी प्रहरीबाट उल्टै प्रत्याडित बने। उनलाई खानेपानीको पाइप तोडफोड गरेको आरोपमा प्रहरीले हिरासतमा लियो। 

उनी धरानको गल्लीहरूमा राज्य आतंकविरूद्ध एक्लै चिच्याउने गर्थे। उनको समर्थनमा एकाध युवाहरू बाहेक अरू देखिदैन्थे। तर, उनले धराने मानसिकतामा फुकेको ‘विद्रोह’ को विगुल यसपालिको स्थानीय निर्वाचनमा मतपेटिकामार्फत छताछुल्ल भएको छ। 

तीन वर्षअघि पुलिस प्रशासन र ठूला राजनीतिक दलका लागि टाउको दुःखाई बनेका तिनै अभियन्ता अहिले धरान उपमहानगरपालिकाको मेयर बन्न सफल भएका छन्। 

हर्क राज राई ‘साम्पाङ’ स्वतन्त्र उम्मेदवार भएर पनि सान्दार मतसहित धरानको मेयर निर्वाचित हुन सफल एक ‘विद्रोही’ उम्मेदवार। जसले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलका उम्मेदवारहरूलाई पछि पार्दै चुनाव जित्न सफल भए। 

उनले हालै सम्पन्न मतगणनामा नेपाली कांग्रेसका किशोर राई ‘झापाली’ लाई ४ हजार ७ सय ६२ मतले पराजित गरे। किशोरले १६ हजार ५९ मत प्राप्त गर्दा हर्कले २० हजार ८ सय २१ मत प्राप्त गरे। उनको जितसँगै अहिले देशभित्र मात्र होइन, विदेशमा बसोबास गर्ने नेपाली माझ पनि तरंग पैदा भएको छ। 

आखिर को हुन्, हर्क राज राई ‘साम्पाङ’? काठमाडौंमा लौरो छापमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन शाहले चर्चा कमाइरहँदा उनले लौरा छापबाटै स्वतन्त्र उम्मेदवारी दिएर धरानमा विजय प्राप्त गरेका छन्। 

खासमा हर्कको जन्मथलो खोटाङको खार्तम्छा हो। ४० वर्षका हर्क २०५५ सालमा खोटाङको शुक्रबारे माध्यमिक विद्यालयबाट एसएलसी दिएर उच्च शिक्षा अध्ययनका लागि धरान झरेका थिए। महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका उनलाई २४ वर्षको अन्तरालमा धरानले आफ्नो नेताको रूपमा स्विकारेको छ।  

हर्कका पिता बेलायती सेनामा कार्यरत थिए। उनले केही वर्ष धरानमा ट्युसन सेन्टर खोलेर अंग्रेजी र कम्प्युटरको अध्यापन पनि गराए। खासै उन्नती प्रगति नभएपछि उनी इराक र अफगानिस्तानमा रोजगारीका लागि हिँडेका थिए। उनले वैदेशिक रोजगारीमा पनि ६ वर्ष बिताए। 

साहित्यमा उनको ठूलो रुचि छ। एक दशकअघि उनले ‘मिसिङ हर्ट’ म्युजिक एल्बम नै सार्वजनिक गरेका थिए। राजनीतितर्फको उनको यात्रा २०७२ सालको एउटा काण्डले ढकेलेको थियो। धरानलाई छोएर निर्माण हुन लागेको मदन भण्डारी राजमार्गका लागि सरकारले धनकुटे रोड किनारमा बसोबास गर्ने सयौं परिवारलाई विस्तापित गरायो। यसको विरोधमा हर्क सडकमा उत्रिए। उनको सक्रिय सहभागिता देखेर संघर्ष समितिको सह–सयोजक नै नियुक्त गरियो। 

त्यसयता उनले धरानमा रहेको हरेक सामाजिक सरोकारको मुद्धाहरूमा आवाज उठाउँदै आएका छन्। उनले धरानको सबैभन्दा समस्याको रूपमा रहेको खानेपानीको मुद्धा सशक्त रूपमा उठाएका छन्। विपी स्वास्थ्य प्रतिष्ठानमा हुने भ्रष्टाचार, सुकुम्बासी संरक्षण र व्यवस्थापन, सडकको अवस्था, महंगी नियन्त्रणलगायत आधा दर्जन मुद्धाहरूमा उनी धराने नागरिकहरूलाई सचेत र नेताहरूलाई दबाब दिँदै आइरहेका थिए। 

बाम विचारधाराबाट प्रभावित हर्कले स्थानीय मुद्धा मात्र होइन, सीमा अतिक्रमण र एमसीसीविरूद्ध पनि एक्लै प्रदर्शन गरेका थिए। छिमेकी भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा आफ्नो देशमा गाभेपछि उनी यसको विरोध गर्न इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासम्म पुगेका थिए। उनले नेपाली सेनालाई ब्यारेकमा होइन, सिमामा खटाउ भन्दै प्रदर्शन गरेका थिए। 

सर्दु खोला जथाभावी उत्खनन् भएको विरोध गर्दा ठेकेदारहरूको समूहले उनी तथा उनका समर्थकलाई भौतिक आक्रमण गरेको थियो। पछि प्रहरीले उल्टै उनीविरूद्ध मुद्धा चलाएको थियो। आफूले गर्ने कामलाई फेसबुकमार्फत लाइभ गर्ने गरेका हर्कको गतिविधिप्रति पछिल्लो समय धरानवासीहरूले सडकमा नउत्रिएपनि चासो राख्न थालेका थिए। अझ, विदेशमा बसोबास गर्ने धरानवासीहरूले आफ्नो घरमा फोन गरेर हर्कलाई समर्थन गर्न आग्रह गरेका थिए।

धरानको समस्यालाई लिएर एक्लै भएपनि आन्दोलन गर्ने हर्कले अब उपमहानगरपालिकाको जिम्मेवारी पाएका छन्। अब उनको अगाडि चुनौतिको चाङ हुनेछ। 
 

प्रतिक्रिया