विवाद छानबिन समितिले भन्यो– खेलाडीले पत्रकार सम्मेलन गर्नु अनुशासनहीन कार्य, एसियन कप छनोट नखेलाउनू

काठमाडौं– मुख्य प्रशिक्षक र राष्ट्रिय टोलीका खेलाडीबीचको विवाद छानबिन गर्न गठित समितिले १० खेलाडीलाई एसिया कप छनोट प्रयोगितामा सहभागी हुन बञ्चित गर्न सिफारिस गरेको छ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरी र १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित ३ सदस्यीय समितिले बुधबार एन्फालाई बुझाएको प्रतिवेदनको राय सुझाव सार्वजनिक भएको छ।

सेनाका पूर्वउपरथीसमेत रहेको पूर्वराष्ट्रिय खेलाडी भिक्टर राणा संयोजकत्वको समितिमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा थिए। संयोजक राणाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुधबार प्रतिवेदन बुझाएका हुन्। 

समितिले १० दिन लगाएर २८ पृष्ठ लामो प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा एन्फाबाट समस्या समाधान गर्ने प्रयास र समझदारीको विकल्प हुँदाहुँदै खेलाडीहरुले पत्रकार सम्मेलन गर्नुले समस्याले उग्ररुप लिएको भन्दै राष्ट्रिय खेलाडीले अनुशासनहिन र गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिएको उल्लेख छ।

‘राष्ट्रिय खेलाडीले यस्तो अनुशासनहीन र गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिएको हुँदा उनीहरुले यस्तो गल्ती नदोहोऱ्याउने प्रतिबद्धता जनाएमा ती १० खेलाडीहरुलाई एसिया कप छनोट प्रयोगितामा मात्र सहभागी हुन वञ्चित गर्नुका साथै यस्ता किसिमको कृयाकलाप भविष्यमा दोहोर्‍याएमा राष्ट्रिय फुटबल टिममा छनोट हुन अयोग्य हुनेबारे सचेत गराउन सिफारिस गरिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन्। उनले नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित विद्रोह गरेका १० खेलाडीबिनै २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

एएफसी एसियन कप छनोटको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई प्रशिक्षक अल्मुताइरीले पटक–पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले वैशाख १३ गते ‘विद्रोह’ गरेका थिए। 

उनीहरुलाई माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरणले पनि सामाजिक सञ्जालबाट साथ दिएका थिए। प्रशिक्षक अल्मुताइरीले वैशाख १८ गते एन्फाका महासचिव तुलाधरलाई एक पत्र लेख्दै असन्तुष्ट खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने बताएका थिए।

किरणसहित १० सिनियर खेलाडी टिमबाहिर रहँदा यसपटक चार नयाँ अनुहारले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन्। नेपालले पहिलो खेल जुन ८ मा जोर्डनविरुद्ध खेल्ने छ। यस्तै, नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ।

यस्तै, समितिले खेलाडीहरुलाई एन्फा सचिवालय र राज्यले पुर्‍याउन सक्ने उचित सेवा सुविधा प्रदान गर्दै आएकोमा यस्ता विषयमा पुनः विवाद नउठाउन सचेत गराउन सिफारिस गरेको छ।

‘हालको बन्द प्रशिक्षण लगायत विगतका राष्ट्रिय लिग तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुले अमर्यादित र अनुशासनहिन कार्य गरेका उदाहरणहरु विद्यमान छन् । भविष्यमा त्यस्ता गतिविधि नहुन अनुशासन सम्बन्धी शून्य सहनशीलता नीति लागु गर्न सिफारिस गरिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया