अन्तिम खेलमा भ्रमणकारी युगान्डाविरूद्ध नेपालको सानदार जित

काठमाडौं। भ्रमणकारी युगान्डाविरूद्धको पाँचौ तथा अन्तिम टि–२० क्रिकेट शृंखलामा घरेलु टोली नेपालले सानदार जित हात पारेको छ। शनिबार सम्पन्न खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको हो। यो जितसँगै ५ टि–२० शृंखलामा युगान्डा ३–२ ले विजयी भएको छ। नेपालले २ जित र ३ हारसहित सिरिजको अन्त्य गरेको छ। 

जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्र बनायो। युगान्डाकी रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन्। उनले ३८ बलमा रन बनाएकी हुन्।

केभिन एविनोले २२ बलमा १ चौकासहित १५ रन बनाइन्। सकिरा सडिक १७ बलमा १ छक्कासहित १३ रनमा अविजित रहिन्। जेनेत म्बावाजीले १० रन जोड्दा युगान्डाका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि इन्दु बर्मा र सीता रानामगरले २–२ विकेट लिए। अस्मिना कर्माचार्य र हिरान्माये रोयले १–१ विकेट बाँडे। 

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो। 

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन्। उनले ४१ बलमा ३ चौका प्रहार गरिन्। कविता जोशी १५ बलमा २ चौका र १ छक्कासहित १८ रनमा अविजित रहिन्। सिताराना मगर १७ रनमा आउट हुँदा अप्सरी बेगमले ११ रन जोडिन्। 

नेपालकी कप्तान रुविना क्षेत्री र डोली भट्ट दुवै शून्य रनमा पोविलियन फर्किए। इन्दु बर्माले ८ रन जोडिन्।

युगान्डाकी कोन्सी एविको र फिओना कुलुमेले १–१ विकेट बाँडे। युगान्डाले लगातार ३ खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो। 

नेपालले युगान्डाविरूद्धको पहिलो खेलमा १२ रनले गुमाएको थियो भने दोस्रो खेलमा एक विकेटको पराजय ब्यहोरेको थियो। तेस्रो खेलमा नेपालले ६ विकेटको हार ब्यहोरेको थियो भने चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो।
 

प्रतिक्रिया